२०७५ फागुन १ गते १८:३२ विकासन्युज
काठमाडौँ । गोल्छा संगठन र हेस्टर बायोसाइन्सेस लिमिटेड इण्डियाको संयुक्त लगानी रहेको हेस्टर बायोसाइन्सेस् नेपाल प्रालिले काभ्रेको नाला उग्रचण्डीमा नयाँ संयन्त्रको उद्घाटन भएको छ ।
सो नयाँ संयन्त्रको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच उद्घाटन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नालामा रहेको हेस्टर बायोसाइन्सेसले किसानहरुलाई पशुपालमा मद्दत पुग्नुका साथै यसले अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको बताए । उनले भने–यसले घरेलु आम्दानीमा सहयोग पुर्याउँदै आम्दानीको श्रोत बढाएर शहरीकरणमा टेवा पुर्याउने छ । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो प्रकारका उद्यमले दिगो आर्थिक विकासमा मद्दत गर्ने बताए ।
हेस्टर बायोसाइन्सेस् नेपालका सीइओ राजीव गान्धीले भने पशुहरुमा देखा परेका विभिन्न रोगहरुले खतरा निम्त्याइरहेको छ, जसलाई तत्कालै समाधान गर्न जरुरी छ । हामीसँग पशुहरुका रोग निको पार्न आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने उन्नत प्रविधि रहेको छ ।
कार्यक्रममा गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादनमा बृद्धि भइरहँदा सरकारले पशुहरुमा हेल्थ केयर कम्पनीलाई प्रबद्र्धन गर्न उच्च प्राथमिकता दिनु पर्ने बताए ।
हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्छ । यस कम्पनीले २० भ्याक्सिनका लागि लाइसेन्स प्राप्त गरिसकेको छ । कम्पनीले २ करोड डोज भ्याक्सिन निर्यात गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.