२०७५ फागुन १८ गते १३:५७ विकासन्युज
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीलाई लगानीमा पहिलो प्राथमिकता दिइने भएको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा स्थानीयवासीलाई नै लगानीको अवसर दिइने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए । जलविद्युत् आयोजनाको पावरहाउस र कर्मचारी आवासगृहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गरिन् ।
कूल पाँच अर्ब १४ करोड लागतमा निर्माण हुन लागेको जलविद्युत् आयोजनामा संस्थागत पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने अध्यक्ष कुँवरले बताए ।
आयोजनामा सानीमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एकवर्ष अगाडि नै सम्झौता भइसकेको छ ।
आयोजनामा दक्षिण कोरिया, हङकङ, युकेलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँमा बसोवास गर्ने म्याग्दीका बासिन्दा, म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्वद्धक रहेका छन् ।
विद्यत् खरीद सम्झौता (पिपिए)मा नेपाल विद्युत् प्राधिकरणले प्रर्वद्धकसँग वर्षात्का आठ महिनाप्रति युनिट चार रुपैयाँ ८० पैसा र सुख्खायामका चार महिनाप्रति युनिट आठ रुपैयाँ ४० पैसामा खरिद गर्ने उल्लेख गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभि ट्रान्समिटर लाइन हुँदै डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रियप्रशारण लाइनमा जोडिने छ । योजना आगामी २०७९ सालसम्म निर्माण सम्पन्न गरिने अध्यक्ष कुँवरले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.