२०७५ चैत ४ गते १६:३३ विकासन्युज
काठमाडौँ । रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ ।
आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो बत्ती जडान गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
“सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ”, उनले भने, “माग अनुसार बत्ती जडान गर्ने हो भने १० देखि १५ करोड खर्च हुने अनुमान छ ।”
रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । आगामी वैशाखदेखि शुरु गरी यसै आर्थिक वर्षभरीमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने पनि कामपाले जनाएको छ ।
सिसीटिभी जडान
महानगरीय प्रहरी परिसर काठमाडौँले महानगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । त्यसका लागि कामपाले परिसरलाई तीन करोड रकम उपलब्ध गराएको छ ।
महानगरपालिकाभित्र शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण र प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउनका लागि सो सहयोग गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.