२०७५ चैत २७ गते १५:१६ विकासन्युज
काठमाडौं । अब कक्षा १ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीको पनि बीमा गर्न सकिने भएको छ । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले स्कूल तहमा अध्ययन गर्ने विद्यार्थीको लागि आईजीआई बीमा लेख जारी गरेको छ । देशभर स्कूल तहमा करिव ७३ लाख विद्यार्थी रहेकोले उनीहरुलाई लक्षित गरी कम्पनीले नयाँ बीमा लेख बनाएको कम्पनीले जनाएको छ ।
यस योजनामा निधन भएको अवस्थामा विद्यार्थीलाई १ लाख र अभिभावकको ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा भुक्तानी हुनेछ । स्थायी अंगभंग भएको विद्यार्थीले ३ लाख र अभिभावकले ५ लाख पाउने छन् ।
अंगभंग भएको अवस्थामा विद्यार्थीलाई १ लाख र अभिभावकलाई २ लाख ५० हजार भुक्तानी हुनेछ । अस्थायी रुपमा अशक्त भएको दुई महिनासम्म मासिक बढीमा १० हजारको दरले शैक्षिक शुल्क भुक्तानी हुनेछ ।
‘हरेक दिन विद्यार्थीहरु दुर्घट्नामा परेको समाचार आउँछ । कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी ७३ लाख भन्दा बढी छन् । उनीहरुको हित गर्ने उदेश्यले नयाँ बीमा पोलिसी ल्याएको हौ’ बुधबार नयाँ पोलिसी सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भने ।
यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावकलाई राहात पुग्नुको साथै स्कूल तहमा बीमाबारे जनचेतना विस्तार गर्न सहयोग पुग्ने उनको विश्वास छ । यस पोलिसी खरिद गर्ने विद्यार्थी विरामी भई उपचार गर्नु परेमा ५० हजार रुपैयाँसम्म र दुर्घटनामा परेको अवस्थामा २५ हजार रुपैयाँसम्म औषधि उपचार खर्च पनि दिने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.