ट्यांकरको लकिङ प्रणाली अलपत्र, प्राविधिक कारणले रोकियोः निगम प्रवक्ता

  २०७६ वैशाख ४ गते ७:५२     विकासन्युज

काठमाडौं । ट्यांकरबाट इन्धन चोरी नियन्त्रण गर्न सुरु गरिएको लकिङ प्रविधि जडान प्रक्रिया अलपत्र परेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) को रिफाइनरी केन्द्रबाट नेपाल आयल निगमको डिपोसम्म आउने ट्यांकरमा लकिङ प्रविधि जडान भए पनि डिपोबाट विक्रेता (पेट्रोल पम्प) सम्म पुग्ने ट्यांकरमा दोस्रो र तेस्रो चरणको लकिङ प्रविधि जडान कार्यलाई अलपत्र पारिएको हो ।

ट्यांकर चालकले विभिन्न प्राविधिक विषयमा रहेका स–साना छिद्रलाई मौकामा परिणत गरी नाजायक रूपमा ट्यांकरबाट आफूखुसी गर्दै आएको चोरी नियन्त्रण गर्न यो प्रविधि जडान गर्ने योजना अघि सारिएको थियो। निगमले पहिलो चरणको योजना सम्पन्न गरे पनि दोस्रो र तेस्रो चरणको योजना कार्यान्वयनमा ढिलाइ गरेको हो । निगमले दोस्रो र तेस्रो चरणमा देशभरका दुई हजार पाँच सय विक्रेतासम्म पुग्ने ट्यांकरमा यही आर्थिक वर्षभित्र ताल्चा र ट्र्याकिङ जडान गर्ने योजना बनाएको थियो ।

चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि निगमले दोस्रो र तेस्रो चरणको योजना कार्यान्वयनमा ल्याउन चासो दिएको छैन। दोस्रो चरणमा यसअघि लकिङ प्रविधि जडान भएका ट्यांकरमै पुनः दोस्रो थरीको ताल्चा जडान गर्ने योजना थियो । दोस्रो प्रकारको ताल्चा जडान गरी दुई हजार पाँच सय विक्रेतालाई डिजेल, पेट्रोल र मट्टितेलको गरी छुट्टा छुट्टै तीन प्रकारका साँचो उपलब्ध गराउने योजना थियो ।

निगमका अनुसार विक्रेताले आवश्यकताको आधारमा डिजेल, पेट्रोल र मट्टितेलका लागि उपलब्ध गराइने साँचो प्रयोग गरी च्याम्बरबाट इन्धन अनलोड गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै तीनै प्रकारको साँचो निगमको डिपोसँग पनि एक प्रति रहने व्यवस्था गरिएको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले केही प्राविधिक कारणले दोस्रो र तेस्रो चरणको लकिङ प्रणाली जडान कार्य प्रभावित भए पनि सुरु गर्न लागिएको जानकारी दिए। गोइतले भने, ‘जडान कार्य केही समयका लागि रोकिए पनि सुरु गर्न लागेका छौं । यसै आर्थिक वर्षमा दोस्रो र तेस्रो चरणको योजना सम्पन्न हुन्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.