२०७६ वैशाख १६ गते ८:५१ विकासन्युज
काठमाडौं । गुराँस लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुल्ने भएको छ । उक्त लघुवित्तको २ लाख ५० हजार कित्ता साधारण शेयरमध्ये ३८७५ कित्ता कर्मचारी र १२५०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी हुन आउने २ लाख ३३ हजार ६२५ कित्ता शेयरको निष्काशन खुला हुनेछ ।
विद्यमान धितोपत्र निष्काशन नियमावलीअनुसार न्यूनतम १० कित्ताका दरले सम्भव भएसम्म सबै आवेदकलाई शेयर बाँडफाँड गर्नुपर्ने भएकोले सो शेयर २३ हजार ३६२ जनाले मात्रै प्राप्त गर्नेछन् । आवेदक संख्या सोभन्दा कम भएको अवस्थामा मात्र आवेदकले सो भन्दा बढी शेयर पाउँछन् । तर हाल आवेदकको ट्रेन्ड हेर्दा सोभन्दा बढी संख्यामा आवेदन पर्ने देखिएकोले सो शेयर सो संख्याका भाग्यमानी आवेदकले मात्रै पाउने सम्भावना छ । त्यसैले आवेदकले १० कित्ता शेयरका लागि मात्रै आवेदन दिन उपयुक्त हुन्छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मको लागि आवेदन दिन सकिने जनाइएको छ । उक्त लघुवित्तको आवेदन छिटोमा बैशाख २० र ढिलोमा जेठ १४ गते बन्द हुने जनाइएको छ ।
गुराँसले आईपीओ निष्कासनका लागि चैत २६ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । उसले आफ्नो आईपीओको निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनआईबीएल क्यापिटललाई नियुक्त गरेको छ । यद्यपि आवेदकले भने सीआश्वा सेवा सञ्चालन गर्ने आफ्नो डिम्याट खातासँग लिङ्क भएको बैंकको जुनसुकै शाखाबाट उक्त आईपीओका लागि आवेदन दिन सक्नेछन् ।
धनकुटा जिल्लामा मुख्य कार्यालय रहेको उक्त लघुवित्तको प्रदेश १ का विभिन्न जिल्लामा गरी २३ शाखा सञ्चालनमा छन् । हाल ५ करोड २५ लाख चुक्ता पुँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासनसँगै पुँजी ७ करोड ७५ लाख पुग्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.