२०७६ वैशाख १६ गते १९:५५ विकासन्युज
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गरेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ ।
एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उनले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गरेका हुन् ।
इस्लामिक स्टेट (आईएस)का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।
राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गरेका थिए । उनले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गरेका छन् ।
अघिल्लो आइतबार चर्च र होटलहरुमा भएका विस्फोटनमा परी कम्तीमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका छन् ।
प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि बरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ ।
उनले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहनु भएका ६९ बर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिनुभएको बताइएको छ । रासस/एएफपी
Copyright © 2025 Bikash Media Pvt. Ltd.