२०७६ वैशाख १८ गते ८:२८ विकासन्युज
काठमाडौँ । बीमा समितिले निर्माण गरेको बिमांकी रोस्टरमा १७ बिमांकीले निवेदन दिएका छन् । बीमा कम्पनीहरूले वित्तीय विवरणका लागि बिमांकीय मूल्यांकन गर्न बिमांकीको आवश्यकता पर्छ ।
त्यसैगरी, कम्पनीहरूले नयाँ बीमा योजना बनाउँदा पनि बिमांकीकै आवश्यता पर्छ । तर, हालसम्म नेपालमा एउटा पनि बिमांकी नभएका कारण बिमा कम्पनीहरू विदेशी बिमांकीकै भर पर्दै आएका छन् । नयाँ बिमा कम्पनीलाई अनुभवी बिमांकी पाउन कठिन हुन थालेपछि बिमा समितिले बिमांकी रोस्टर निर्माण गरेको हो ।
नेपाली बीमा कम्पनीसँग काम गर्न विभिन्न मुलुकका १७ बिमांकीले आवेदन दिएका छन् । भारत, अमेरिका र बेलायतका बिमांकी सोसाइटीबाट बिमांकीको लाइसेन्स लिएकाले बिमांकी आवेदन दिएका छन् । यसरी आवेदन दिएकामध्ये एकजना नेपाल महिला बिमांकी पनि छिन् । आवेदन दिनेमध्येमा अधिकांश भारतीय छन् ।
बिमांकी रोस्टरमा आवेदन दिएकामध्ये १४ जना बिमांकीले जीवन बिमा कम्पनीको बिमांकीय मूल्यांकनका लागि आवेदन दिएका छन् । त्यस्तै, १४ जना बिमांकीले निर्जीवन बिमा कम्पनीको बिमांकी मूल्यांकनका लागि आवेदन दिएका छन् । ९ जना बिमांकीले भने जीवन र निर्जीवन दुवै बिमा कम्पनीको बिमांकी मूल्यांकन गर्न आवेदन दिएको बिमा समितिका निर्देशक कमल रेग्मीले जानकारी दिए ।
बिमांकी भनेको के हो ?
नेपालको बीमा ऐन २०४९ को दफा २ अनुसार ‘बिमांकी’ भन्नाले बिमा व्यवसायमा भएको दायित्व निर्धारण तथा गणना गर्न बिमा कम्पनीद्वारा नियुक्त गरिएको व्यक्ति हो । उनीहरूले कम्पनीका विगत र वर्तमानको तथ्यांक विश्लेषण गरी भावी योजना बनाउन सहयोग गर्छन् । ‘बिमांकी’ कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभई चार्टर्ड एकाउन्टेन्टजस्तै पेसागत उपाधि हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.