२०७६ वैशाख १८ गते ९:४० विकासन्युज
जीतपुर । कपिलवस्तुका १७ वर्षीय प्रदीप पौडेलले कम्पनीमा काम गर्दा गुमाएको हातका कारण यति बेला जीवनयापनकै निम्ति छट्पटाइरहेका छन् ।
वाणगङ्गा नगरपालिका – ४ जीतपुरका पौडेलले गत फागुन १ गते करेण्ट लागेर हात गुमाए । दश महिनादेखि नगरपालिकाको बैरियामा रहेको होण्डा सोरुममा काम सिक्दै आएका पौडेलले काम गर्ने क्रममा करेण्ट लागेपछि अवस्था यस्तो भएको हो । भाँच्चिएको दाहिने हात र टाउकामा समेत गहिरो चोट बोकेर हिँडिरहेका पौडेलले आँखाभरि आँशु निकाल्दै त्यो दिन आफ्ना लागि कालो दिन भएको बताए ।
आफ्नो भविष्य सम्झिँदै पौडेलले भने, “अब अरु आशा छैन, सबैले सहयोग गरिदिनुभयो भने कृत्रिम हात राखेर भए पनिधेरै मेहनत गरेर पढ्ने छु” । कुराकानीकै क्रममा उनले थपे– “ मेरो एउटा हात नभएर के भो, अर्को हात त केही भएको छैन नि, हात गुमे पनि मेरो आत्मविश्वास र सपना गुमेको छैन ।”
यता, पौडेलकी आमा रीताले १७ वर्षको कलिलो उमेरमै दायाँ हात गुमाएका छोराको भविष्य के होला भन्दै उपचारमा रु आठ लाख बढी खर्च भइसके पनि कम्पनीले उपचारको दायित्व ग्रहण नसकेको गुनासो पोखिन् । “आठ लाखभन्दा बढी खर्च गरियो, अझै कति लाग्ने हो थाहा छैन, चार लाख त पटक पटक मागेपछि बल्ल दिएँ, अब खर्च जुटाउने माध्यम छैन”, रीताले भनिन् ।
त्यस्तै पौडेलका बुबा पदमले लामो सास तान्दै आफ्नो जेठा छोरा प्रदीप बाँच्ने आश मरिसकेको थियो भने । “ज्यानको माया मारेर काम गर्यो तर मालिकले खासै वास्ता नगर्दा दुःख लागेको छ”, उनले भने “करीब डेढ महिना काठमाडौँ अस्पतालमा आइसियुमा राख्यौँ, अस्पतालमा टाउको, घाँटीलगायतका सात वटा अप्रेशन भयो ।”
हातै काटेर फालेका छोराको कुरुवा बस्नुभएका पदमले सोरुमबाट खासै वास्ता नगरेको भनी गुनासो गरे । जीवनको आरोहअवरोह पार गरेर सन्तानको भविष्य हेरेर बसेका आफूहरु छोराले हात गुमाएपछि आफ्ना सबै इच्छा हराएको भन्दै उहाँले दुखेसो पोखे । आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिका सानै उमेरबाट विभिन्न कठिन श्रम गर्नसमेत बाध्य हुन्छन् जसका कारण उनीहरुले सानै उमेरमा शारीरिक अपाङ्गता मात्र नभई ज्यानसमेत गुमाउनुपरेको छ । बालश्रमका विरुद्धमा थुप्रै अभियान र नियम कानून बने पनि यी सबै नियम व्यवहारमा लागु भने पूर्ण रुपमा हुन सकेका छैनन् । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.