एक धनाढ्य जसले तिरिदिए ४ सय विद्यार्थीको ४ करोड डलर ऋण

  २०७६ जेठ ७ गते १२:१०     विकासन्युज

अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन् । उनले ती सबै विद्यार्थीले पढाइका निम्ति लिएका ऋण तिरिदिने घोषणा गरेका छन् ।

को हुन् यी अमेरिकी परोपकारी ?
आइतवार बिहान विशेष गरी अश्वेत विद्यार्थी पढ्ने मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले २०१९ ब्याचको कक्षाका विद्यार्थीहरूलाई चकित पारिदिए । उनले ती विद्यार्थीको सबै ऋण ( करिब ४ करोड डलर) तिरिदिने वाचा गरे ।

केही वर्ष अघिसम्म अन्जान यी धनाढ्यका निम्ति यो घोषणा सार्वजनिक मञ्चमा उदाउने एउटा दुर्लभ घटना भयो । ५६ वर्षीय स्मिथ निजी लगानी कम्पनी भिस्टा इक्वीटी पार्टनर्सका संस्थापक हुन् । उनी अमिकाका एक चर्चित अश्वेत परोपकारी पनि हुन् । सफ्टवेअर कम्पनीहरूमा केन्द्रीत भिस्टाको कुल अनुमानित मूल्य ४६ अर्ब डलर पुगिसकेको छ ।

उनको व्यक्तिगत सम्पत्ति ५ अर्ब डलरको छ । यसको अर्थ हुन्छ उनी अमेरिकाकै सबभन्दा धनी अश्वेत हुन् । धनको मामिलामा उनी ओप्रा विन्फ्रेभन्दा पनि अगाडि छन् । उनी डेन्भर कोलोर्‍याडोस्थित अफ्रिकी अमेरिकीहरूको बाक्लो बसोबास रहेको बस्तीमा हुर्किएका हुन् । उनका बुबाआमा स्कूलका प्रधानाध्यापक थिए ।

माध्यमिक स्कूलमा हुँदै खेरि स्मिथले बेल ल्याब्स नामक विज्ञान अनुसन्धान कम्पनीमा काम गर्न निवेदन दिएका थिए । तर कम उमेरको भन्दै उनको निवेदन स्वीकार भएन। तर उनले निरन्तर रूपमा पाँच महिनासम्म हरेक हप्ता कम्पनीलाई सम्पर्क गरिरहे। अन्तमा उनलाई स्वीकार गरियो ।

पछि स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इञ्जिनियरिङ पढे। उनले कोलम्बिया विश्वविद्यालयबाट एमबीए पनि गरे । त्यसपछि उनले स्यान फ्रान्सिस्कोमा गोल्डम्यान स्याक्समा काम गरे जहाँ उनले एपल र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीसँग काम गर्ने मौका पाए । सन् २००० मा उनले गोल्डम्यान स्याक्स त्यागे र आफ्नै भिस्टा कम्पनी खोले ।

लगानी उद्योगका यी विशिष्ट क्षेत्रमा आफूले कसरी जातीयतासँग जुध्न परेको भनेर उनले सन् २०१४ मा न्यूयोर्क टाइम्स पत्रिकालाई बताएका थिए । कतिपय अवस्थामा जातकै कारण आफूले अन्य सहकर्मीभन्दा दोब्बर काम गर्न मनोवैज्ञानिक दबाब अनुभूति गर्ने गरेको उनले बताएका थिए । त्यसैले गर्दा उनको कम्पनी भिस्टाले विविधता र उत्कृष्टतालाई जोड दिने गरेको छ । निजी जीवन गोप्य नै राख्न रुचाउने स्मिथ अस्टिन टेक्ससमा आफ्नी पत्नी तथा पूर्व प्लेबोय मोडल होप डोराजिकसाथ बस्छन् ।

परोपकारको सिलसिला
आइतवारको छक्क पार्ने उपहारभन्दा पहिले पनि स्मिथले मोरहाउसलाई सहयोग गरेका थिए। त्यहाँ उनले छात्रवृत्ति एवं संस्था विकासका निम्ति १५ लाख डलर दिएका थिए ।

सन् २०१७ मा बील तथा मेलिन्डा गेट्स अनि वारेन बफेटले स्थापना गरेको गिभिङ प्लेज नामक परोपकारी प्रतिबद्धता अभियानमा आफ्नो अधिकांश धन दिने वाचा गर्ने उनी पहिलो अश्वेत अमेरिकी थिए ।

आफ्नो परोपकार बारे लेख्दै उनले भनेका छन्–मेरा बुबाआमा, हजुरबुबा हजुरआमा, तथा अफ्रिकी अमेरिकीहरूको पुस्तौँ पुस्ता जसको नाम मैले कहिले थाहा पाउने छैन, उनीहरूकै कारण मेरो बाटो कोरिएको म कहिल्यै बिर्सने छैन। उनीहरूको संघर्ष, साहस र प्रगतिकै कारण मैले आँट्न र हासिल गर्न सकेँ।

‘मेरो कथा केवल अमेरिकामा मात्र सम्भव हुन सक्थ्यो। त्यसैले हामीले यो विरासत अघि बढाउन आफ्नो तर्फबाट काम गर्नुपर्छ । ’ मोरहाउसलाई गरेको सहयोग उच्च शिक्षाका निम्ति स्मिथको पहिलो चन्दा थिएन ।

अश्वेत तथा महिला इञ्जिनियरिङ विद्यार्थीलाई सघाउ पुग्ने कार्यक्रम सुरु गर्न सन् २०१६ मा उनले आफूले पहिले पढेको कोर्नेल विश्वविद्यालयलाई पाँच करोड डलर दिएका थिए । -बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.