२०७६ जेठ २१ गते १९:११ विकासन्युज
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो ।
कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीदेवी, चुच्चेपाटी फ्युल सेन्टर चाबहिल, भद्रकाली आयल स्टोर गोठाटार, न्यू बङ्गलामुखी आयल स्टोर्स सानोभर्याङ र माः पलाञ्चोक धन्द्रे भीमसेन बेकरी उद्योग काभ्रेपलाञ्चोकविरुद्ध मुद्दा चलाएको हो । कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले नापतौलको मापदण्ड विपरीत सञ्चालन भएकाले कारवाहीका लागि मुद्दा दायर गरेको जानकारी दिए ।
“कार्यालयले अनुगमनका क्रममा मापदण्ड विपरीत पेट्रोल पम्प तथा उद्योग सञ्चालन गरेकाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हौँ”, उनले भने, “मैतीदेवी र चुच्चेपाटी आयल स्टोर्सले नापतौल कार्यालयले लगाएको सिल तोडेर नक्कली सिल लगाएको, भद्रकाली आयल स्टोर्सले मापदण्डभन्दा घटी परिणाममा पेट्रोल तथा डिजेल बिक्री वितरण गरेकाले मुद्दा चलाइएको हो ।
यस्तै बङ्गलामुखी आयल स्टोर्सले पेट्रोल पम्पलाई जाली बनाएको र बेकरी उद्योगले नाप्ने तथा तौलने यन्त्र दर्ता नगर्नाका साथै उत्पादित वस्तुमा परिणाम उल्लेख नगरेकाले कारवाहीका लागि मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
मुद्दा दर्ता भएका पेट्रोल पम्प तथा उद्योग दोषी ठहरिएमा मैतीदेवी, चुच्चेपाटी र बङ्गलामुखी पेट्रोल पम्पले रु ३० हजार जरिवाना र तीन वर्ष कैदका साथै भद्रकाली आयल स्टोर्स र बेकरी उद्योगले रु दश हजार जरिवाना र एक वर्ष कैद सजाय भोग्नुपर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.