२०७६ असार ३ गते १२:१९ विकासन्युज
काठमाडाैं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सिनाममा वर्षापछि झरेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध बनेपछि यात्रुलाई समस्या भएको छ । सिनाम र आम्बेगुदिन जोड्ने नेबुखोला नजिकै शनिबार माथिबाट झरेको पहिरोले सडक बगाएपछि यात्रुलाई ओहोरदोहोरमा समस्या भएको हो ।
पहिरोले झण्डै २० मिटर सडक बगाएको स्थानीय भीम थेबेले जानकारी दिएका छन्। सडक बगाएपछि झापाबाट आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँमा जाने सवारीसाधन सिनामसम्म मात्रै पुग्ने गरेकाे छ भने यहाँबाट बाहिरिने सवारीसाधन समेत सिनामबाटै चल्ने गरेका छन् । आम्बेगुदिनको हप्पुखोला, सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सवारीसाधन जान नसकेपछि यात्रुलाई गाडी भेट्न घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ ।
यसरी, तेल्लोकबाट सिनाम आइपुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ भने हप्पुखोलाबाट डेढ घण्टा लाग्छ । साविकका याम्फुदिन, मामाङ्खे, खेवाङ गाविसबाट गाडी चढ्न आउने यात्रुलाई भने झनै समस्या भएको छ । सधैँ घरबाट हिँडेकै दिन गाडी चढ्न पाउने गरे पनि अहिले सिनामसम्म आउनुपर्दा गाडी भेट्न मुस्किल हुने र एक दिन सिनाममा नै बास बसेर भोलिपल्ट मात्रै गाडी छुट्ने गरेको स्थानीयवासीले बताएका छन् ।
तीनदेखि बाटो अवरुद्ध बने पनि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भने कसैबाट नभएको स्थानीयवासीले बताएका छन् । यता गत वर्षसमेत सोही ठाउँमै झरेको पहिरो पन्छाउन झण्डै रु पाँच लाख बढी खर्च गरेको सिरिजङ्घा गाउँपालिकाले अहिले झरेको पहिरो पन्छाउने तयारी गरेको छ । दिनहुँजसो ठूलो वर्षा भइरहेकाले र अझै पनि पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन नसकिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताएका छन् ।
सो क्षेत्रमा तीनदेखि निरन्तरजसो वर्षा भइरहेको छ । उनका अनुसार वर्षा कम भएपछि प्रयास गरिने छ । तर ठूलो पहिरो झरेकाले तत्काल बाटो खुल्ने सम्भावना कम भएको गुरुङको भनाइ छ । भौगोलिक हिसाबले यहाँको सडक दिगोसमेत नभएको उनले बताए । वर्षेनी पहिरो झरिरहने समस्या भएपछि अन्तैबाट बाटो घुमाउनुपर्ने देखिएको गुरुङले बताएका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.