२०७६ असार ८ गते ११:५० डोमी शेर्पा
काठमाडौं। हुवावेले आफ्ना स्मार्टफोनहरुमा गुगल, फेसबुक लगायतका एपहरु नचले शतप्रतिशत क्यासब्याक दिने भएको छ । गुगलले आफ्ना एपहरु हुवावेको स्मार्टफोनमा नचल्ने घोषणा गरेपछि खस्किएको हुवावेका स्मार्टफोनहरुको बजारलाई माथि उकास्न हुवावेले यस्तो रणनीति लिएको हो ।
नेपालका लागि हुवावे मोबाइलको आधिकारिक विक्रेता कल मोबिलिटी प्रा.लि. ले आफ्ना डिलरलाई पत्र लेख्दै त्यसरी एपहरु नचलेको अवस्थामा खरिद मूल्यको शतप्रतिशत रकम फिर्ता हुने विश्वास ग्राहकहरुलाई दिन आग्रह गरेको छ । यसबारे कल मोबिलिटी सर्भिसले केही दिनभित्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमा त्यस्तो जानकारी दिने तयारी गरेको समेत बताइएको छ ।
याे व्यवस्था हुवावेका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । हुवावेले हाल नेपालमा वाई सिरिज, नोभा सिरिज, ट्याव सिरिज, पी–सिरिज र मेटसिरिज गरि ५ ओटा सिरिजका ३० भन्दा बढी मोडलका स्मार्टफोनहरु विक्री गर्दै आएको छ । नेपाली बजारमा हुवावेकाे बारेमा भएका भ्रमहरुलाई मेटाउन आफुहरुले यो अफर ल्याएको कम्पनीका मार्केटिङ म्यानेजर रोशन न्यौपानेले दाबी गरे । ‘फेसबुक र गुगलका एप्स चल्दैन भन्नु सबै भ्रम हुन्, यि सबै एपहरू १०० प्रतिशत चल्छन्’, उनले भने ।
हुवावेले आफ्ना स्मार्टफोनहरुमा राखिएका विभिन्न फिचरहरुमार्फत् आफ्ना ग्राहकहरुको गोप्य सूचना संकलन गरी चीन सरकारलाई दिने गरेको र यसले अमेरिका लगायत अन्ग देशको सुरक्षामा प्रतिकुल असर परेको भन्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकामा प्राविधिक संकटकालको घोषणा गरेका थिए । त्यसको २ दिनपछि हुवावेलाई अमेरिकामा बन्देज गरिएको थियो भने अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यापारिक सम्बन्ध नराख्न समेत ट्रम्प प्रशासनले निर्देशन दिएको थियो ।
त्यसलगत्तै गुगलले आफ्ना एपहरुमध्ये केही एपहरु हुवावेको मोवाइलमा अपडेट नहुने व्यवस्था गर्ने जनाएको भए पनि हाल त्यो निर्णय अन्तरिम कालका लागि फिर्ता गरिएको छ तर यो निर्णयले हुवावेको बजारमा भने ठूलो हलचल ल्याइदिएको थियो । उक्त निर्णय पछि नेपाली बजारमा पनि हुवावेको बिक्रीवितरणमा ठुलो प्रभाव देखिएको थियो।
यसै बजार हल्लालाई चिर्दै आफ्नो व्यापारको गतिलाई पुनस्र्थापित गर्ने प्रयासस्वरुप यो रणनीति अपनाइएको हो । हुवावेले अन्य देशहरुमा पनि यस्तै व्यवस्था गर्दै फेरि ग्राहकहरुमा छाउने प्रयत्न गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.