काठमाडौं महानगर र चीनको नानचिङ शहरबीच भगेनी सम्बन्ध, ‘धेरै पर्यटक नेपाल भ्रमणमा आउने आशा’

  २०७६ असार १३ गते १२:१५     विकासन्युज


काठमाडौं । चीनको नानचिङ सहर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । नानचिङको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा दुई नगरका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम भएको घोषणा गरेका हुन् ।

सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र नानचिङ नगर कंग्रेसका स्थायी समिति अध्यक्ष लोङ स्याङले हस्ताक्षर गरेका छन् । समारोहमा बोल्दै उपमेयर खड्गीले नानचिङ र काठमाडौंका जनताबीचको सम्बन्ध सुमधुर बनाउँदै दुई सहरबीच कला, संस्कृति, पर्यटन, शिक्षा तथा प्रविधिको आदान–प्रदानमा सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष लोङ स्याङले नानचिङ सहर घुम्न नेपालीलाई निमन्त्रणा गरे । नेपाली पर्यटकलाई नानचिङमा स्वागत गर्न आफू आतुर रहेको बताउँदै अध्यक्ष स्याङले भने, ‘नानचिङ नगरको जनसरकार र ८४ लाख नानचिङवासीको तर्फबाट नेपाली मित्रहरूलाई भ्रमणका लागि स्वागत गर्न चाहन्छु र दुई नगरबीचको मित्रता निरन्तर कायम रहोस् भन्ने कामना गर्छु ।’

नेपाल बेल्ट एण्ड रोड अवधारणाको महत्वपूर्ण क्षेत्र रहेको अवस्थामा काठमाडौंसँग अर्थ, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमाबलियो सहकार्य गर्न इच्छुक रहेको पनि अध्यक्ष लोङ स्याङले बताए । नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या वर्षेनि बढिरहेको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा नानचिङबाट धेरै पर्यटक नेपाल भ्रमणमा आउने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.