सप्तरीमा मानवाधिकार उल्लङ्घनका ८५ वटा घटना

  २०७६ असार १९ गते १५:३४     विकासन्युज

सप्तरी । इन्सेक सप्तरीले सन् २०१९ को ६ महिनाको अवधिमा सप्तरीमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको जनाएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूबारे बिहीबार आयोजित कार्यक्रममा जानकारी दिँदै इन्सेकले सप्तरीमा ६ महिनाको अवधिमा सात जनाको हत्या, बालिका बलात्कारका १६, महिला बलात्कारका सात, घरेलु हिंसाका २५ घटनासहित ८५ वटा घटना अभिलेख भएको जनाएको छ ।

जिल्लाको मानवअधिकारको अवस्था तथा अर्धवार्षिक पूर्वसमीक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कार प्रयासका तीन, बाल यौन दुव्र्यवहार, बालबालिका विरुद्धको कसुर, बालबालिका दुरुपयोग र महिला बलात्कार प्रयासका एक÷एक घटना भए ।

अपहरणका चार घटनामा तीन बालिका र एक बालक तथा अपहरण प्रयासको एक घटनामा एक राजनीतिक दलका कार्यकर्ता पीडित भए । सप्तरीमा ०७५ पुस १७ देखि ०७६ असार १५ गतेसम्म बहुविवाहका आठ घटनामा आठ जना फरार, एक जना पुर्पक्षका लागि थुनामा, पाँच जना धरौटीमा रिहा र दुई जना गत शुक्रबार पक्राउ परेको इन्सेक प्रतिवेदनमा उल्लेख छ ।

कालाजारका एक बिरामीले उपचार नपाएको घटनासहित सशस्त्र प्रहरी र जिल्ला समन्वय समितिको सवारी साधन तोडफोडका साथै जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयको झ्याल ढोकाका सिसाहरु फुटाएर प्रदर्शनकारीहरुले क्षति पुर्याएको घटनाहरु भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, जिल्ला न्यायाधीशहरु उमेश कोइराला, श्रीप्रसाद सञ्जेल, कमलप्रसाद ज्ञवाली, कृष्णप्रसाद पौडेल, नन्दकिशोरप्रसाद यादव, सुदर्शन लामिछाने, दण्डपाणि लामिछाने, नेकपाका प्रदेश कमिटी सदस्य छेदी रजक, राजपा सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामले प्रतिवेदनमाथि टिप्पणी गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.