२०७६ असार २२ गते १२:२८ विकासन्युज
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो ।
धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरा छनोट भएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम र उनको परिवारले आमा हरिकला र बुबा नन्दलाल गौतमको सम्झनामा विसं २०६६ सालमा स्थापना गरेको पुरस्कार वर्षेनी प्रदान गर्दै आएका थिए ।
पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ । यही असार २५ गते पत्रकार महासङ्घ बागलुङ शाखाको १९ औँ स्थापना दिवसका अवसरमा पुरस्कार समर्पण गरिने शाखा अध्यक्ष दिल शिरीषले बताएका हुन् । यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका धु्रवसागर शर्मा, बागलुङका ज्ञानेन्द्र गौतम, कोपिला कँडेललगायत पुरस्कृत भइसकेका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.