२०७६ असार २७ गते ९:४४ नबिन पोखरेल
काठमाडौँ । बीमा व्यवसायमा बीमित र बिमकमा खासै समस्या छैन । तर मोटर बीमामा भने केही समस्या देखिएका छन् । बीमा समितिले हालै राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मोटर बीमाको समस्या समाधान गर्न सके समग्र बीमा क्षेत्र नै लाभदायी हुने विषयमा चर्चा गरिएको थियो ।
बीमा बिज्ञ शेखरकुमार अर्यालले बीमा क्षेत्रमा मोटर बीमाले छवि धमिल्याउने काम गरिरहेको बताए । यसमा रहेका समस्या समयमै समाधान गर्न सकेमा बीमामा खासै अन्य समस्या रहन्न-उनले भने । यता, बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कार्यक्रममा उठान भएको कुराहरु हामीले आगामी दिनमा कार्यन्वयन गर्ने बताए । अध्यक्ष चापागाईले आवश्यक परे न्यायाधीश र कानून व्यवसायीहरुसँग छलफल गर्न तयार रहेको बताए ।
मोटर बीमाको समस्या बारे के भन्छन् बीमा कम्पनीहरु ?
मोटर बीमाका समस्याबारे जेनेरल इन्स्योरेन्स कम्पनीका जेनेरल म्यानेजर एसके टमोटले मोटर बीमामा समस्या देखिनुमा मेडिकल रिर्पोटमा ढिलाई, बिमितले तयार पार्ने कागजात तथा सर्भे रिपोर्टमा लाग्ने समयले समस्या ल्याउने गरेको बताए । उनले यस्ता समस्याको समयमै समाधान गर्न आवश्यक रहेको बताए । तर, आफ्नो कम्पनीमा भने मोेटर बीमामा खासै समस्या नरहेको दाबी गरे ।
यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) कुमारबहादुर खत्री भन्छन्–‘नक्कली कागजात बनाएर बीमा क्षेत्रलाई समस्या बनाउनेमा केही हिस्सा मोटर बीमाको छ, यसलाई सुधार गर्न सरकारी संयन्त्रले दह्रो पाईला चाल्न आवश्यक छ ।’ बीमा क्षेत्रमा इमान्दारिताको बाटो अपनाउन आवश्यक रहेको उनको बुझाई छ ।
यसैगरी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चंकी क्षेत्रीले मोटर बीमाको सम्बन्धमा केही समस्या देखिनुमा बिमितलाई दुर्घटनाको अवस्थामा पैसाको आवश्यकता पर्ने र एकाउण्ट बन्द भएको अवस्थामापनि पुनः पैसाको माग गर्दा समस्या हुने गरेको बताए । उनले पछिल्लो समयमा त्यस्ता कुरा सुधारको अवस्थामा रहेकोमा जोड दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.