२०७६ भदौ ४ गते ११:०३ विकासन्युज
कञ्चनपुर । भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ ।
आयोजना निर्माणका लागि नगर विकास कोषबाट रु सात करोड १२ लाख ऋण र रु १९ करोड ९५ लाख रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको हो ।
उपभोक्ताको लागत सहभागिताबाट रु एक करोड ४२ लाख रकम सङ्कलन गरिएको समितिका अध्यक्ष करवीरसिंह ऐरले बताएका छन् । तीन वडाका एक हजार ७३० घरपरिवारमा निजी धारा वितरण लाइन निर्माण गरिनेछन् ।
खानेपानी आयोजना निर्माणकार्य पूरा भएपछि नगरपालिकाका वडा नं ८, ६ र उक्त घरधुरीका १० हजार बासिन्दा लाभान्वित हुने नगरप्रमुख सुरेन्द्र विष्टले बताए । अठार महिनाभित्र सम्पन्न हुने आयोजना निर्माणकार्य दुई साताभित्रै सञ्चालन गरिने उनले जानकारी दिएका छन् ।
आयोजनाका लागि उपभोक्ताबाट पाँच प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । बीस वर्षे अवधिका लागि डिजाइन गरिएको सो आयोजनाबाट सन् २०३९ मा २१ हजार बासिन्दा खानेपानी सेवाबाट लाभावान्वित हुने अनुमान गरिएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.