उडिरहेको हेलिकोप्टरबाट खस्यो सिरककाे पाेकाे

  २०७६ भदौ २२ गते १४:३७     विकासन्युज

सोलुखुम्बु । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् ।

फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ ।

हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान कम्पनीको लापरवाहीका कारण सामग्री झरेको उनीहरुको आरोप छ ।

प्रमुख निल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले जानकारी दिए ।

कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उनले बताए । कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताएका छन् ।

नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । विगतका दिनमा समेत सामान झर्ने गरेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.