अर्थमन्त्री खतिवडा भन्छन्-‘पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको जस्तो देखियो’

  २०७६ असोज ५ गते ८:२८     विकासन्युज


पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरे ।

मन्त्री खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताए । काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि रु ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उनले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताए ।

अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै मन्त्री खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने ठोकुवा गरे । आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उनको धारणा थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले लगानीको वातावरण बन्दै गएकाले उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रका समस्यामा सरकार गम्भीर हुन नसकेको भन्दै व्यवसायीमैत्री वातावरणमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा सङ्घका अध्यक्ष दामु अधिकारीले व्यवसायीका समस्या प्रस्तुत गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्री खतिवडासँग आग्रह गरे ।

पोखरा विमानस्थल निरीक्षण
यता, अर्थमन्त्री खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । उनले सो अवसरमा विमानस्थलको कार्य प्रगतिबारे जानकारी लिएका थिए ।

विमानस्थलका लागि थप जमीन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने÷नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखेका थिए । सो अवसरमा मन्त्री खतिवडालाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका थिए । उनले तोकिएको मितिभन्दा छ महिना अघि नै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए ।

सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने अन्तिम मिति रहे पनि सन् २०२० को डिसेम्बर सम्ममा सम्पूर्ण काम सक्ने गरी काम गरिरहेको मुनाकर्मीको भनाइ थियो । विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन र ब्लास्ट प्याडको काम सम्पन्न भएको छ । विमानस्थलको ८५ प्रतिशत अर्थवोर्क९कटिङ र फिलिङ० सकिएको, आठ स्लाव तथा कल्र्भट र सिँचाइ च्यानलको ९५ प्रतिशत काम सकिएको बताइएको छ । टर्मिनल भवन, ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको मुनाकर्मीले बताए ।

विमानस्थलको चक्रपथ निर्माणका लागि आवश्यक ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहणको काम भइरहेको छ भने ९५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको छ । कूल रु २२ अर्ब लागतमा निर्माण हुने विमानस्थलमा हालसम्म रु आठ अर्ब ५० करोड खर्च भएको छ । विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सिएएमसी इञ्जिनियरीङ कम्पनीबीच सम्झौता भएको हो । सन् २०१७ जुलाई ११ देखि निर्माण कार्य शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.