२०७६ असोज २४ गते ११:४५ विकासन्युज
काठमाडौं । प्रमुख कार्यकारी अधिकृत रिक्त भएको करिब ३ महिनापछि नेपाल पुनर्बीमा कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया सुरु गरेको छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल गत असार मसान्तमा सकिएसँगै पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । हाल दामोदर भण्डारीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।
कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै २१ दिनको समय दिएर सो समयभित्र प्रमुख कार्यकारी अधिकृतका लागि योग्य इच्छुक व्यक्तिहरुलाई आवश्यक कागजात र विवरणसहित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन भनिएको छ ।
उक्त पदको लागि व्यवस्थापन, अर्थशास्त्र, लेखा, चार्टर्ड एकाउन्टेन्सी, गणित लगायतका विषयमा स्नातकोत्तर हासिल गरी बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्ष र बैंकिङ क्षेत्रमा भए अधिकृत द्धितीय स्तरमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । ६५ वर्ष पूरा नभएको व्यक्तिले आवेदन दिनसक्ने समेत जनाइएको छ । अन्य मापदण्डहरु भने बीमा समितिको बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाअनुसार हुने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेदवारले बायोडाटा, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र ५ हजार शब्दसम्मको व्यवसायिक योजना पेश गर्नुपर्ने भनिएको छ । उक्त व्यवसायिक योजनाको मूल्यांकनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्नेहरुमध्ये ५ जनालाई सर्टलिष्टिङ गरी योजनाको प्रस्तुतीकरण गर्न लगाउने र सो प्रस्तुतीकरणका आधारमा अन्तवार्तको लागि छनौट गरिने प्रक्रियासमेत कम्पनीले तय गरेको छ । सो प्रक्रियाका आधारमा छानिने एक जनालाई कम्पनी सञ्चालक समिति बैठकले प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्नेछ ।
८ अर्ब ४० करोड रुपैंया चुक्तापुँजी भएको नेपाल पुनर्बीमा कम्पनी नेपालको पुनर्बीमा व्यवसाय गर्ने एकमात्र कम्पनी हो । कम्पनीले चुक्ता पुँजीको १६ प्रतिशत हुनेगरी सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रिया समेत अघि बढाएको छ । हाल सो कम्पनीमा नेपाल सरकार र विभिन्न बीमा कम्पनीहरुको शेयर लगानी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.