२०७६ असोज २९ गते १५:१२ विकासन्युज
शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो ।
संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ ।
तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ ।
कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ ।
यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.