‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’, ट्वीटरबाट बढी गुनासा

  २०७६ कार्तिक ९ गते १४:४३     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७ सय ५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् ।

शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिए । त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ ।

“हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उनले भने, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।” पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे ।

हेलो सरकारले सङ्घीय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । वि.सं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याउनुभएको हो ।

नयाँ पोर्टल सञ्चालन भएपछि गुनासा घटे

हेलो सरकारको नयाँ पोर्टल सञ्चालन भएपछि गुनासाको सङ्ख्या घटेको छ । पहिलेको पोर्टलमा हेलो सरकारमा आएका जस्ता गुनासो पनि लिने गरिन्थ्ये भने अहिले ती आएका गुनासोलाई अवस्था हेरेर लिने गरिन्छ ।

“अहिले आएका गुनासोको व्यहोरा पूर्णरूपमा उल्लेख गरिएको छ कि छैन भनेर हामीले छलफल गरेर मात्र सम्बन्धित ठाउँमा ती गुनासो पठाउने गरेका छौँ”, हेलो सरकार शाखाकी शाखा अधिकृत हरिकला आचार्यले भने, “जसले गर्दा हेलो सरकारमा आउने गुनासाको सङ्ख्या घटेको हो ।”

उनका अनुसार गत वैशाख १ देखि असारमसान्तसम्म एक हजार ८ सय ९ गुनासो आएका थिए, भने नयाँ पोर्टल सञ्चालन भएपछि साउनदेखि असोजसम्म एक हजार ७२ गुनासा आएका छन् ।

ट्वीटरबाट बढी गुनासा

यसैगरी सर्वसाधारणले हेलो सरकारमा पहिले फोनबाट बढी गुनासा राख्ने गरेता पनि अहिले ट्वीटरबाट बढी गुनासो राख्ने गरेको पाइएको छ ।
शाखाका शाखा अधिकृत किरण जोशीले दैनिक ट्वीटरबाट सयको सङ्ख्यामा गुनासो आउने गरेको बताए । फोनबाट भने दैनिक १५ को सङ्ख्यामा मात्र गुनासो आउने गरेका छन् । हेलो सरकारमा फोनसहित फेसवुक, ट्वीटर, भाइवर र इमेलमार्फत गुनासो लिइने गरिन्छ ।

फोनका लागि पैसा नलाग्ने नम्बर ११११, भाइवरका लागि ९८५११४५०४५ र इमेल 1111@nepal.gov.np रहेको छ । शाखा प्रमुख पौडेलले हेलो सरकारबारे जनचेतना जगाउन आवश्यक रहेको बताए । “अझै हेलो सरकारबारे सर्वसाधारणलाई थाहा छैन”, भने, “त्यही भएर सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतना जगाउने कार्यक्रम ल्याउन थालेका हौं ।”

दैनिक दुई सयको सङ्ख्यामा हेलो सरकारमा सर्वसाधारणका गुनासो आउने गरेका छन् । अहिले बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म हेलो सरकारमा १६ कर्मचारी जनताका गुनासो सम्बोधन गर्न खटिएका छन् । गत आर्थिक वर्षमा हेलो सरकारमा १६ हजार १२० गुनासोमध्ये आठ हजार २२ गुनासो फछ्र्यौट गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.