२०७६ कार्तिक १३ गते १०:०७ विकासन्युज
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् ।
यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । यसैगरी भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट रु तीन लाख नगद बरामद भएको छ ।
दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, पोखरा महानगरपालिका–९ बास्तोलाथरमा जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रत्नमान गौचनको घर भाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले रु ३२ हजार ४३० नगद र ताससहित सात जनालाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
त्यस्तै सोमबार पोखरा महानगरपालिका–५ प्रस्याङ्गबाट रु ३९ हजार २०० नगद र ताससहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासी रुद्रबहादुर केसीको घरमा जुवातास खेलाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छ जुवाडे पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।
केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
बीरेन्द्रनगर नगरपालिका– ९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र सोही नगरपालिका– ६ सुर्खेतका ४८ वर्षीय मुकुन्द मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिपावलीलाई सभ्य र सुरक्षितरुपले मनाउन ९ बजेसम्म मात्र देउसी भैलो खेल्न, जुवातास तथा लङ्गुर बुर्जा नखेल्न, मादक पदार्थ सेवन नगर्न, जबर्जस्ती रकम नअसुल्न र कानूनद्वारा बर्जित काम नगर्न पनि प्रहरीले सार्वजनिकरुपमा सूचना प्रवाह गरेको छ ।
पाँच लाखसहित १३ जुवाडे पक्राउ
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुँवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । सापकोटाका अनुसार मानिस नबस्ने खाली घरमा कौडा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका–७ डबका यमबहादुर कुँवर, सोही स्थानका ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कलम कुँवर, ५४ वर्षीय ताराबहादुर कुँवर, ३२ वर्षीय विष्णुबहादुर थापा, २२ वर्षीय सचिन कुँवर, २० वर्षीय समुद्र कुँवर, ५७ वर्षीय नारायण कुँवर, २२ वर्षीय गौरव कुँवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए । उनीहरुको साथमा पाँच लाख ४५ हजार ८५५ नेपाली रुपैयाँ रहेको छ । दुई हजार ५२० भारतीय पैसा रहेको छ ।
नौ जुवाडे पक्राउ
बाँके । बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ बजे जुवा खालबाट नगद र खेलमा प्रयोग भएको तास बरामद गरी जुवा खेलमा संलग्न नौ जना जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । चाडपर्वमा हुने जुवा तास नियन्त्रणको लागि बाँकेमा प्रहरीले जुवाडेविरुद्धको अभियान सञ्चालन गरेको छ ।
कौडा खेल्ने २८ जना पक्राउ
नवलपरासी । प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
पक्राउ पर्नेमा अम्मर गुरुङ, विजय शाही, शम्भु रानाभाट, नेत्रनारायण पोख्रेल, दिलबहादुर टण्डन, कृष्णकुमार श्रेष्ठ, मेघराज शर्मा, रोशन भण्डारी, तिलककुमार आले, ठाकुरप्रसाद पोख्रेल, वीरेन्द्र बस्नेत, सुमन आले, अञ्जान बस्नेत, सलमान मिया, बाबुराम चापागाईं, प्रकाश न्यौपाने, मन विक, शिव बानियाँ, सुभाष ओझा, भूमि भण्डारी, मनबहादुर कुमाल, रामप्रसाद अर्याल, शरद पौडेल, ऋषिराम सुवेदी, नवराज शर्मा, सूर्य घिमिरे, अरुणबहादुर चौधरी र शौरभ खनाल छन् ।
उनीहरुका साथबाट प्रहरीले रु पाँच लाख ८० हजार बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
जुवा खेल्ने १७ जना पक्राउ
गुल्मी । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेकोे प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् । उनीहरुलाई प्रचलित कानूनअनुसार कारवाही गरिने घलेले बताए ।
छ लाखसहित आठ जना पक्राउ
दाङ । लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहकाअनुसार पक्राउ पर्नेमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका–८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका–३ का अमरबहादुर तामाङ, वडा नं ६ का भिविराज किराती र लमही–५ का मुकेश चौधरी छन् । इलाका प्रहरी कार्यालय लमहीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने शाहले बताए ।
खैरहनीबाट २० जुवाडे पक्राउ
चितवन । पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनीहरुको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.