हरिबोधिनी एकादशीको अवसरमा शुक्रबार सार्वजनिक बिदा

  २०७६ कार्तिक २० गते ८:४८     विकासन्युज


काठमाडौँ । नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिइन् ।

नगरपालिकाभित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण मन्दिरको नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने भएको उप–प्रमुख अधिकारीले बताइन् ।

उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो मन्दिरमा ठूलो एकादशी, हरिशयनी एकादशी र हरिबोधिनी एकादशीमा विशेष मेला लाग्ने गर्छ ।

सिन्धुलीको दुधौलीमा पनि बिदा
हरिबोधनी एकादशी तथा तुलसी विवाहका दिन यही कात्तिक २२ गते सार्वजनिक बिदा दिइएको छ । यहाँको दुधौली नगरपालिकाले शुक्रबार मनाइने हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा दनुवार समुदायको बाहुल्यता भएको र दनुवार समुदायले यस दिनलाई बड्की एकादशीका रुपमा विशेषपर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिए ।

यस दिन दनुवार समुदायले मात्र नभई नगरक्षेत्रमा बसोबास गर्ने नगरवासीले हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्थामा सार्वजनिक बिदा दिइएको उनले बताए । यसअघि हरिबोधनी एकादशी अर्थात् बड्की एकादशीमा गत वर्ष पनि नगरपालिकाले बिदा दिएको थियो । अघिल्लो वर्षको निर्णयलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.