२०७६ कार्तिक २६ गते १०:४२ विकासन्युज
काठमाडौँ । जापनिज मोटरसाइकल मेनुफेक्चरर कम्पनी सुजुकीले ‘इन्ट्रुडर २५०’ को उत्पादनको काम शुरु गरेको छ । कम्पनीले यस क्रुजरलाई भारतमा हुने ‘अटो एक्स्पो’ मोटरसाइकल शोमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
सुजुकीले जिक्सर २५० मा भएको एलईडी लाइट्स, ब्रेकिङ्ग सेटअप, डुअल च्यानल एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता फिचरहरु यस बाइकमा पनि दिने भएको छ । तर, यसको सस्पेन्सनलाई भने कम्पनीले यसको क्रुजिङ्ग नेचरलाई सुहाउँदो हुने गरी परिमार्जन गर्नेछ ।
त्यसैगरी, आरामदायक यात्राको लागि एउटा क्रुजरमा हुने लो सिट हाइट, अगाडितर्फ सेट गरिएको फुट पेग्स, रेज्ड हेण्डल बार जस्ता विशेषताहरु यस बाइकमा पनि समावेस गरिनेछ ।
इन्ट्रुडर २५० मा जिक्सर २५० मै दिइएको २४९ सीसी फ्युल–इन्जेक्टेड एसओएचसी इञ्जिन जडान गरिनेछ । यस इन्जिनले २६.५ पीएसको पावर र २२.६ एनएमको टर्क प्रोड्युस गर्दछ । तर, इन्ट्रुडरको क्रुजिङ्ग विशेषतालाई मध्यनजर गर्दै सुजुकीले यस इञ्जिनलाई भने थोरै परिमार्जन गर्ने अनुमान पनि गरिएको छ । त्यसैगरी सुजुकीका अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको हुनेछ ।
लञ्च पश्चात भारतीय बजारमा यस बाइकको मूल्य एक लाख ८० हजार रुपैयाँ तोकिने अनुमान गरिएको छ ।
नेपालका लागि सुजुकी टू–ह्विलर्सको आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रालिले हाल नेपाली बजारमा सुजुकीका विभिन्न मोडलहरुको बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पाइने १५५ सीसीको इन्ट्रुडरको मूल्य चाँही तीन लाख ३३ हजार नौ सय रुपैयाँ तोकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.