२०७६ कार्तिक २८ गते १३:१५ विकासन्युज
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरेका छन् ।
उनले भने, “महानगरले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए ।
समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका सङ्ख्या बढिरहेको बताए ।
के हो चिनीरोग ?
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा चिकित्सक पुकार श्रेष्ठका अनुसार शरिरमा चिनी (सुगर)को मात्र बढी हुनुलाई चिनीरोग भनिन्छ । शरीरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गौला र आँखालाई यसले असर पुर्याउँछ ।
चिकित्सकका अनुसार छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् ।
नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले कूल जनसङ्ख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् ।
“चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।” चिकित्सक श्रेष्ठ भन्छन्। यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.