२०७६ मंसिर ३ गते १७:१४ राजाराम न्याैपाने
काठमाडौं । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति ट्यांकर अपहरणमा परेको हो । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सोमबार राती १ बजे अपहरणमा परेको बताए । २० हजार लिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो ।
नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक/ एक जना प्रतिनिधि तोकिएका छन् । उनीहरुलाई प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।
सोमबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेका थिए । उनीहरू सुतिरहेकाे अवस्थामा मुखमा पट्टी बाँधेर आएका ६/७ जना नकाबधारी समूहले चालक र सहचालककाे आँखामा पट्टी बाँधेर अपहरण गरेकाे जनाइएकाे छ । उनीहरूका अनुसार अपहरणकारीले उनीहरूलाई जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेका थिए ।
निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ । अहिले ट्याकंर मालिक राजेश कुमार गुप्ता, चालक रामदेव यादव र सह चालक उमेश यादव प्रहरीकाे नियन्त्रणमा रहेकाे पाैडेलले बताए । ट्याकंर अपहरण हुनु देशकै सुरक्षा अवस्थामाथि ठाडाे चुनाैती भएकाे उनी बताउँछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.