२०७६ मंसिर ६ गते ११:५० विकासन्युज
काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक प्रभु ग्रुपले राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने भएको छ । प्रभु ग्रुपले सुदूूरपूर्व, मध्यपूर्व, दक्षिणपूर्वी एशिया हुँदै भारतीय महादिप र खाडी मुलुकरूलाई समेत जोड्नेगरी कन्टेनरसहितको नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनमा ल्याएकाे छ। कम्पनीले करिब चार महिनादेखि उत्त सेवा दिँदै आएको प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनले बताए । ‘सो सेवा दिनको लागि केही कन्टेनर भाडामा लिइएको छ भने केही खरिद गरिएको हो,’ उनले भने ‘यसमा अन्य विदेशी लगानीकर्ताको समेत लगानी रहेको छ ।’ । ‘प्रधानमन्त्रीको सपना साकार पार्न राष्ट्रिय ध्वजावाहक पानीजहाज संचालनमा ल्याएका हौं ।’
त्यसका लागि ग्रुपले नेपाल सिपिङ एण्ड मल्टिमोडल ट्रान्सपोर्ट प्रा.लि. नाम कम्पनी दर्ता गरिसकेको छ । कम्पनीको ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त सेवाबाट आयातकर्ताले विश्वका जुनसुकै देशबाट सामान आयात गर्न विशाखापटनम, कलकत्ता, हल्दिया तथा मोलंगा बन्दरगाह प्रयोग गरेर नेपालको सुख्खा बन्दरगाह तथा आईडीसीहरूमा ल्याउन सकिने छ ।
सो कम्पनीले अन्य देशहरूसँग जहाजभाडामा लिएर सञ्चालन गर्नेछ भने निकट भविष्यमा नारायणी नदीमार्फत नेपालको चितवनको त्रिवेणी धामसम्म पानीजहाजमै सामान ढुवानी गर्ने लक्ष्य समेत लिएको छ । यो कम्पनी सञ्चालनमा आएसँगै नेपाली आयातकर्ता तथा निर्यातकर्तालाई निकै सहज हुने कम्पनीले जनाएको छ ।
यो सेवा सञ्चालनमा आएसँगै मध्यपूर्वी एशियाका मुलुकहरुबाट अहिले सामान आइपुग्न लाग्न समय ४५ दिनदेखि ६० दिनसम्म लाग्दै आएकोमा त्यो समयावधि ३० दिनमा झर्नेछ । त्यस्तै, नेपाली व्यवसायीहरुले विभिन्न कारणले तिर्न पर्दै आएको करिब ३८ प्रतिशतसम्मको अतिरिक्त लागत समेत बचत हुने जनाइएको छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको सटही सुविधाको पनि हो । नेपाली व्यवसायीहरुले नेपालमा सामान आयात गर्दा लाग्ने ढुवानी खर्चलाई नेपाली रुपैंयामै भुक्तान गर्ने सुविधा हुनेछ, यसले गर्दा अन्तराष्ट्रिय विनिमयको प्रभाव हटाउन समेत यसले महत्वपूर्ण सहयोग गर्नेछ ।
कम्पनीले काठमाडौंस्थित केन्द्रीय कार्यालयमार्फत त्यस्तो सेवा दिने जनाएको छ । कम्पनीले आयातकर्ता र निर्यातकर्तालाई एकद्वार प्रणालीमार्फत छिटो छरितो र झण्झटरहित सेवा उपलब्ध गराउनु नै आफूहरुको एकमात्रै उद्देश्य भएको जनाएको छ ।
यो सेवाले नेपालका व्यवसायीहरुले तिर्दै आएको चर्को शुल्क र अनावश्यक झन्झट र सामान ढुवानीमा चाहिनेभन्दा बढीलागत दर र समय खर्च गरिरहेको भन्दै त्यसलाई घटाउन नेपाली झण्डा अंकित १ हजार ८ सय कन्टेनरहरू तयारी अवस्थामा रहेको समेत जनाएको छ । यो संख्यालाई आगामी वर्षसम्म ३ हजार पुर्याउने उद्देश्य समेत लिएको छ ।
नेपाली व्यवसायीले यो सेवाबाट पाउने सुविधा भनेको अग्रिम भुक्तानीमा हुने छुट हो । अहिले विदेशी ढुवानीकर्ताले नेपाली व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा अग्रिम रुपमा भुक्तानी गरेर मात्रै सामान ढुवानी गर्नुपर्ने अवस्था छ । यो सेवा सञ्चालनमा आएपछि सामान प्राप्त भएपछिमात्रै भुक्तानी गर्न सकिन्छ । यसले गर्दा व्यवसायीलाई थप सहज हुने विश्वास समेत प्रभु ग्रुपले लिएको छ ।
नेपाल फ्रेड फरवार्ड एशोसिएशनका अध्यक्ष प्रकाशजंग कार्कीले प्रभु ग्रुपले सञ्चालनमा ल्याउन लागेको पानीजहाज सेवा नेपालकै लागि गौरवको विषय भएको बताए । यसले नेपालको पारवहन क्षेत्रमा एउटा कोशेढुंगाको काम गर्ने ऐतिहासिक प्रयास उनको ठम्याइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.