२०७६ मंसिर ८ गते १६:२० विकासन्युज
काठमाडाैं । लामो समयदेखि तलब नपाएर समस्यामा परेका गोरखकाली रबर उद्योगका कर्मचारीहरुले तलबवापत ३० करोड रुपैयाँ पाउने भएका छन् । कर्मचारीको चार वर्षदेखि रोकिएर रहेको तलबको केही रकम दोस्रो किस्तामार्फत पाउने जनाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अुनसार उनीहरुले तलबको दोस्रो किस्तामार्फत ३० करोड रुपैयाँ पाउने भएका हुन् । नेपालकै एकमात्र रबर उद्योग विगत चार वर्षदेखि पूर्ण रुपमा बन्द भएपछि त्यहाँका कर्मचारीहरुले विभिन्न आम हड्ताल गर्दै आएका थिए । तर तलब पाउन सकेका थिएनन् ।
पूँजीको अभावका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको कारण उद्योग बन्द भएको थियो । कर्मचारीहरुले पहिलो किस्तावापत ३० करोड रुपैयाँ प्राप्त गरिसकेका छन् । उनीहरुले पुनः दोस्रो किस्तावापत ३० करोड रुपैयाँ पाउने भएका छन् । मन्त्रालयले उद्योगका अवकाश प्राप्त कर्मचारीहरुको दोस्रो किस्ताको हर हिसाव भुक्तानी गर्ने सुचना समेत प्रकाशित गरिसकेको छ ।
उद्योग सञ्चालन भएको अवस्थामा कामको चापले फुर्सद नपाउने कर्मचारीहरु र मजदुरहरु पछिल्लो समय हाँजिर लगाएर घर जान थालेका थिए । २०४१ सालमा स्थापना भएको उद्योग सञ्चालनका लागि पटक पटक प्रयास गर्दा पनि सञ्चालन हुन सकेको छैन ।
मन्त्रालयले उद्योगमा काम गर्ने कर्मचारी र मजदुरहरुको करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाइएको छ । ‘पहिलो किस्तावापत ३० करोड रुपैयाँ भुक्तानी भइसकेको छ’ स्रोतले भन्यो, अझै ३० करोड भुक्तानी गर्ने तयारी भइरहेको छ ।’ उद्योग बन्द हुने ताका उद्योगले करिब २ अर्ब नोक्सानी नाघेको जनाइएको थियो ।
उद्योगमा १ सय ३५ मजदुर र ९७ कर्मचारी कार्यरत थिए । उनीहरुले चार वर्षदेखि तलब नपाएको बताउँदै आएका थिए । हाल मन्त्रालयले जारी गरेको सुचनामा कर्मचारी र मजदुर गरी ३ सय २८ जनाको नामावली निकालेको छ । रबर उद्योग टायर उत्पादनभन्दा राजनीति गर्ने थलोका रुपमा विकास भएपछि उद्योगको अवसान हुन पुगेको आरोप जानकारहरुको छ ।
गण्डकी प्रदेशले पुनः उद्योग सञ्चालन गर्ने भनेपनि त्यसको कुनै सुनुवाइ छैन । उद्योगले २४ घण्टामा ६ सय २४ थान ट्रक टायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता राख्थ्यो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.