२०७६ पुष १४ गते १०:३६ विकासन्युज
काठमाडौं । लगानी वोर्डले ३ जलविद्युत आयोजनाको लागि ८५ अर्ब २८ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा वोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वोर्डको ४२औं बैठकले लगानी स्वीकृत गरेको हो ।
वोर्डले दिएको जानकारीअनुसार माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको लागि करिब ६५ अर्ब रुपैयाँ, मस्र्याङ्दी बेसी जलविद्युत परियोजनाको लागि ११ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ र माथिल्लो त्रिशुली–३ बी जलविद्युत परियोजनाको लागि ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत भएको हो ।
यी ३ वटै परियोजना निर्माणका लागि परियोजना विकासकर्ताले लगानी स्वीकृतिका लागि वोर्डमा निवेदन दिएका थिए । ठूला परियोजनाको लगानी स्वीकृतिदेखि अन्य सबै प्रकारको सहयोग र सहजीकरण गर्न वोर्ड स्थापना भएको हो ।
यस्तै, वोर्ड बैठकले अरुण–३ जलविद्युत परियोजनाको छ्याङ्कुटी–दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठिन छानविन समितिलाई प्राविधिकसहितको थप जनशक्ति उपलब्ध गराई २ महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुनर्गठन पनि गरेको छ ।
बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश ३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश १ को उर्लाबारी तथा प्रदेश २ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकारहरु/संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाउन लगानी वोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.