२०७६ पुष २१ गते ९:५१ विकासन्युज
पर्वत । पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ ।
करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो । कुश्माको तीन स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको लागत निकालिने सर्वेक्षणमा खटिएका इञ्जिनीयर हेमराज शर्माले जानकारी दिए । “तीनवटै स्थानबाट ५ सय मिटरभन्दा धेरै लम्बाइ देखिएको छ”, उनले भने, “उपयुक्त स्थान छनोट गरेर खाका दिन्छौँ ।”
शर्माले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडाँडास्थित माउण्टेट भ्यू होटल साइडको क्षेत्र उपयुक्त हुनसक्ने जानकारी समेत दिएका छन् । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर केसीका अनुसार कुकुरगाढे क्षेत्रको स्थानको क्षेत्र विभिन्न व्यक्तिको आवादी क्षेत्र भएकोले पुल त्यहीँ उपयुक्त हुन्छ । “पुल बनिसकेपछि बस्ती विस्तार र अरु विकास पनि चाहिन्छ”, उनले भने, “अन्यत्र सार्वजनिक जग्गा छ । हामीले व्यावसायिक र बस्ती विस्तारका लागि उपयुक्त जग्गा छनोट गर्नुपर्छ ।”
कुश्मा–५ की अध्यक्ष चित्रकला भारती शर्माले पनि सबै कुश्मालाई समेट्ने गरी पुल बनाउन जमिनको छनोट भइरहेको जानकारी दिए । “बलेवाको विमानस्थललाई समेट्नुर्यो”, उनले भने, “कुश्माको व्यावसायिक हितमा पनि सोच्नुपर्छ ।” यो पुल निर्माण भए कुश्मा बजार बागलुङ नगरपालिकाका दुई वडासँग प्रत्यक्ष जोडिने छ । करिब ३० हजार सर्वसाधारण लाभान्वित हुनेछन् । रु पाँच करोडको स्टमेट अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बागलुङवासीलाई यात्रामा सहज मात्रै नभएर जीविकोपार्जनमा पनि धेरै सुधार आउने अपेक्षा गरिएको छ ।
पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण मानिने भएकोले पुल आवश्यक भएको स्थानीय अगुवाले बताएका छन् । “अहिलेसम्म बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ”, बलेवाका बलबहादुर पाठकले भने, “बागलुङ र कुश्मामा पर्यटनबाट समृद्धि चाहनेले यो पुललाई प्राथमिकतामा राख्नुपर्छ ।” बागलुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद सूर्य पाठकको सक्रियतामा पुलको खाका तयार हुन लागेको जनाइएको छ ।
दुई ठूला नदीले घेरिएको कुश्मालाई अग्ला पुलले वारीपारीका बस्तीसँंग नजिक बनाउने क्रम अग्ला पुलकै कारण बढ्दो छ । दशकअघि बनेको कुश्मा–ज्ञादी पुलले कुश्मा र कटुवाचौपारी आसपासका बासिन्दालाई सुविधा पुगेपछि अहिले कुश्मामा आधा दर्जन आकाशे पुल बनिसकेका छन् । कालीगण्डकी र मोदी खोलाको बीचमा पर्ने कुश्मालाई एकातर्फ बागलुङ र अर्कोतर्फ कुश्माकै अन्य वडाका साथै फलेवास नगरपालिका जोड्न धमाधम पुल बनिरहेका छन् ।
मुलुककै अग्लो दाबी गरिएको ३ सय ४४ मिटर लम्बाइ र १ सय ३५ मिटर उचाइको कुश्मा–ज्ञादी पुल बनेको दशक नबित्दै कुश्मा आसपासमा उस्तै प्रकृतिका आधा दर्जन पुल बनिसकेका छन् । कुश्मा–मुडिकुवा, कुश्मा–कैया, खरेहा–अधिकारीफाँट पुल बनेर सञ्चालनमा आइसकेका छन् । कुश्मा–कैयाले कुश्मालाई बागलुङ नगरपालिकाको वडा नम्बर १४ लाई जोडेको छ भने कुश्मा–मुडिकुवाले कुश्मा र फलेवास नगरपालिका जोडेको छ ।
कुश्मा–अधिकारीफाँटले कुश्माकै वडा नम्बर १० पिपलटारी जोडेको छ । कुश्माकै उपल्लो बजारबाट बञ्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बन्दैछ । स्थानीय व्यवसायीले करिब रु १५ करोडको लगानीमा पुल निर्माण गरेर बन्जी र स्काइ साइक्लिङलगायतका पर्यटकीय खेल सञ्चालनको तयारी थालेका हुन् । कुश्मा–७ खरेहा र कुश्मा–९ कटुवाचौपारीस्थीत अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा पुल निर्माण भइसकेको छ ।
पर्वतकै कुश्मा–१ पाङबाट बागलुङ बजार जोड्न ५ सय ४४ मिटर लामो र १ सय ६० मिटर उचाइको पुलको काम शुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । उनका अनुसार यो पुल सिङ्गल स्पानबाट बन्ने पुलमा विश्वकै कीर्तिमानी पुल बन्नेछ । । नयाँ पुलसहित कुश्मा बजार आसपासमा अग्ला पुलको सङ्ख्या आठ पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.