२०७६ माघ ३ गते १०:२१ विकासन्युज
गलेश्वर । बेनी नगरपालिका–४ राक्सेका बह्माण–क्षेत्री समुदायका महिला पञ्चेबाजा बजाउन सिक्न व्यस्त छन् । बह्माण–क्षेत्री समुदायका महिलाले नौमती बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यतालाई लत्याउँदै उनीहरुले नयाँ इतिहास कायम गर्न बाजा बजाउन सिक्न थालेका हुन् ।
बारीका पाटामा सहनाई फुकिरहेकी अगुवा हीरा पाौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै हुनुहुन्थ्यो । सहनाई पञ्चेबाजामध्ये प्रमुख बाजा हो । घरायसी काम सक्ने बित्तिकै हतारहतार खेतमा पुग्ने गरेका यहाँ महिला दैनिकजसो दमाह, ट्याम्को, कर्णाल र नरसिङ्गाजस्ता विभिन्न थरीका बाजा सिक्न व्यस्त छन् ।
महिलाले बाजा छुन पनि हुँदैन भन्ने मान्यतालाई अन्त्य गर्न गाउँका बह्माण, क्षेत्री र दलित समुदायका महिला एकजुट भएर पञ्जे बाजा सिक्न जुटेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत राक्सेमा सडककै छेउमा रहेको बारीको पाटामा महिलाले बाजा बजाएको देखेर सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले समेत अनौठो मान्ने गरेको पौडेलले बताए ।
उनले शुरुआतमा केही असहज भए पनि विस्तारै महिलाले सिक्न आर्कषित हुँदै आएको जानकारी दिए । “मैले सीप हस्तान्तरणको अभियानको रुपमा लिएको छु ।” उनले भने । पुरुषले मात्रै बजाउने पञ्चेबाजामा महिलालाई समेत अब्बल बनाउन तालीममा सहभागी भएको झ्याली बाजा सिक्दै गरेकी शान्ति पौडेलले बताए । महिला मात्र सहभागी नौमती बाजा समूह बनार्ई प्रकाश परियारले प्रशिक्षण दिइरहेका छन् ।
स्वागत तथा सम्मानलगायतका कार्यक्रम, मङ्गलधुन, दुलाहा अन्माउने, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भित्र्याउँदा मङ्गलधुनका प्रस्तुति गर्ने कला प्रशिक्षणमा जानकारी गराइएको उनले जानकारी दिए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.