२०७६ माघ ८ गते १२:२४ विकासन्युज
नेपालगञ्ज । चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७ सय ९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ ।
यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् ।
औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे ।
आधारभूत स्वास्थ्य केन्द्र स्थापना
खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.