२०७६ माघ १२ गते १४:१० विकासन्युज
१। कुष्ठरोग भनेको के हो ?
कुष्ठरोग म्याकोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । यो रोगका किटाणुहरु विस्तारै फैलिन्छन् । यो रोगको सरायु अवधि २ देखि ५ वर्ष रहेको छ । यस रोगका किटाणुले खास गरेर छाला र स्नायुमा असर गर्दछ ।
२। कुष्ठरोग कसरी सर्छ ?
उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढि समय)सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ ।
३। कुष्ठरोगका चिन्ह र लक्षणहरु के–के हुन् ?
शरीरको कुनै भागमा छुंदा थाहा नपाउने, रातो, फुस्रो दागहरु देखा पर्नु ।
हात खुट्टा झम–झम गर्नु ।
बाहिरी सतहका स्नायु सुन्निनु ।
हात खुट्टामा नदुख्ने घाउहरु देखा पर्नु ।
४। कुष्ठरोग कति प्रकारका हुन्छन् ?
उपचारको दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गरिएको छ ।
– (पउसी ब्यासिलरी) कम किटाणु भएको
– (मल्टी ब्यासिलरी) धेरै किटाणु भएको
५। कुष्ठरोग लागे पछि उपचार कसरी गरिन्छ ?
बहु–औषधी उपचार विधिबाट गरिन्छ । बहु–औषधी उपचार विधि भनेको एक भन्दा बढी प्रकारका औषधीबाट कुष्ठरोगको उपचार गर्नु हो । यसमा पउसी ब्यासिलरी ६ पत्ता अर्थात ६ महिनासम्म खानु पर्छ र मल्टी ब्यासिलरी विरामीले १२ पत्ता अर्थात १२ महिनासम्म औषधी खानु पर्छ ।
६। कुष्ठरोग कसरी पत्ता लगाइन्छ ?
कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा र विरामीको सिल्ट स्किन स्मेयर जाँच गरेर ।
७। कुष्ठरोग जस्तै लक्षण देखिने अरु रोग के–के हुन् ?
दाद, दिनाइ, दुबी, जन्मजात दाग, छालाको क्षयरोग आदिले पनि कुष्ठरोगको जस्तो लक्षण देखाउन सक्छन् ।
८। कुष्ठरोगले कसरी अपांगता/असमर्थता गराउँछ ?
यस रोगका किटाणुले बाहिरी सतहका स्नायुहरुमा असर गर्दछ जसले गर्दा स्नायुहरुको कार्यक्षमतामा ह्रास आउँछ । हात÷गोडामा छुँदा थाहा नपाउने वा केही वस्तुले घाउ, चोटपटक लाग्दा समेत थाहा पाउँदैनन् र संक्रमण हुन थाल्छ । यदि समयमा उपचार नगरेमा मांशपेशीहरुमा समेत पक्षघात हुन्छ । विस्तारै हात÷गोडाका औँलाहरु बांगिने÷टेढों हुने र कडापन आउँछ । यस किटाणुले अनुहारको स्नायुमा पारेको छ भने आँखाको ढकनी बन्द गर्न नमिल्ने भई संक्रमणका कारण विस्तारै आँखा नदेख्ने समेत हुन सक्छ ।
९। कुष्ठरोग लाग्यो भने हात खुट्टाका औलाहरु झर्छन् ?
कुष्ठरोग लाग्दैमा हात खुट्टाका औलाहरु झर्दैन्न । कुष्ठरोगको किटाणुले स्नायुमा असर गरेर दुखाई र चोटपटकको अनुभुती हराउँछ । यसरी तातो समाउदा वा चोटपटक लाग्दा नदुख्ने घाँउ बन्दछन् र त्यस घाँउमा संक्रमण भई हड्डीमा असर पुग्छ र हात खुट्टाका औलाहरु छोटा हुन्छन् वा झर्न थाल्छन् ।
१०। कुष्ठरोग लागेको विरामीलाई छुट्टै ठाँउमा राखेर उपचार गर्नुपर्छ ?
कुष्ठरोग लागेको विरामीलाई कुनै विशेष क्लिनिक वा अस्पतालमा उपचार गर्नु पर्छ भन्ने हुंदैन । आफ्नै घरमा बसेर कुष्ठरोगको बहु–औषधी उपचार विधिबाट उपचार गर्न सकिन्छ ।
११। कुष्ठरोग लागेपछि औषधी जीवनभर खानुपर्छ ?
पर्दैन । पउसी ब्यासिलरी विरामीले ६ महिना र मल्टी ब्यासिलरी विरामीले १२ महिना औषधी खाए पछि कुष्ठरोग निको हुन्छ ।
१२। के कुष्ठरोग निको हुन्छ ?
बहुऔषधी उपचार पद्धतिबाट यो रोग निको हुन्छ । यस पद्धतिमा तीनवटा औषधी संयुक्त रुपमा खुवाइन्छ । यस औषधीको सेवनले किटाणुलाई नष्ट गरी रोग निको पार्छ । सुरुको अवस्थामा नै उपचार गरेमा अपांगता÷असमर्थता हुदैंन ।
१३। कुष्ठरोग वंशानुगत वा कुष्ठरोग भएका बुबा–आमाको सन्तानलाई पनि हुन्छ ?
कुष्ठरोग वंषाणुगत रोग होइन । यो रोग उपचार नगरेको विरामीसंग धेरै समय संगै बस्दा मुख्यतः स्वास प्रस्वासबाट सर्न सक्छ ।
१४। कुन उमेरका बालवालिकाहरुमा यो रोगको चिन्ह तथा लक्षणहरु देखा पर्न सक्छन् ?
प्राय १० देखि १४ वर्षका उमेर समुहका बालबालिकाहरुमा यो रोगको चिन्ह तथा लक्षण देखा पर्न सक्छन् ।
१५। कुष्ठरोग लागेको विरामीसँग एउटै घर/कोठामा बस्न सकिन्छ ?
कुष्ठरोग एक प्रकारको कम सर्ने रोग हो । बहु–औषधी उपचार विधि शुरु गर्ने वित्तिकै ९९ प्रतिशत भन्दा बढि किटाणुहरु निष्क्रिय हुन्छन् । त्यस कारण कुष्ठरोग लागेर उपचार शुरु गरेको विरामीसँग एउटै घर÷कोठामा बस्न सकिन्छ ।
१६। कुष्ठरोग लागेका विरामीले सामाजिक क्रियाकलापमा भाग लिन सक्छन् ?
अरु व्यक्ति सरह कुष्ठरोग लागेका विरामी पनि समाजको हरेक क्रियाकलापमा सहभागी हुन सक्छन् ।
१७। कुष्ठरोग लागेको विरामीसंग घरायसी सामानहरु जस्तै चम्चा, थाल, शौचालय, खाट, भान्छा, आदि उपयोग गर्न सकिन्छ ?
कुष्ठरोग घरायसी सामानहरुबाट नसर्ने भएकाले घरायसी उपभोग्य वस्तुहरु समान रुपमा उपभोग गर्न सकिन्छ ।
१८। कुष्ठरोग प्रभावित व्यक्तिले विवाह गर्न मिल्छ कि मिल्दैन ?
कुष्ठरोग प्रभावित व्यक्तिले अरु व्यक्ति सरह जीवन यापन गर्न, विवाह गर्न र बच्चा जन्माउन सक्छन् ।
१९। कुष्ठरोग प्रभावित व्यक्तिले रोजगार पाउँछन् ?
कुष्ठरोग प्रभावित व्यक्ति अन्य सामान्य नागरिक सरह रोजगारबाट बन्चित हुनु हुंदैन ।
२०। परिवारमा केही एक जनामा कुष्ठरोग देखियो भने अरु सदस्यलाई जांच गराउनु पर्छ ?
कुष्ठरोग सर्न सक्ने तर कम सर्ने रोग हो । कुष्ठरोेग लागेको विरामीको परिवारको अन्य सदस्यलाई सरेको हुन सक्ने सम्भावना भएकोले उक्त व्यक्तिको परिवार तथा संगै वस्ने अरु सदस्यलाई पनि कुष्ठरोगको जाँच गराउनु पर्दछ ।
२१। कुष्ठरोगको औषधी शुरु गरे पछि शरीर किन रातो÷खैरो हुन्छ ?
मल्टी ब्यासिलरी विरामीले खाने रातो पत्तामा क्लोफाजिमिन नामक औषधीले गर्दा शरीरको छाला रातो हुन्छ । औषधी पुरा गरेको ६–१२ महिना पछि त्यो रातोपन हराई पहिलेको जस्तै हुन्छ ।
२२। कुष्ठरोगबाट हुने अपाङ्गताबाट कसरी बच्न सकिन्छ ?
कुष्ठरोग शुरुमै पत्ता लगाई तुरुन्त बहु–औषधी उपचार विधीबाट उपचार गरेर कुष्ठरोगबाट हुने अपा¨ताबाट बच्न सकिन्छ ।
२३। बहु–औषधी उपचार विधिमा हुने औषधीले के–के असर पु¥याउँदछ ?
बहु–औषधी उपचार विधिका प्राय जसो औषधी असर नगर्ने खालका छन् । कुनै–कुनै औषधीले सामान्य असर गर्न सक्छन् । गम्भिर असर पु¥याउने सम्भावना न्यून छ ।
सामान्य असरहरुः
– रिफाम्पीसीन ः रातो पिसाव
– ड्याप्सोन ः शरीरमा रगतको कमी
– क्लोफाजिमिन ः शरीरको छाला खैरो
२४। बहु–औषधी उपचार विधिका औषधीले एलर्जी वा गम्भिर असर ग¥यो भने के गर्ने ?
यदि बहु–औषधी उपचार विधिका औषधीले एलर्जी ग¥यो भने औषधी खान बन्द गरी विशेषज्ञ चिकित्सकसंग परामर्श गरी अरु औषधी उपचार गर्न सकिन्छ ।
ड्याप्सोन एलर्जी ः औषधी खाएको तिन महिना भित्र छालामा दादुरा जस्तो विविरा देखा परेमा, ज्वरो आएमा वा जन्डिस भएमा तुरन्तै औषधी सेवन बन्द गरी नजिकैको स्वास्थ्य केन्द्रमा जचाउँनुपर्छ ।
२५। बहु–औषधी उपचार विधि गर्भवती÷स्तनपान गराउने महिलालाई दिन सकिन्छ ?
सकिन्छ । बहु–औषधी उपचारले गर्भवती÷स्तनपान गराउने महिलालाई केही हानी पु¥याउँदैन ।
२६। मैले कुष्ठरोग लागेको व्यक्तिलाई छोएँ । अब मैले कुष्ठरोगको औषधी शुरु गर्नु पर्छ ?
छुंदैमा कुष्ठरोग सर्ने सम्भावना अत्यन्त न्यून रहेकोले कुष्ठरोग लागेको व्यक्तिलाई छुदैमा कुष्ठरोगको औषधी शुरु गर्नु पर्दैन ।
२७। कुष्ठरोगमा प्रतिक्रिया भनेको के हो ?
कुष्ठरोग लागेको व्यक्तिलाई एक्कासी छालामा रातोपना, सुन्निने, दुख्ने, चिलाउने दाग, नयाँ दाग देखा परेमा, स्नायु सुन्निएमा, दुखेमा औषधीबाट प्रतिक्रिया भएको शंका गर्नु पर्छ । प्रतिक्रिया बहु–औषधी विधि शुरु गर्नु भन्दा पहिले, औषधी सेवन गरेको बखत या औषधी उपचार सकिए पछि, जहिले पनि देखा पर्न सक्छ ।
२८। कुष्ठरोगको औषधी कहाँ पाइन्छ ?
सरकारी अस्पताल, प्रेषण केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कुष्ठरोगको औषधी निःशुल्क पाइन्छ ।
२९। कुष्ठरोगका विरामी तथा प्रभावितहरुले अपनाउनु पर्ने सावधानीहरु के–के छन् ?
– छुँदा थाहा नहुने हातलाई चोटपटक तथा तातोबाट बचाउने ।
– गोडामा छुँदा थाहा नहुने विरामीले नरम तथा सुरक्षित जुत्ता लगाउने ।
– हातखुट्टा सुख्खा भएमा पानीमा भिजाएर कडा छाला खुर्कने र चिल्लो लगाई छालालाई नरम बनाउने ।
– औषधीको सेवन गर्दा साधारण या गम्भिर असर देखा परेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने ।
३०। कुष्ठरोग नियन्त्रण कार्यक्रमको दृष्टिकोण के हो ?
कुनै नयाँ कुष्ठरोग लागेको विरामी नभएको र हाल भएका कुष्ठ प्रभावितहरुको सबै आवश्यकता पुरा भएको कुष्ठरोग मुक्त समाज नै कुष्ठरोग नियन्त्रण कार्यक्रमको दृष्टिकोण हो ।
३१। कुष्ठरोग नियन्त्रण कार्यक्रमको लक्ष्य के हो ?
कुष्ठरोग मुक्त नेपाल बनाउने ।
३२। कुष्ठरोग निवारण भनेको के हो ?
विश्व स्वास्थ्य संगठनले सन् २००० सम्ममा विश्वव्यापी रुपमा कुष्ठरोग निवारण गरी जनस्वास्थ्य समस्याबाट हटाउने निर्णय गरेको थियो । निवारण भन्नाले प्रति दश हजार जनसंख्यामा १ भन्दा कम कुष्ठरोगको विरामी संख्या भनेर विश्व स्वास्थ्य संगठनले परिभाषा गरेको छ । कहिले काही निवारण भन्नाले कुष्ठरोग उन्मुलन भन्ने बुझेको पाइन्छ । तर उन्मुलन भन्नाले संसारबाट कुष्ठरोगको किटाणु नै निर्मुल हुनु भन्ने बुझ्नुपर्दछ ।
नेपालले सन् २००९ को तथ्यांकको आधारमा सो उपलब्धि हासिल ग¥यो र सो को घोषणा सन् २०१० जनवरी १९ मा गरेको थियो ।
३३। मलाई कुष्ठरोग लाग्यो कि भन्ने शंका छ, म के गरु ?
नजिकको स्वास्थ्य केन्द्रमा गएर परिक्षण् गरी परामर्श लिनु पर्छ ।
( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा )
Copyright © 2024 Bikash Media Pvt. Ltd.
म अहिले कुस्ठरोगको औषधि खाईरहेकी छु। मेरो परिवारमा पनि पछि समस्या आउन सक्छ त्यसका लागि औसधि अहिले सम्म पाउन सकेको छैन ।पाए देखि आभारी हुने थिए