बचत गर्ने ८ तरिकाः यसपाली सेयर किन्ने, पाँच वर्षमा गाडी किन्ने, ५० नकट्दै घर बनाउँने

  २०७६ माघ १८ गते १२:४८     विकासन्युज

काठमाडौं । जीवनमा कमाउन जति जरुरी छ, उत्तिनै जरुरी छ जोगाउन पनि । अपेक्षाभन्दा कम पारिश्रमिक, लगानीले दिन नसकेको आकर्षक मुनाफा, अत्यावश्यक सामाग्रीहरुको चुलिँदो भाउ, मानिसको बढ्दो चाहना र आकांक्षा तथा हरेक दिन तपाईँको काँधमा थपिइरहेको नयाँ-नयाँ बोझ एवं जिम्मेवारी, यी सबै पक्षलाई ध्यान दिँदा लाग्छ बचत असम्भव छ । तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने बचत गर्नुपर्ने भनेकै यी र यस्तै कठिनाइको बीच नै हो, ताकि आज जुन संकटबाट तपाईँ गुज्रिरहनुभएको छ, त्यो भविष्यमा नदोहोरियोस् । यसकारण बचत बाध्यता र मानसिकता दुबै हो । बचत गर्ने बानीले तपाईँ भविष्यप्रति कति गम्भिर हुनुहुन्छ वा आफ्नो जीवनलाई कुन दिशातर्फ अग्रसर गराईरहनुभएको भन्ने पनि दर्साउँछ । तसर्थ, हामीले तपाईँहरुका लागि बचत गर्ने बानीको विकास गर्न सघाउने केहि सरल उपायहरु लिएर आएका छाैं।

१. कर्जाबाट मुक्ति

सबैभन्दा पहिले कर्जा वा अन्य कुनै पनि किसिमको आर्थिक बोझबाट मुक्त नभइ तपाईँले बचत गर्न थाल्न सक्नुहुन्न । ब्याजमा लिएको कर्जाले त अझ तपाईँको कमाई र खर्च गर्ने तालमेललाई नै असन्तुलित बनाइदिन्छ । हरेक महिनाको अन्त्यमा तपाईँ आफ्नो कमाईको कति हिस्सा कहाँ र कसलाई तिर्ने भन्नेमै अन्योलमा रहनुपर्दछ । तसर्थ, तपाईँले आफ्नो कमाईको आधारमा सकेसम्म चाँडो कसरी कर्जाबाट मुक्त हुने भन्नेतर्फ योजना बनाई सोको कार्यान्वयनमा लागिहल्न जरुरी छ ।

२. आकस्मिक कोषको स्थापना

हामी सबैलाई थाहा छ, जीवन सँधैभरी हामीले चाहेको वा सोचेको तरिकाले चल्दैन । यस अनिश्चित जीवनमा भविष्यमा आइपर्ने भैपरी आउने जस्तोसुकै अवस्थाको लागि आफू तयार रहनु नै बुद्धिमानी हो । एक पटक कल्पना गर्नुस् त, कुनै एक रात तपाईँको परिवारको कोहि सदस्यको स्वास्थ्यमा समस्या आयो र उहाँलाई तत्कालै उपचारको लागि लानका लागि तपाईँसँग आवश्यक पैसा छैन भने तपाईँ के गर्नुहुन्छ ? हो यी र यस्तै प्रतिकुल परिस्थितसँग सहज रुपमा सामना गर्नसक्ने उपाय भनेको एक आकष्मिक कोषको स्थापना हो जसमा तपाईँले आफ्नो आयको केहि प्रतिशत रकम हरेक हप्ता वा महिना छुट्याउन सक्नुहुन्छ ।

३. आर्थिक योजनाको विकास

प्रत्येक महिनाको सुरुमै आफू र आफ्नो परिवारको आवश्यकता केके हुन् र सो आवश्यकता पूर्तिका लागि कति पैसाको आवश्यकता पर्छ र सो श्रोत कहाँबाट कसरी जुटाउने भनेर योजना बनाउँदा तपाईँ आर्थिक रुपले सहज अवस्थामा रहनु हुनेछ । महिनाको अन्त्यमा तपाईँले कहाँ, केका लागि, कति खर्च गर्नुभयो भनेर लेखाजोखा गर्नुभयो भने तपाईँले सहजै कति पैसा आवश्यक बस्तुका लागि, कति पैसा अनावश्यक चिजका लागि तथा कति पैसा फजुलमा खर्च गर्नुभयो भनेर पत्ता लगाउन सक्नुहुन्छ । र, यसपश्चात तपाईँले अनावश्यक कार्य वा क्षेत्रमा गर्नुभएको खर्च नियन्त्रण गर्ने बानीको विकास गर्न सक्नुहुन्छ ।

४. मनको नियन्त्रण

त्यसो त आफ्नो परिवार एवं साथीभाईसँग बसेर कफि वा बियर पिउन, बजारमा आएका राम्रा एवं ब्राण्डेड कपडा लगाउन अथवा मन मिल्ने मान्छेसँग कतै पर घुम्न जान कसलाई रहर नलाग्ला ? तर यहि रहर अनायासै जब बानी बनिदिन्छ, त्यसपछि तपाईँले बचत गर्ने त परको कुरा आफ्नो कमाईले जीवन चलाउन पनि मुश्किल पर्न थाल्छ । तसर्थ, मात्रै त्यस्तो रहर पाल्नुस्, जुन पूरा गर्न तपाईँ सक्षम हुनुहुन्छ । त्यसैले त हाम्रो लोककथन नै छ नि घाँटी हेरी हाड निल्नुपर्छ भनेर । जब आफ्नो हैसियतअनुसारको रहर पाल्नुहुन्छ तब तपाईँको खर्च नियन्त्रण हुनथाल्छ, जसलाई तपाईँले भविष्यको लागि साँचेर राख्न सक्नुहुन्छ ।

५. लक्ष्य तोक्नुस्

लक्ष्य तोक्नुहोस्, आफैलाई चुनौती दिनुहोस् र सो चुनौती पूरा गर्नतर्फ अग्रसर रहनुहोस् । यसले तपाईँलाई अगाडी बढ्न र जीवनलाई अर्थपूर्ण बनाउन पनि सहयोग गर्दछ । आफूसँग भएको अतिरिक्त रकमको बचत गर्दै सो जम्मा भएको पैसाले म यति समयमा यो काम गर्छु भनेर उदेश्य लिनुहोस्, जस्तो कि अबको पाँच वर्षमा म सेकेण्ड ह्याण्ड नै भएपनि गाडी किन्छु, ४९ वर्षको उमेरसम्म चार कोठाको एक तले घर बनाउँछु, अथवा अर्को वर्षसम्म यति कित्ता सेयर किन्छु लगायत ।

६. अतिरिक्त आयको स्रोतको खोजी

मानाैं तपाईँको महिनाभरीको कमाइ तपाईँको घर खर्च धान्न वा परिवार चलाउनमात्र सीमित छ जसको कारण तपाईँले बचत गर्न सकिरहनुभएको छैन । यस्तो अवस्थामा आफ्नो बिहान वा साँझको समयलाई सदुपयोग गर्दै तपाईँले अतिरिक्त आयको स्रोतको खोजी गर्न सक्नुहुन्छ । करेसाबारीमा तरकारी लगाएर एकातिर तपाईँले छरछिमेकमा बेच्न सक्नुहुन्छ वा सोही तरकारीको उपभोग गरेर तपाईँले तरकारी खरिद गर्नमा भइरहेको खर्चलाई नियन्त्रण गरी थोरै भएपनि बचत गर्नसक्नुहुन्छ । धेरै थकान वा तनाव नहुने अथवा तपाईँको रुचिको जुनसुकै काम गरेर तपाईँले अतिरिक्त आय गरी सो रकमलाई बचत गर्न सक्नुहुन्छ ।

७. आवश्यक रकमभन्दा बढी पैसा नबोक्ने

यदि तपाईँमा खर्च नियन्त्रण गर्न सक्ने क्षमता छैन भने खल्तिमा त्यतिमात्र पैसा बोक्नुहोस् जति तपाईँलाई आवश्यक छ । मानौं कार्यालय गएर घर फर्कँदासम्म तपाईँलाई बसभाडा वा खाजा खर्च जम्मा २०० रुपैँया भए पुग्छ भने त्यतिमात्र नगद बोकेर निक्सनुस् । त्यसैगरी घरखर्च चलाउनको लागि तपाईँलाई महिनाभरी जती रकमको जरुरत पर्छ, त्यतिमात्रै घरमा राख्नुस् । बाँकी पैसा बैंक वा सहकारीमा खाता खोलेर राख्नुस् । आवश्यकताभन्दा बढी पैसा साथमा हुँदा तपाईँलाई आवश्यकताभन्दा बढी खर्च गर्ने हिम्मत आउनसक्छ ।

८. स्रोतको अधिकतम प्रयोग

तपाईँले सकियो भनेर फ्याँक्नु भएको मन्जनको बट्टामा कतै अर्को तीनपटक दाँत मोल्न पुग्ने मन्जन त बाँकी छैन ? सकिन लागेको साबुनको टुक्राटाक्री जोड्दा कतै सिङ्घै साबुन पो बन्छ कि ? हो हेर्दा साना र सामान्य लाग्छन् । तर यस्तै सानो सानो कुरामा ध्यान दिँदा पनि तपाईँले ठूलो रकम बचत गरिरहनुभएको हुन्छ । अर्को एक वर्ष राम्ररी चल्न सक्ने तपाईँको मोटरसाइकल कतै बेच्न त खोजीरहनुभएको छैन ? स्रोतको अधिकतम प्रयोग गर्ने बानीले तपाईँको खर्चको ठूलो हिस्सालाई बचाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.