२०७६ फागुन २५ गते १५:०२ विकासन्युज
मुम्बई । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेकाे हाे ।
जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेका थिए । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो ।
येस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ । अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो । भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ ।
मानिसहरु येस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए । रिजर्भ बैंकको उद्दार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त “येस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ ।
एसबिआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए । यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८ सयभन्दा बढी एटिएम छन् । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.