सेयर बजार बन्द गर्न लगानीकर्ताको माग, बोर्ड भन्छः छलफल गर्दैछौं

  २०७६ चैत ६ गते १३:४८     विकासन्युज

काठमाडौं । लगानीकर्ताले धितोपत्र बजार बन्द गर्न माग गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासको कारण अर्थतन्त्रमा तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक असरका कारण बजार बन्द गर्नुपर्ने लगानीकर्ताको माग छ ।

लगानीकर्ताको माग अनुसार बजार बन्द गर्नको लागि छलफल अघि बढाइएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । धितोपत्र क्षेत्रको नियामक निकाय बोर्ड भएपनि सर्वसाधारणको लगानी रहेको सम्पत्ति भोगचलनमै असर पर्ने गरी बजार बन्दको निर्णय गर्न हुने कि नहुने भन्ने द्विविधामा बोर्ड छ ।

कोरोना संक्रमणको सन्त्रासका कारण बजार बन्द गर्नुपर्ने माग आएपनि बन्दको निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै यकिनसाथ भन्न नसकिने अध्यक्ष ढुंगानाले बताए ।

‘कोरोना संक्रमण सन्त्रासको कारण बजार बन्द गर्नुपर्ने माग आएको छ, सन्त्रासको वातावरणमा बजार बन्द गर्नु उचित नै हुन्छ होला, तर बजार बन्द गर्दा लाखौं सर्वसाधारणको सम्पत्ति भोगचलनमा समस्या आउने भएकोले संविधान प्रदत्त सम्पत्ति माथिको हक कुण्ठित हुने भएकोले कसरी अघि बढ्ने भनेर सरोकारवालासँग छलफल गर्दैछौं,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।

बोर्डले निर्णय गरेर बजार धेरै दिन बन्द गर्न सक्दैन । बोर्डलाई बढीमा ५ दिन मात्रै बजार बन्द गर्न पाउने अधिकार छ । तर, सोभन्दा बढी समय बजार बन्द गर्नुपर्ने अवस्थामा सरकारको निर्णय चाहिन्छ । यसैकारण बोर्डले अर्थमन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गर्ने नगर्ने निर्णय गर्न समय बाँकी रहेको बताएका छन् । साताको अन्तिम दिन आज बजार खुलिसकेको र अब आइतबार मात्रै बजार खुल्ने भएकोले निर्णय गर्ने समय अझै २ दिन बाँकी भएकोले परिस्थितिको आकलन गरी उचित निर्णय लिन सकिने साउदको भनाइ छ ।

यसअघि २०७२ को शक्तिशाली भुकम्पको बेलामा २२ दिनसम्म बजार बन्द भएको थियो । सो समयमा आफूहरुको सम्पत्ति भोगचलन (खरिद विक्री) गर्न नपाएको भन्दै लगानीकर्ताले आलोचना पनि गरेका थिए ।

बजार बन्द भएको अवस्थामा सेयर किन्न वा बेच्न पाइदैन । बजार बन्द भएको बेलामा कसैलाई आफूसँग भएको सेयर विक्री गरेर नगद बनाउनु परेमा समस्या हुनेछ ।

तर, सन्त्रासको समयमा लगानीकर्ता आत्तिएर सस्तोमा बेच्न खोज्दा बजार क्र्यास हुने सम्भावना पनि रहन्छ । यसैकारण कतिपय अवस्थामा सरकारले निर्णय गरेर बजार बन्द गर्ने गरेका उदाहरण पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.