२०७६ सालकाे सेयर बजारलाई फर्केर हेर्दाः के भन्छन् नेप्से र लगानीकर्ता ?

  २०७७ वैशाख २ गते ११:१३     मञ्जरी पौडेल

काठमाडौं । २०७६ साल नेपालको सेयर बजारमा निक्कै उतारचढाव रह्यो । यसबीचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक न्युनतम ११०० बिन्दुदेखि अधिकतम १६३२ बिन्दुमा पुग्यो ।

वर्षको अघिल्ला दिनमा परिसूचकमा गिरावट देखिएता पनि पुस मसान्तपछि भने सुधारको बाटो तर्फ लागेको थियो ।

सो अवधिमा कारोबार रकमले ऐतिहासिक रेकर्ड राख्यो । बजारमा एकैदिन करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

एक वर्षको अवधिमा समूह सूचकमा पनि उतारचढाव नै देखिएको छ । १४१४ अंकमा पुगेको बैंकिङ्ग समूह घटेर १०९३ मा झरेको छ । २१६६ अंकमा पुगेको होटल समूह १५६३ अंकमा झरेको छ । जीवन बीमा ६७९७, निर्जीवन बीमा ५२७१, फाइनान्स ६३६, माइक्रोफाइनान्स २०५०, विकास बैंक १७११ अंकमा पुगेको छन् । त्यस्तै, उत्पादनमूलक र हाइड्रो समूह क्रमशः २४५९ र ९३३ अंकमा छन् ।

२०७६ सालमा चैत ९ गते आइतबार अन्तिम कारोबार भएको थियो । अनलाइनबाट मात्रै सेयर किनबेच भएको बजारमा नेप्से परिसूचक १८.२० अंकले घटेर १२५१.४५ अंकमा झरेको छ ।

सो दिन कूल १२३ कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दिनभरमा ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर किनबेच भएको थियो ।

कारोबार रकममा उछाल

२०७६ फागुन १८ गते सेयर कारोबार रकमले नयाँ रेकर्ड रचेको थियो । सो दिनको बजारमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यो वर्षभन्दा अघि २०७५ साल फागुन २ गतेको सेयर कारोबारले इतिहास रचेको थियो । सो दिन २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यसयता भने सोभन्दा बढी कारोबार भएको थिएन । फागुन ५ गतेको बजारमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर नयाँ इतिहास रचेको थियो ।

त्यसपछि करिब १५ दिनको कारोबारमा भने निरन्तर जसो उच्च कारोबार भएको थियो । अन्ततः २०७६ फागुन १८ गतेको कारोबार रकम हालसम्मकै लागि उच्च बनेको छ ।

पुँजीगत लाभकर घट्यो

धितोपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने लाभकरको दरलाई प्राकृतिक व्यक्तिका हकमा ७.५ बाट ५ प्रतिशतमा झरेको छ । गत वर्षको बजेटले यो कर ५ प्रतिशतबाट बढाएर ७.५ पुर्याएको थियो । संस्थागत लगानीका हकमा भने यो कर १० प्रतिशत रहेको छ ।

अनलाइन प्रणालीमा सुधार

गत वर्षको तुलनामा यो वर्ष प्रायजसो सबै प्रकारका कारोबारहरु विद्युतीय कारोबार प्रणालीमार्फत भएको छ । नेपाल क्लियरिङ्ग हाउसमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाईन सिष्टम इन्टिग्रेट भएको छ । यस प्रणालीले कारोबारलाई थप सहज, सरल, सुरक्षित र पारदर्शी बनाउँदै गएको छ ।

ब्रोकर लाइसेन्सको लागि आवेदन खुला

नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि कार्यविधि सार्वजनिक गरेर आवदेन खुला गरेको थियो । जसअनुसार एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् ।

त्यस्तै, अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् ।

 नेप्सेकाे नजरमा उन्नतिकाे वर्ष 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिङ साउद २०७६ साल पुँजी बजारको लागि ठूलो उन्नति प्रगतिको साल बनेको बताउँछन् । कारोबार उच्च हुनु, पुँजीगत लाभकर घट्नु, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइन्सेन्स दिन आवह्वान गरिनु, सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाइन सिष्टिममा आवद्ध भएका तथा विदेशमा बसेका नेपालीले पनि उतैबाट सेयर खरिद बिक्री गर्न पाउने व्यवस्थाका कारण ठूला प्रगतिको साल बनेको उनको भनाइ छ ।

‘कारोबार रकमले नयाँ इतिहास रचेको छ । वर्षको शुरु शुरुमा नेप्से परिसूचक ओरालो लागेपनि पछिल्ला दिनमा उकालो लाग्ने क्रममा रहेको थियो । समग्रमा भन्नुपर्दा पुँजी बजारलाई २०७६ वर्ष उपलब्धीमूलक नै थियो । तर यहि अन्तिम अवस्थामा विश्वभर फैलिएको कोरोना संक्रमणको प्रकोपले गर्दा त्यसको प्रभाव बजारमा पर्यो । आशा छ २०७७ सालमा बजारमा थप उछाल आउने छ,’ उनले भने ।

‘डिस्ट्रक्सन इज फर द कन्स्ट्रक्स’ भन्ने उखानलाई प्रष्ट पार्दै उनले भने– ‘अवन्नति हुँनु भनेकै उन्नतिको बाटोतिर अग्रसर हुनका लागि हो । सकारात्मक बनौं २०७७ साल कोरोनाको माहामारी सकिसकेपछि धेरै राम्रो अर्थात उपलब्धी हुन्छ ।’

लगानीकर्तालाई त्यति राम्रो लागेन

समग्रमा २०७६ साल नेप्सेलाई उपलब्धीमूलक लाग्यो । तर लगानीकर्ताको नजरमा भने २०७६ साल पुँजी बजार त्यति उपलब्धीमूलक नभएको बुझिन्छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पुँजी बजारको लागि २०७६ साल मिश्रित भएको बताउँछन् ।

‘कारोबार रकमले रेकर्ड राख्यो, नेप्से परिसूचक करिब साढे १६ सयको हाराहारीमा पुग्यो । यस्तै, राम्रो राम्रै भइरहेको बजारमा करिब डेढ महिनादेखि कोरोना भाइरसले भने केही प्रभाव पारेको छ, विश्वव्यापी धनजनको नास भइरहेको जसले नेपालमा पनि आर्थिक मन्दी ल्याउन सक्ने सम्भावना बढी छ,’ रौनियारले भने ।

कारोनाको प्रकोप हटेपछि खुलेको बजार केही समय अलमलमा पर्ने उनको अनुमान छ । तर त्यसले केहि समयमै पिकअप लिने उनी बताउँछन् । त्यसैले अहिलै आत्तिनु पर्ने अवस्था नरहेको, गाह्रो साह्रो भएको बेला दृढशक्ति, इच्छाशक्ति, मनोबल बलियो बनाउनु पर्ने उनी बताउँछन् ।

२०७७ साल पैसा हुने तथा लगानी गर्न इच्छुकहरुलाई पनि स्वार्णिम अवसर हुने उनको भनाइ छ ।

‘नयाँ वर्ष पुँजी बजारको लागि नयाँ शक्ति संसार हुने छ । नियामक निकायहरुको प्रमुख पदमा नयाँ व्यक्ति अर्थात विज्ञहरु नियुक्त हुनुभएको छ । उहाँहरुले पुँजी बजारको कमी कमजोरीहरु पहिल्याउँदै यसको समाधान र सुधारका उपायहरु कार्यान्वयनमा ल्याउनु हुनेछ । बोर्डका अध्यक्षले पनि अहिलेको अनलाइन कारोबारमा देखिएका समस्यालाई न्युनीकरण गरी सबै कारोबार पूर्ण रुपमा अनलाइनबाटै गराउन आग्रह गरिरहनु भएको छ । त्यसैले पनि हामी आशावादी छौं,’ रौनियारले भने ।

उनले पुजी बजार विकासको लागि सरोकारवाला निकायहरु मिलेर ५ वर्षे योजना ल्याउनु पर्ने मार्जिनल कलको सीमा बढाउने, सबै कामहरु एकै ठाउँबाट हुने गरी एकद्धार प्रणाली लागू गर्ने, दीर्घकालिन लगानी गर्नेलाई त्यही अनुसारको सुविधा दिने जस्ता नीतिगत निर्णय आवश्यक रहेको पनि बताए ।

सेयर बजारमा लगानीकर्ताले जुन रुपमा सुधार खोजेका थिए त्यो रुपमा सुधार नभएको नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् । समग्रमा भन्नु पर्दा नियामक निकायले गरेर बजार बढ्यो भन्ने ठाउँ नरहेको उनको विश्लेषण छ ।

‘बजार घट्ने बढ्ने आफ्नो ठाउँमा छ । वर्षको शुरुमा ओरालो लागे पनि पुस मसान्तदेखि बजार बढ्न थालेको थियो, कारोबार रकमले साथ दिएको थियो । त्यसले लगानीकर्तालाई बजारप्रति आशा जगाएको थियो । तर पनि नियामक निकायले स्पष्ट रुपमा बजारलाई नहेरिदिँदा लगानीकर्ताले धेरै दुःख पाएको अवस्था रह्यो,’ उनले भनिन् ।

लगानीकर्ताका केही मागहरु कार्यान्वयन भएपनि बजार संयन्त्रहरुमा अपेक्षा अनुसारको सुधार हुन नसकेको उनको बुझाइ छ । अध्यक्ष पोखरेल सेयर बजारमा अझै पनि समस्या रहेको बताउँछिन् । बजारमा विभिन्न तरिकाको चलखेल भइरहेको भन्दै उनले बजार आफै पूर्ण रुपले चल्नु पर्ने भएपनि नेपालको पुँजी बजार स्वतन्त्र रुपमा नचलेको कारण साना लगानीकर्ता मारमा परेका बताइन् ।

२०७७ सालमा सरकार तथा नियामक निकायले हालसम्म स्पष्ट रुपमा नहेरिएको पुँजी बजार अब स्पष्ट रुपमा हेरिदिने, बजार सुधारको लागि हुनु पर्ने कामहरु तत्काल हुने र छिट्टै कार्यान्वयनमा ल्याउन सकिने वातावरण बन्ने आशा उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.