२०७७ वैशाख ८ गते १३:४५ गोपाल खनाल
विश्व समुदायलाई आतङ्कित पार्न बेला बेलामा अनेक सङ्कटहरु देखिने गरेका छन् । जीवन गति जति सहज ढङ्गले चलाउनका निम्ति मानिसले प्रयत्न गरिरहेको हुन्छ ठिक त्यसका विपरीत मानव समुदायलाई आतङ्कित पार्न अनेक महामारीहरु आइलाग्छन् । कहिले प्राकृतिक त कहिले मानव सिर्जित समस्याहरु महामारीका रुपमा देखिने गरेका छन् । समय कालखण्डमा देखिएका अनेकौ रोगका महामारी मध्ये कोरोना भाइरस पनि एक हो । “ ‘कोभिड–१९’ एउटा सङ्क्रमित र सरुवा रोग हो जुन कोरोना भाइरस भन्ने नयाँ जीवाणुका कारणले लाग्दछ” भनेर विश्व स्वास्थ्य सङ्गठनले यसलाई परिभाषित गरेको छ । डब्लु.एच.ओ.ले ‘कोभिड–१९’ नाम दिएको यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा समेत गरिसकिएको छ । जब कुनै पनि समस्याले विकराल रुप लिन्छ त्यो नै महामारी हो । विश्वलाई आतङ्कित बनाएको नोभेल कोरोना भाइरसले पनि यतिबेला महामारीको रुप लिएको छ जसले मानव जातिको भविष्यलाई अन्यौलग्रस्त र त्रस्त बनाएको छ ।
चीनको उहानबाट सन् २०१९ डिसेम्बर अन्त्यमा सर्वप्रथम देखा परेको भाइरस आज विश्वव्यापी महामारीका रूपमा हावाको गतिमा विश्वका २०९ मुलुकका लाखौँ मानिस सङ्क्रमित भएका छन् भने हजारौँले ज्यान गुमाइसकेका छन् । युरोप र अमेरिकामा भयावह रूपमा सङ्क्रमण फैलिएको छ । उच्च ज्वरो, सुख्खा खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिनु यस रोगका लक्षणहरु हुन् । मानव बीचमा सीमित तबरले सर्ने सम्भावना रहेको अनुमान गरिएको यो रोगको हालसम्म कुनै औषधि पत्ता लागि नसकेको अवस्थामा ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहनु वा आफूलाई उच्च ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढा रहनुका साथै मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई जथाभावि नफाली बिर्काे भएको फोहोर फाल्ने भाँडोमा फाल्ने अनि साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्ने गर्नुपर्दछ । भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने साथै हात मिलाउनुको सट्टा नमस्कार गर्नु समेत उपयुक्त मानिएको छ । सामाजिक दुरी कायम गरेर वा एकान्तबास बसेर पनि यसको सङ्क्रमणबाट बच्न सकिन्छ । सामान्य रुघाखोकीदेखि गम्भीर श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ । नोभल कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार भने हुन्छ । लक्षणका आधारमा बिरामीको उपचार हुने हुनाले आफूलाई सङ्क्रमणको शङका लागेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु बुद्धिमानी हुन्छ ।
मानब जीवनलाई चुनौति दिने मार्गबुर्ग, इबोला, रेविज, एचआइभी, स्मलपक्स, हान्ता, इन्फ्लुएन्जा, डिङ्गो, रोटा, सार्सक्रोनो, सार्स क्रोनो–२ र नोबेल क्रोनो भाइरसहरुको संक्रमण बेलाबेलामा संसारव्यापी रुपमा फैलिने गरेको छ । कुनै समस्या पूर्व स्वार्थमा लिप्त भई मस्त रहने र सङ्कट निम्तिएपछि हतास र उदास बन्ने मानवीय चरित्र देखिन्छ । समस्याका पहाडहरु चुलिएपछि मानिस ब्युँतिएको अवस्था हो यो । हुन त भविष्य निश्चित होइन र छैन पनि । तर, यो महामारी बीचको विषम परिस्थितिले हाम्रो भविष्यबारे थप अन्यौल सिर्जना गरेको छ । हरेक समस्याले आफ्नो साथमा ठूलो अवसर पनि लिएर आएको हुन्छ । ओ हेनरीले भने झै हरेक समस्या नै अवसरको अर्को रुप हो । समस्या निन्तिएपछि आत्तिनु र पछुपाउनु भन्दा पहिले नै सचेत बनेर मानवले कदम चाल्ने हो भने कतिपय सङ्कट नै नआउने र कतिलाई सजिलै टार्न सकिने कुरालाई नकार्न सकिँदैन । प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ ।
कोरोना यस्तो व्याधी हो जसले प्रियजनहरुबीच स्नेहमय स्पर्शलाई निषेध मात्र गरेको छैन ममतामय चुम्बनलाई वर्जित गरी ऐक्यबद्धताकारी अङ्कमाललाई मनाही गरेको छ । यसले मानिसलाई लाचार मुद्रामा ‘हात धोऊ, दूरीमा रहू’ भन्ने मन्त्र जप्न विवश तुल्याएको छ । मानिसको निकटता मन नपराउने कोरोना जनको असमायिक काल बनिरहेको छ । मृत्यु प्राकृतिक सत्य हो र पनि मानिसले यसलाई सहजै स्वीकार्न सक्दैन । मृत्यु वा कालको नाम लिने, सुन्ने बित्तिक्कै पनि ऊ तर्सन्छ । मानिस न चाहेर जन्मेको हो न चाहेर नै ऊ मृत्यु वरण गर्दछ । यही सत्यबोध भएपनि मृत्यु मानिसका लागि असहज र अप्रिय विषय हो । मानिस मरेपछि लास जलाएर फर्कदासम्म मानिसले जे जस्ता कुरा सोचिरहेको हुन्छ त्यसपछि ऊ ती सबै कुरा बिर्सेर पुनः ईर्ष्या र अहङ्कारतर्फ नै केन्द्रित हुन पुग्छ । मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ । जमिनको सतहको एक तिहाई भन्दा बढी सम्पूर्ण जीवको साझा बासस्थानमा मानवले बलपूर्वक एकछत्र राज गरेको छ । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ । विषाक्त बायुमण्डलको खतरनाक बिष सोस्ने सर्प, खतरनाक कार्बन र धातुजन्य बिष सोस्ने जङ्गल तथा खतरनाक किटाणु पचाइदिने जङ्गली जनावरहरुको मानिसले बिनास गरिरहेको छ । त्यसपछिको परिणाम भनेको यस्तै यस्तै महामारी र अन्त्यमा आफ्नै प्रजातिको बिनास हो । मानिस यो पृथ्वी सबै पशुपन्छीको साझा घर हो भन्ने भुलेर ‘मै बाँचु मै हाँसुँ’को लयमा केन्द्रित हुन पुगेको पाइन्छ । आफूलाई सानो चोट लागेपनि दुख्ने ऊ अरुको चोट र पीडामा रमाइरहेको कारण नै यी र यस्ता विपत्ति निम्तिएको देखिन्छ । यदि मानिसले यस्ता विपत्तिबाट पाठ सिकेर आफूलाई हिंसाबाट टाढै नराख्ने हो भने भविष्यमा पनि यस्ता महामारी निम्तिइ मानव अस्तित्व नै सङ्कटमा नपर्ला भन्न सकिँदैन ।
प्राणी जगतको चक्रिय प्रणाली नबिगारीकन मान्छेले उन्नति गर्न सक्थ्यो तर मान्छे अति स्वार्थी भयो । उसले सम्पूर्ण प्राणी जगतको स्वार्थलाई त ख्याल गरेन, स्वयम् आफ्नै प्रजातिको स्वार्थलाई पनि ख्याल गरेन । यो धर्तिमा मानव अन्य प्रजाति मध्ये एक हो र उसको अधिकार अन्य प्रजाति सरह मात्र हो भन्ने कुरा मानवले बिर्सदै गएको देखिन्छ ।
विपत्तिमा हो कि झै गर्ने र विपत्ति टरेपछि पुनः मत्त हुने अनि अरुको अस्तित्व नस्वीकार्ने मानवीय प्रवृत्तिकै कारण मानिस अनेक विपत्ति सहन विवश मात्र छैन आफ्ना प्रियजनलाई असमयमै गुमाउन समेत ऊ बाध्य बनेको छ । विपत्ति पनि मानव समुदायमा अनेक रुप लिएर देखापर्ने गरेका छन् । कहिले आँधिहुरी, बाढी पहिरो, भूकम्प जस्ता विपत्ति आइलाग्छन् त कहिले रोगका महामारी उसका लागि चुनौति बनेर देखापर्छ । भूकम्पले घरभित्रका मानिसहरुलाई लखेट्दै बाहिर निकालेर खुला डबलीमा भेट मात्र गराएन तिनका मनमन नजिकिए अनि बाँचेसँगै, मरेसँगै भन्ने भावना तिनका भयाक्रान्त चित्तमा पैदा भयो । तर विशाल हिमाल नाघेर जब कोरोना आतङ्क आइलाग्यो, यसले मानिसहरुलाई लखेट्दै घरभित्र हुल्यो । निरीह मानिस आफ्नै घरमा वा अस्पतालमा थुनियो । नरम थुनाको नाम भयो क्वारेन्टाइन अनि अलि कडा थुनाको नाम भयो आइसोलेसन उर्फ एकान्तवास । भूकम्पले मानिसहरुमाझ समभाव, प्रेम र सहयोगको भावना सञ्चारसँगै निकटताको सिर्जना गरेको भएपनि कोरोनाजन्य प्रकोपले मानिसहरु बिच दूरीको सिर्जना गरेको अवस्था छ । कोरोना कै कारण मानिस मानिसबाटै टाढिनु पर्ने स्थिति पैदा भएको छ तर त्यो दुरी तनको होस् मनको नहोस् ।
कोरोना भाइरस (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमित अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । यसलाई नै कोरोना रोकथामको उत्तम तरिका मानिएको छ ।
कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लागि परेको शक्तिसम्पन्न राष्ट्र समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने काम गरेको छ । लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने सङ्केत समेत देखापरेको विश्लेषण हुन थालेको छ । यसले शस्त्रअस्त्रका बिच शक्तिको होड देखाउने मुलुकका लागि गतिलो पाठ सिकाएको मात्र छैन पद, प्रतिष्ठा र पैसाले सबथोक होइन भन्ने सन्देश प्रवाहमा पनि यसले सहयोग पुर्याएको छ । सुख र सुविधाको पछि लागेर सहर छिरेकालाई पुनः आफ्नै थात थलो फर्काएको छ कोरोनाले । पिढी कुरेर परदेशिएका सन्तानको पर्खाइमा रहेका वृद्ध बाबु आमासँग सन्तानको अकस्मात भेट गराएको छ । आफ्नै गाउँपाखा पखेरा भुलेर,उर्वर भूमि बाँझै राखेर सहरमा हराइरहेकालाई त्यो बाँझो जमिनलाई उर्वर बनाउने मौका प्रदान गरेको छ । टाढिएकालाई नजिक बनाएर सधैँ हतारमा रहने जनलाई परिवारसँग नजिक हुने अवसर अनि आत्मनिर्भरताको पाठ समेत यसले सिकाएको छ । वातावरणीय प्रदूषण न्यूनीकरण भई सुन्दर प्राकृतिक परिदृश्यको नियाल्न पाइएको छ यतिबेला । ‘बशुधैव कुटुम्बकम्’ भन्ने हाम्रो मूल मन्त्रले सार्थकता पाओस् ।
मानिस कतिसम्म स्वार्थी र अहङ्कारी छ भने ऊ अरु पशुप्राणीको प्राण रमाइरमाइ सहजै चुस्न लालायित देखिन्छ । वर्तमान समयमा मानव गतिविधिले पृथ्वीको सतहलाई नर्क बनाउदै लागेको छ ।
पृथ्वीमा रहेका साढे सात अर्ब मानिसलाई बचाउन अहिले संसारभर रहेका राज्य र नागरिकहरुले के गर्न सक्छन् ? त्यसको लागि उनीहरुले गर्दै आएका गल्ति र महाभूलहरुको समीक्षा गर्नु जरुरी हुन्छ । कोरोना जस्ता महामारी लगातार के कारणले आइरहेका छन् ? यो बहसले नै हामीलाई हाम्रा गल्तिहरुबाट बचाउन मद्दत गर्ने छ र मानव प्रजातिको अस्तित्व लम्ब्याउन गहन भूमिका खेल्ने छ । मानव जनसङ्ख्याले पृथ्वीको चक्रिय प्रणाली (इकाेसिस्टम) लाई चुनौति दिंदै आएको छ । जसको परिणाम स्वरूप वर्तमान भूगर्भीय समय क्रममा जीव जगतका अन्य प्रजातिहरूको व्यापक र निरन्तर लोप हुँदै गएको छ किनकि जल र स्थलमा रहेका जीवात्माका वासस्थान हामीले विनाश गर्दै गएका छौँ , दुर्लभ जनावरका प्रजातिहरूको व्यापक रुपमा तस्करी गरेका छौँ , शिकार गरेका छौँ र वातावरण प्रदूषण मार्फत भएको जलवायु परिवर्तनको परिणामले धेरै थरिका जीव प्रजातिहरूको लोप हुने अबस्था आएको छ जसको जिम्मेवार केवल हामी हौँ । वाताबरण विद्हरुको एक अन्वेषणले बताउछ कि औद्योगिक क्रान्ति सुरु भएदेखि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३०५ प्रतिशतसम्म बढेको छ । त्यो स्वयम् मानव स्वास्थ्यका लागि कति घातक छ भन्नु नपर्ला । धर्तिको स्वास्थ्य बिग्रदै गएकोले त्यसले अन्य जीव सहित मानब स्वास्थ्यमा पनि अत्यान्त खतरनाक प्रभाव पार्न थाल्छ । कोरोना जस्ता महामारी पनि अस्वास्थ्य धर्तीका नै उपज हुन् भनेर पुष्टि गर्ने प्रसस्त आधारहरु देखिन्छन् । यस किसिमले हेर्दा अब मानिसले आफू र आफ्ना आचरण सुधार्न ढिला गर्नु हँदैन ।
कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि विश्व राजनीति, विश्व सामाजिक सम्बन्ध र अन्तर्र्रािष्ट्रय सम्बन्धमा नयाँ बहसको बाटो पैदा हुन्छ भन्ने लाग्छ । कोरोनाको संक्रमण हुँदैमा मानिस मरिहाल्ने होइन । त्यसको लागि उपयुक्त सावधानीहरु र उपचारमा संलग्न हुनेहरुले आवश्यक प्रतिरक्षात्मक सामग्रीको प्रयोग गर्दा त्यो सरिहाल्दैन भन्ने कुरा विश्वका विज्ञहरुले बारम्बार भन्दै आइरहेका छन् । तर यो कुरा बुझाउन कमी नै भएजस्तो लाग्छ मलाई । कोरोनाको संक्रमणलाई एकछिन बिर्सेर हेर्ने हो भने, निमोनियाबाट मात्र वर्षमा लाखौँ मान्छे मरिरहेको हुन्छन्, क्यान्सरबाट गत वर्ष करिब १४ लाख मान्छे मरेका थिए, डेंगुबाट लाखौँ मान्छे मर्छन्, मलेरियाबाट वार्षिक ८ लाख मान्छे मर्छन् । अरु त अरु सामान्य रुघाखोकीबाट पनि वर्षेनी लाखौं मानिसहरु विश्वभरिमा मर्ने गर्छन् । ती रोगहरुले मानिसलाई आतङ्कित बनाएको छैन । कोरोनाले निम्त्याएको सन्त्रास डरलाग्दो छ । यसको संक्रमणको विस्तार रकेटको गतिमा छ । अहिलेसम्म यसको खोप–औषधिहरु पत्ता नलागिसकेको हुनाले र आफ्नो रक्षा आफै गर्ने भन्ने कुरामा पनि ध्यान नदिँदा यो अत्यन्तै डरलाग्दो ढङ्गले विश्वभरि नै फैलिन पुग्यो ।
हुन त मानव समुदायले थुप्रै महामारीको सामना गर्दै आएको छ । एक शताब्दी अघि स्पेनिस् फ्लुले करिब पाँच करोड मानिसको ज्यान लिएको थियो । मानव समुदायमा समय समयमा देखा पर्ने यस्ता विपत्तिको कारण केलाएर शान्ति कायम गर्न सबै प्रकारका हिंसामुक्त राष्ट्र निर्माणमा केन्द्रित हुन जरुरी भइसकेको छ । आफ्नो स्वार्थका लागि अरुलाई प्रयोग गर्नुु मुर्खता शिवाय केही हुनै सक्दैन भन्ने बुझेर आत्मानुशासनको पालना गर्नुपर्छ । कोरोना महामारी यति बेला विश्व समुदाय आतङ्कित बनेको मात्र छैन यसले व्यापार,व्यावसाय,उद्योग,पर्यटन चौपट बनेको स्थिति छ । विश्व अर्थतन्त्र धरासायी हुने आँकलन विज्ञहरुले गरेका छन् । विश्वका पौने दुई करोड मजदुरहरुले आफ्नो रोजगारी गुमाउने अवस्था पैदा भएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् यसले मजदुर वर्गको रोजिरोटी खोसिने देखिन्छ । बेरोजगारी अर्को जटिल समस्या बनेर आउन सक्ने कुरालाई नकार्न सकिँदैन । यसकारण अब राज्यले आम नागरिकका साझा समस्यालाई चाँडो उचित सम्बोधन गर्न आवश्यक छ । लकडाउनका कारण निम्नवर्गको अवस्था ज्यादै दयनीय बन्न पुगेको छ । यदि यसको सम्बोधन नभए र उचित राहत पुर्याउन नसके भोक युद्ध हुनसक्ने खतरा पनि उत्तिकै दखिन्छ । एकातिर कोरोना महामारी रोक्न घरभित्रै बसेर यसका विरुद्ध लड्नु त छँदै छ अर्कोतिर आम मानिसमा यसले पारेको मानसिक त्रास हटाउँदै सरकारले सबै हिसाबले नागरिकको सुरक्षा गर्नुपर्ने स्थिति पैदा भएको छ । यस अवस्थामा सरकारले विगतका सङ्कटको अवस्थाबाट पाठ सिक्दै बुद्धिमतापूर्वक आवश्यक कदम चाल्नुपर्ने कुरामा दुई मत छैन । नेपालमा त झन् सङ्कटको घडीमा समेत भ्रष्टाचार मौलाउने गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यस्ता भ्रष्ट व्यक्ति पहिचान गरी कडा कारर्वाही नगरे विदेशी सहयोग र जनताले गाँस कटाएर गरेको सहयोग पनि बालुवामा पानी बन्न पुग्ने देखिन्छ । यस घडीमा सबै प्रकारका शत्रुता भुलेर,घमण्ड तोडेर ईर्ष्या छोडेर मानव उद्दार र सेवामा लाग्नु पर्ने तथ्य भुल्नु हुँदैन । सत्य,तथ्यपूर्ण समाचार मात्र सम्प्रेषण गरी आम जनमानसलाई सुसुचित गर्न सञ्चार माध्यमहरु पनि लाग्नुपर्छ ।
हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले ।
विपत्ति पर्दा मात्र हारगुहार गर्ने, ईश्वर पुकार्ने नगरी यो धर्तिलाई सिँगार्न सबै मानिस एकजुट भएर उठ्नु छ । महामारीका विरुद्ध लड्नु छ र बढ्नु छ अगाडि । धर्तिलाई फलाम र कंक्रिडले ढाकेर भौतिक सुविधामा लिप्त बनिरहे मानिसले अरु यस्ता थुप्र विपत्तिको सामना गर्ने दिन झन् नजिकिँदै छ । हामीले प्रकृति माथिको दोहन नरोकेर धर्तिलाई उजाड बनाइरह्यौ भने हामी भोक र प्यासले तड्पितड्पि मर्नुपर्ने दिन नआउला भन्न सकिन्न । साथै हामीलाई हाम्रा भावी सन्ततीले समेत धिक्कार्ने छन् । हामीलाई पुर्खाले नासोका रुपमा छाडेर गएको यो सुरम्य प्रकृति,साझा धर्ति नबिगारिकन सुम्पनैपर्छ । हाम्रो भविष्य हामीले नै कोर्नु छ, सजाउनु छ । अँध्यारो पछि पक्कै हुनेछ सुनौलो विहानी । अन्ततः हार्ने छ कोरोना भाइरसले । धैर्य गरौँ धैर्यताको फल मिठो हुनेछ । गुकाएका आफन्तको अनुहार सम्झेर जागाउन लागौँ पालुवा । वर्तमानको सदुपयोग गरौँ भविष्यत् आफैं उज्ज्वल बन्ने छ । यो विपत्ति यो चुनौतिले अर्को एउटा सुनौलो अवसर पनि त लिएर आएको हुन सक्छ । परोपकार नै हाम्रो धर्म हो । जसरी सूर्य अरुकै लागि उदाउँछ त्यसरी नै हामी पनि अरुका लागि बाँचौँ । यो महामारीको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सञ्चारकर्मी सबैप्रति नमन । सूर्य,चन्द्रमा,पृथ्वी, वायु, नदी पहाड सबैले आफ्नो कर्तव्य पूरा गरेजस्तै हामी पनि आफ्नो कर्तव्यबाट टाढा नभागौँ । बस् सबै ठिक हुनेछ ।
(तस्वीरहरू गुगलबाट लिइएका हुन्)
दाङसिङ–८, नुवाकोट (हालः पोखरा–११)
gkfriend8@gmail.com
Copyright © 2024 Bikash Media Pvt. Ltd.