२०७७ वैशाख ८ गते १९:०४ दीपप्रकाश पाण्डे
कोरोना भाईरस बीमालेख अन्तरगत दुई किसिमका बीमालेख छन् । एउटामा बिमितले दाबी भुक्तानी स्वरुप १ लाख र अर्कोमा ५० हजार रुपैयाँ पाउँने व्यवस्था छ ।
यो बीमाको बीमा शुल्क धेरै छैन । सबैभन्दा पहिला ५० हजार रुपैयाँको बीमालेखको कुरा गरौं । यो बीमालेखमा पनि एक्लै वा परिवारका सवै सदस्यको बीमा गराउन पाइने सुविधा छ ।
कसैले आफ्नो मात्रै बीमा गराउन चाहनु भयो भने ५ सय रुपैयाँ तिरेर बीमा गराउन सक्नुहुन्छ । यस्तो बीमालेखको अवधी एक वर्षको हुन्छ । परिवारका सदस्यको नै बीमा गर्ने हो भने प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले बीमा गराउन सकिन्छ ।
अब १ लाख रुपैयाँ दाबी भुक्तानी पाइने बीमालेखको कुरा गरौं । यसको बीमाशुल्क एकजनाको मात्रै गर्दा १ हजार रुपैयाँ तिर्नुपर्छ । परिवारका सवै सदस्यको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले जतिजनाको बीमा गराउने हो त्यति रकम बीमा शुल्क तिर्नुपर्छ ।
दाबी भुक्तानीको तरिका
कोरोना भाइरस बीमा अरु स्वास्थ्य बीमा जस्तो होइन । यसमा कोरोना लागे नलागेको प्रमाणपत्र दिनुपर्दैन । अरु स्वास्थ्य बीमामा भने निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ । वा भएका दीर्घकालिन रोगको बारेमा खुलाउनु पर्छ ।
कोरोना भाइरस बीमा गराएपछि बीमा गराएको १५ दिनसम्म कोरोना संक्रमण भएको पीसीआर रिपोर्टमा देखियो भने बीमा दाबी रकम पाइदैन । तर, बीमा गराएको १६ दिनदेखि १ वर्षभित्रमा पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो भने प्रतिव्यक्ति जति रकम (५० हजार वा १ लाख रुपैयाँ) को बीमा गरिएको छ, त्यति रकम सम्बन्धित बीमा कम्पनीले स्वतः दाबी भुक्तानी दिन्छन् ।
बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि पाइन्छ । कथम् कदाचित कोरोना संक्रमितको मृत्यू भएमा आश्रित परिवारले दाबी भुक्तानी पाउँछन् ।
कोरोना संक्रमितको परीक्षणसहित सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भनेको छ । त्यसैले बीमाबाट पाएको रकम औषधी उपचार वा अन्य उपचार प्रयोजनमा खर्च गर्नुपर्दैन । यो रकमले विरामी वा उसका आश्रित परिवारले आवश्यक जेमा खर्च गरेपनि हुन्छ ।
लक्षित वर्ग
यो बीमा कार्यक्रम लघु बीमा योजना मोडलमा ल्याइएको हो । यसमा लक्षित वर्ग को हुने वा को नहुने भन्ने त नहोला । किनकि बीमा सबै वर्गको लागि नै हुनेगरी ल्याइन्छ । तर, कोरोना बीमाको लक्षित वर्ग भनेको आर्थिक अवस्था कमजोर वा मध्यम भएका व्यक्तीहरुको लागि पनि हो ।
महामारीमा साथ
कुनैपनि किसिमका समस्या परेको बेलामा बीमाले साथ दिन्छ भनेर बीमा गराउने गरिन्छ । महामारी आफैमा समस्या हो । बीमा क्षेत्रले महामारीको बेलामा पनि बिमितलाई सहज होस् र बीमाको तर्फबाट पनि केही न केही योगदान गरौं भन्ने हिसावले कोरोना बीमा योजना ल्याइएको हो ।
बीमा भनेको आफैमा व्यवसाय मात्र नभएर सेवा पनि हो । सोही कारण अहिले बीमा कम्पनीहरुले एक कम्पनीबाट वार्षिक रुपमा २/४ करोड घाटा नै भएपनि बीमा गराउँन आवश्यक छ भन्ने महसुस गरेर यो बीमा योजना अघि सारिएको हो ।
कुन हदसम्म हुन्छ रक्षावरण ?
अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या धेरै छैन । कतिपय देशहरुमा जस्तो भयावह स्थिती नआउँदसम्म र बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न सकुन्जेलसम्म रक्षावरण गर्ने गरी यो योजना ल्याइएको हो । कोरोना भाइरस लाग्नेको संख्या हेरेर नियामक निकाय बीमा समितिले आवश्यक समन्वय गर्नेछ ।
माईक्रो इन्स्योरेन्सको शिखर इन्स्योरेन्स पुल म्यानेजर
माईक्रो इन्स्योरेन्सहरुको सन्दर्भमा पुल म्यानेजर नै शिखर इन्स्योरेन्स कम्पनी हो । सोही कारण कोरोना बीमाको सुरुवात शिखरले गरिसकेको छ ।
सन्देश
कोरोना भाइरस संक्रमबाट जोगिने भनेको सामाजिक दूरी कायम गरेर नै हो । यो कुरा सामान्य जस्तो लागेपनि यसमा कसैले लापरबाही गर्नुहुँदैन ।
कोरोना भाइरस सबैजना सकेसम्म जोगिनु पर्छ, तर कथम कदाचित कसैलाई संक्रमण फैलिएको अवस्थामा भने कोरोना बीमाले राहत प्रदान गर्छ । अहिले शिखर इन्स्योरेन्स कम्पनीकै अधिकांश कर्मचारीहरु यस बीमा योजनामा सहभागी भइसकेको अवस्था छ ।
छैन पुनर्बीमा, पुलमार्फत व्यवस्थापन
अरु बीमा योजनामा जस्तो कोरोना भाइरस बीमामा पुनर्बीमा भएको छैन । यो बीमा योजना नेपालको आन्तरिक बीमा जस्तै हो । बीमा समितिसँगको समन्वयमा पुलमार्फत सबै निर्जीबन बीमा कम्पनी र नेपालमा रहेको एकमात्र पुनर्बीमा कम्पनीको सहभागितमा यो कार्यक्रम संचालनमा ल्याइएको हो ।
कोरोना बीमाको जतिपनि बीमालेख विक्री हुन्छ, त्यसबाट आएको बीमाशुल्कमा पुनर्बीमा कम्पनीले २० प्रतिशत र अरु २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशतका दरले बीमा शुल्क लिन्छन् । र, दाबी भुक्तानी गर्नु परेको अवस्थामा पनि सोही विधि अनुसार भुक्तानी हुन्छ ।
(शिखर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेसँग गरिएको कुराकानीमा आधारित)
Copyright © 2025 Bikash Media Pvt. Ltd.
याे विमा कसरि र कहाँ गर्ने हाे? विस्तृत जानकारी पाउन सकिन्छ कि?