२०७७ वैशाख १२ गते १५:१६ सन्ताेष राेकाया
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन अनिलकेशरी शाह । उनी एक सेलिब्रेटी बैंकर्सका रुपमा परिचित छन् । शाह नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष पनि हुन् । उनै शाहसँग नविल बैंककाे बारेमा, कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव र लकडाउनको समयमा डिजिटल बैंकिङको आवश्यकता जस्ता विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको अंश ।
लकडाउनको समय छ, ग्राहकलाई कसरी सेवा प्रवाह गर्दै हुनुहुन्छ ?
हो, कोरोना भाइरस संक्रमणा राेक्न सरकारले देशभर लकडाउन गरेकाे छ । बैंकिङ अत्यावश्यक सेवा भएकोले पनि यो समयमा ग्राहकलाई मर्का नपर्ने किसिमले सेवा दिइरहेका छौं । कसरी ग्राहकलाई छिटो छरिताे तथा गुणस्तरीय सेवा दिन सकिन्छ हामी लागिरहेका छौं । डिजिटल सेवा भएको ठाउँमा डिजिटललाई नै फोकस गरिरहेका छौं भने त्यसको पहुँचमा नभएका ग्राहकलाई त्यहाँका शाखाहरु खोलेर काम गरिरहेका नै छौं । राष्ट्र बैंकले ल्याएको राहत प्याकेज पनि हाम्रा ग्राहकलाई दिइरहेका नै छौं । त्यो पट्टी पनि हामीले ध्यान दिएका छौं । हुन त यो समयमा सबैलाई गाह्रो नै छ । तर, अत्यावश्यक सेवा भएको भएर हामी निरन्तर सेवा दिइरहेका छौं ।
अहिले कोरोना भाइरसको कारण भएको लकडाउनले धेरै उद्योगी व्यवसायीहरुले समस्यामा पर्यौं भन्ने गरेका छन्, तपाईले विशेषगरि साना तथा मझौला उद्यमीका लागि केही योजना ल्याउने सोच बनाउनु भएको छ ?
हामीले नेपाल बैंकर्स संघमै कुरा गरेका छाैं । राष्ट्र बैंकबाट नै त्यो प्याकेज आउँछ होला । त्यो प्याकेजमा एसएमईको लागि पनि आउँछ होला । अहिले पनि साना तथा मझौला उद्यमीहरुका लागि अन्य कर्पोरट कर्जाहरु जस्तै राहतहरु दिइरहेका छौं । व्याज तिर्यो भने राहत दिने, नतिर्यो भने तीन महिनासम्म समयावधि सारिदिने काम गरिहेका छौं ।
अहिले नै तिर्नु पर्छ भनेर कसैलाई दवाव पनि दिएका छैनौं । तीन महिनापछि पनि केही होला । कसरी हुन्छ सहज तरिकाले अगाडि बढ्ने र यो अवस्थालाई सहजै पार लगाउने हो । अहिले हाम्रो मुलमन्त्र भनेको हामी पनि बाँच्ने र हाम्रा ग्राहकहरुलाई पनि बचाउने हो । हामीले मात्र बाँच्ने र हामीले मात्र नाफा कमाउने होइन । फेरि ग्राहकलाई बचाएर बैंक नै डुब्ने पनि होइन । यसका लागि हामी सन्तुलित भएर काम गरिरहेका छौं ।
कोरोनाको कारण धेरै व्यापार व्यवसायका क्षेत्रहरु संकटमा छन् । यो समयमा बैंक तथा वित्तीय संस्थाहरुले कस्तो क्षेत्रमा बढी प्राथमिकता दिएर लगानी गर्नुपर्ला ?
यसमा हामी केही गृहकार्य गरिरहेका छौं । कोरोना भाइरसले गर्दा कुनकुन क्षेत्रलाई बढी नकरात्म प्रभाव परेको छ र अझैं पर्छ ? कुन कुनलाई ठीक–ठिकै हुन्छ ? कुनैलाई प्रभाव नै नपर्ला जस्तै खाद्यान्न, औषधि । यी विभिन्न क्षेत्रहरुलाई हेरिरहेका छौं । हामी बैंकर्स संघबाट एउटा धारणा बनाउँछौं । हाम्रो विचारमा यो क्षेत्रलाई एकदमै घाटा भएको छ । जुनलाई बढी प्रभाव परेको छ, सबैभन्दा बढी राहत त्यहाँ जानु पर्छ । इक्वालिटी र इक्विटी आधारमा हामी लगानी गर्छौं ।
जस्तै, नेपाल सरकारले नेपाली सबै जनालाई राहत ५/५ हजार दिने भन्यो भने त्यो एक्वालिटी हो । तर त्यो राहत कसैलाई नचाहिएको हुन सक्छ । अब इक्विटी भनेको जसले चाहेको छ, त्यसलाई हेरेर लगानी गर्छौं । अब बैंकहरुले पनि एक्वालिटी होइन, इक्विटी आधारमा लगानी गर्छौं । जसलाई चाहेको छ उसैले पाउँछ । हामीले पनि बाँच्नु पर्छ । छुट दिनु पर्छ । तर सबैलाई छुट दियो भने नचाहिँनेले पनि त्यो छुट पाउन सक्छ । त्यसकारण यी विविध पक्षहरुलाई अध्ययन गरेर हामी लगानी गर्छौं ।
उद्योगी व्यवसायीहरुले केही समयका लागि व्याज मिनाहा अर्थात छुटको माग पनि गरिरहेका छन् । तपाईहरुले कर्जाको प्रवाह र छुट के कसरी गर्दै हुनुहुन्छ ?
कर्जा पुरानै हो । पहिलेकै अनुसार कर्जा प्रवाह भइरहेको छ । व्याज अहिले घटिरहेको छ । हामीले निक्षेप र कर्जा दुवैमा व्याजदर घटाएका छौं । अब आउनेमा अझै घट्छ । हामी त्यसको गृहकार्यमा छौं । आधारदर घट्दैछ । आधारदर घटेपछि व्याजदर पनि अवश्य घट्छ नै ।
कोरोना भाइरसको महामारीको कारण विश्व अर्थतन्त्रमा ठूल्लो धक्का लाग्न सक्ने अनुमान गरिएको छ । यसले नेपालको अर्थतन्त्रलाई पनि असर पार्छ नै । नेपाली अर्थतन्त्रमा त्यति धेरै गिरावट आउन नदिनको लागि के गर्नु पर्ला जस्तो लाग्छ ?
हरेक मानिसहरुले लकडाउनको समयमा मेरो व्यवसाय के गर्ने ? लकडाउन खुलेपछि कसरी अगाडि बढ्ने ? भनेर योजना बनाउन आवश्यक छ । विभिन्न उद्योगी तथा व्यवासायीहरुले आ–आफ्नै योजना तथा तयारीहरु बनाउनु पर्छ । अहिलेको समयमा घरमा टीभी हेर्नेभन्दा पनि सबैले वर्तमान प्रविधिको प्रयोग गरेर सबैको सुझाव सल्लाह लिएर योजना तर्जुमा गर्नुपर्छ । हामीले लकडाउन खुलेपछि राजश्व कसरी बृद्धी गर्न सक्छौं, कष्ट मेन्टेन कसरी गर्न सक्छौं भनेर सोच्न आवश्यक छ ।
सबै जनाले बैंककाे व्याज मात्र भन्नुहुन्छ । बैंकले त राहत दियो । हाम्रो ग्राहकले सिमेन्ट बनाइरहनु भएको छ भने उनीहरुले आफ्ना ग्राहकलाई कसरी राहत दिने त ? सिमेन्टको एक बोराको मूल्य एक हजार थियो भने अब ७ सयमा बेच्ने कि ? राहत एक ठाउँमा गएर अड्किनु भएन । माथिदेखि सर्वसाधारण नेपालीले त्यो राहत पाउनु पर्यो । खाद्यानन्नमा हामीले राहत दिएका थियौं भने हाम्रो चामलको मूल्य घटाउनु पर्यो । दाल तेलको मूल्य घट्नु पर्यो । यसरी अगाडि बढ्यो भने सबैलाई सन्तुलन किसिमको राहत हुन्छ । कोही पनि भोकले मर्दैनन् ।
विदेशीएका धेरै युवाहरु अहिले स्वदेश फर्केका छन् । यसले पनि रेमिट्यान्स अवश्य नै घट्न । अब उनीहरुलाई स्वरोजगार बनाउनका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ ?
हामी कृषि प्रधान देश भन्छौं । यसको विकास र यस सम्बन्धि कार्यक्रमहरु वित्तीय संस्थाले मात्र गर्न सक्दैन । यसमा नेपाल सरकार, विभिन्न संघ संस्थाहरु मिलेर रणनीति बनाउनु पर्छ । उनीहरु पनि विदेशबाट केही सीप सिकेर आएका हुन्छन् । उनीहरुको सीप अनुसार कसरी व्यवस्थापन गर्ने ? उनीहरुलाई कुन क्षेत्रमा ल्याउने भन्ने विषयमा हाम्रो ध्यान जानुपर्छ । व्यक्तिले गाउँ नै गएर किसान बन्छु भन्यो भने पनि यो एउटा अवसर आएको छ । युवाहरुको सीप देशमै व्यवस्थापन गर्ने वातावरण सबैले सिर्जना गर्नुपर्छ ।
अहिले नागरिक घरभित्रै छन् । घरभित्रैबाट बैंकिङ सेवा लिनको लागि डिजिटल बैंकिङले महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसलाई नविल बैंकले कतिको प्राथमिकता दिएको छ ?
हामीले डिजिटल बैंकिङलाई पहिले देखिनै प्राथमिकता दिँदै आएका छौं । यसका ग्राहक पनि दैनिक बढ्दै गएका छन् । हामीले डिजिटल बैंकिङको सेवा दिँदै आएको १०/१२ वर्ष भइसकेको छ । तर, पहिले ग्राहकले त्यसको प्रयोग त्यति गरेका थिएनन् । अहिले कोरोना भाइरसले गर्दा डिजिटल बैंकिङको माग बढेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डको सेवा धेरै बढेको देखिन्छ । मलाई लाग्छ, हामीले यसलाई प्रोत्साहन गर्यो भने आउने दिनहरुमा यो बढेको बढ्यै हुन्छ । लकडाउनको समयमा नविल बैंकमा तीन दोब्बरले डिजिटल बैंकिङको सेवा लिनेको संख्या बढेको छ । हाम्रा ७ लाख ग्राहकहरुमध्ये डिजिटल बैंकिङका दुई लाख ग्राहकहरु छन् । दैनिक रुपमा बढ्दै पनि गएको छ ।
यसमा विश्वसनियता चाहिँ कत्तिको छ ?
आजसम्म कुनै नेपालीले मेरो खाताबाट अनलाइन चलाएर पैसा चोर्यो भन्ने कुरा आएको छैन । नबिल बैंकले काम गरेको ३५ वर्ष भएको छ । तर, एक रुपैयाँ पनि हराएको छैन । नविल बैंक मात्र होइन, नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा खाताबाट पैसा चोरेर म बर्बाद भएँ भन्ने कुरा सुनिएको छैन । भनेपछि यो विश्वासिलो नै छ । नभए चोरी भइहाल्थ्यो नि ।
अन्तिममा, सरकारले पनि क्यासलेस प्रणालीलाई बढी प्राथमिकता दिनुपर्छ भनिरहेको छ । नेपालमा क्यासलेस कतिको सम्भव छ ?
क्यासलेस होइन लेस क्यास गर्नुपर्छ । क्यासलेस त सायद मेरो क्यारियरमा हुँदैन होला । कम क्यास चलाउन तर्फ लागौं । क्युआरहरुमा पनि हामी लागिरहेका छौं । जसले तरकारी किन्दा पनि फोनबाट नै पेमेन्ट गर्न सकिन्छ । जति सकिन्छ लेस क्यास गरौं । क्यासलेस त अहिले संसारमा कुनै देश पनि भएको छैन तर अहिले कोरोनाले गर्दा नेपालमा पनि लेस क्यास सुरु हुँदैछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.