२०७७ वैशाख १९ गते १२:५४ सुशिल घिमिरे ‘त्रैलोक्य’
एक बिहानै
झिसमिसे उज्यालोमा
गौशाला, चावहिल…… रत्नपार्कहरुमा
कुटो, कोदालो…घन बोकेर
समयलाई प्रतिबिम्वित गर्दै
तिम्रो चर्को मोलमलाईको बीचमा
जब म ठिङ्ङ उभिन्छु
मलाई लाग्छ म बेचिन आएको हो
यो शहरमा हरेक बिहान हरेक दिन
म वस्तु हो
विना सोकेश भित्र नसजिएको
कुनै वस्तु
मात्र आजको लागि बेचिन तम्तयार
वस्तु……..
जलप विनाको, विज्ञापन विनाको
आफैंले आफैंलाई तिम्रो चौरस्तामा फिजाउँदा
जब तिम्रा आँखाहरु मेरा पाखुरी ….शरीरलाई नियाल्छन्
म आजको रोजि रोटि खोसिने डरले
चुप चाप शालिन
ढुंगा बनिदिन्छु
र,
आफैंलाई बिक्री गरिदिन्छु
मानौं तिमी मानिस र म वस्तु
मात्र वस्तु
तिमीले मलाई आजको ज्यामी मान्नु नमान्नु
मलाई लानु नलानु
रोज्नु नरोज्नु….
पूर्णतया तिम्रो अधिकार हुनेछ
म प्रश्न प्रतिप्रश्न गर्नेछैन
म मौनताको अधिनमा रही
तिमीले अह्राएका हरेक काम
अघोषित मजदूर नियममा रही
म मात्र वस्तु बनिदिने छु
आजको दिन तिम्रो लागि
हेर घामहरु छिप्पि सकेका छन्
सात बजिसक्यो…आठ बजिसक्यो ….नौ….
बिन्ति मलाई लगिदेउ
छोरी भोकाएकी छे
बिरामी श्रीमतीलाई दबाई लानुछ
घरबेटीको डेराभाढा दिनु छ
बिन्ति मलाई लगिदेउ
छोरी भोकाएकी छे
बिरामी श्रीमतीलाई दबाई लानुछ
घरबेटीको डेराभाढा दिनु छ
उफ्….यो घाम कति चाँडो छिप्पिएको आज
म कसैलाई बरु सुनाउँदिन
आज मजदूर दिवस भएर के भो त ?
म मा कुनै गुनासो छैन….
आखिर म तिम्रो सुन्दर घर बनाउन
मेरा घनले ढुंगा फोडिरहँदा
प्रत्येक घनका प्रहारमा मलाई
इश्वर खोजेझैं लाग्छ
अनि हरेक साँझ ज्याला थाप्दै गर्दा
मलाई स्वतन्त्र भएझैं लाग्छ
गौशाला, चावहिल…… रत्नपार्कहरुमा
कुटो, कोदालो…घन बोकेर
म ठिङ्ङ उभिँदा
लाग्छ देशको वर्तमानमा उभिरहेको छु
आखिर मेरो देश पनि त
हरेक दिन हरेक साँझ
आफूलाई कुनै न कुनै किसिमले
बेचिरहेको छ म जस्तै…..
बिराटनगर–५
हाल एनसीसी बैंक, तेह्रथुम
Copyright © 2025 Bikash Media Pvt. Ltd.