२०७७ वैशाख १९ गते १४:२८ विकासन्युज
काठमाडौं । धितोपत्र बजार सम्बन्धमा सरकारले औचित्यहिन ‘राहत प्याकेज’ ल्याएको छ । देशभर लागू गरिएको लकडाउनका कारण बन्द भएको धितोपत्र बजारलाई राहत दिन भन्दै मन्त्रिपरिषदबाट निर्णय भएका व्यवस्था कार्यान्वयन हुँदै नहुने खालका छन् ।
वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले ‘धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाव राफसाफ गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने’ निर्णय गरेको थियो । सरकारको यो निर्णय कार्यान्वयन हुनको लागि असार मसान्तसम्म धितोपत्र बजार बन्द हुनुपर्नेछ ।
सरकारले गरेको यो निर्णयप्रति धितोपत्र बोर्डका अधिकारीहरुले पनि अनभिज्ञता जनाएका छन् । सरकारको यो निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नमा उनीहरुले यस्तो निर्णय नै कसरी आयो भन्नेमा आफूहरुलाई अचम्म लागेको बताए ।
‘धितोपत्र बजारमा धितोपत्र र नगद गरी २ कुराको राफसाफ हुन्छ, कारोबार राफसाफ भनेर दुबै कुरालाई भन्न खोजिएको हो कि नगद वा धितोपत्रको मात्रै राफसाफको कुरा गरिएको हो, बजारमा सेयरको कारोबार कसरी हुन्छ भन्ने कुनै जानकारी नै नभएकाहरुले गरेको निर्णय जस्तो देखिएको छ, बजार बन्द हुन्जेलको लागि भने यो निर्णय काम लाग्छ,’ बोर्डका एक अधिकारीले भने ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ कम्पनीका अधिकारीहरुले पनि सरकारको यो निर्णय ‘राहत प्याकेजमा धेरै बुदा थप्न मात्रै काम लागेको’ प्रतिक्रिया दिएका छन् ।
‘राफसाफको समयावधि असार मसान्तसम्म पुर्याउने निर्णय गर्नुका पछाडि असार मसान्तसम्म बजार खुल्दैन भन्ने मनसाय हो भने पनि यो निर्णय आवश्यक थिएन, त्योभन्दा अगाडि नै बजार खुल्छ भन्ने मान्यता राख्ने हो भने त यो निर्णयले राहत प्याकेजका बुदा बढाउनु बाहेक कुनै काम गर्दैन,’ नेप्सेका एक अधिकारीले भने ।
किन गर्दैन काम ?
सरकारले लकडाउन सुरु गरेको अघिल्लो दिन अर्थात १० चैतदेखि नै धितोपत्र बजार बन्द छ । बजार बन्द हुनुभन्दा अघिल्लो दिन अर्थात ९ चैतमा कारोबार भएको थियो भने त्योभन्दा अघि ६ चैत (विहीबार) पनि कारोबार भएको थियो ।
सेयर किनबेचको अर्डर भएकै दिन सेयर प्राप्त गर्ने र रकम बुझाइने नभएकोले विक्री गर्ने व्यक्तिले रकम पाउनको लागि विक्रीको आदेश दिएको ब्रोकरको खातामा नगद र सेयर किन्न अर्डर गरेको ब्रोकरको डिम्याट खातामा सेयर आइसकेको अवस्था नै राफसाफ हो । यस्तो राफसाफ कार्यमा नेप्से र सीडीएससी संलग्न हुन्छन् ।
तर, नेप्से र सीडीएससीले अघिल्लो दिनको कारोबार राफसाफ नसकी अर्काे पछिल्लो दिनको कारोबार राफसाफ गर्न सक्दैनन् । यसो गर्न सिस्टमले नै नमिल्ने सीडीएससीका अधिकार बताउँछन् ।
लकडाउनअघिको अन्तिम तीन दिन अर्थात चैत ५,६ र ९ गतेको कारोबारको राफसाफ गर्न बाँकी रहेको सीडीएससीको भनाई छ । चैत ५ गते १ अर्ब ८० करोड, चैत ६ गते १ अर्ब ९० करोड र चैत ९ गते १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सेयर कारोबार खुलेपछि यी तीन दिनको कारोबार राफसाफ गरेपछि मात्रै पछिल्ला दिनको कारोबारको राफसाफ गर्न मिल्ने अधिकारीहरुको भनाइ छ । अर्थात चैत ५ गतेको कारोबारको राफसाफ नसकी ६ गतेको कारोबारको राफसाफ गर्न मिल्दैन भने ६ गतेको कारोबारको राफसाफ गरिसकेपछि मात्रै चैत ९ गतेको कारोबारको राफसाफ गर्न मिल्छ । र, चैत ९ गतेको कारोबारको राफसाफ गरिसकेपछि मात्रै अब खुल्ने दिनको राफसाफ हुन सक्छ ।
‘वैशाख २८ गतेदेखि बजार खोल्ने भन्ने तयारी भएको छ, चैत ९ गतेसम्मको कारोबार राफसाफ भइसकेपछि मात्रै वैशाख २८ गतेको कारोबार राफसाफ गर्न मिल्छ, अब असार मसान्तसम्म कुनै पनि दिनको कारोबार राफसाफ नगर्ने हो भने यो निर्णय कार्यान्वयन गर्न मिल्छ, होइन भने यो निर्णयको कुनै औचित्य नै छैन,’ सीडीएसका एक अधिकारीले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.