२०७७ जेठ १ गते १७:२८ विकासन्युज
नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बीमा क्षेत्रकै केन्द्रविन्दुमा छन् । उनले नेतृत्व गरेको कम्पनी शिखर इन्स्योरेन्स निर्जीवनतर्फ धेरै सूचकाङ्कमा सबैभन्दा अगाडि छ । जहिले पनि बजारमा आक्रामक रुपमा प्रस्तुत हुनु, सिर्जनात्मक कार्यमा लगानी गर्नु, नियामकसँग नजिक बसेर काम गर्नु उनको व्यक्तिगत खुबी र विशेषता हो । कोरोना भाइरस बीमा गराउने क्रममा पनि उनको कम्पनी अगाडि देखिएको छ । प्रस्तुत छः कोरोना महामारी र बीमा क्षेत्रमा परेको असरबारे केन्द्रीत भएर बीमक संघका अध्यक्ष पाण्डेसँग गरिएको विकास वहस ।
कोरोना महामारीको असर निर्जीवन बीमा क्षेत्रमा कस्तो पर्दैछ ?
यो वर्ष साढे ८ महिना अवस्था सामान्य थियो । सबैको विजनेशन नर्मल थियो । २ महिनाअघिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ । अनिश्चितता बढेको छ । लकडाउन कहिलेसम्म जान्छ, महामारीले कुन रुप लिन्छ, अनुमान गर्न पनि नसकिने परिस्थिति छ । आज ठिक लागेको कुरा भोलि ठिक नलाग्न सक्ने अवस्था छ ।
बीमा क्षेत्रको कुरा गर्ने हो भने अहिले धेरै सेवाहरु इन्टरनेटको माध्यमबाट भईरहेको छ । बीमा समितिले पनि इमेलबाट गरिएको सञ्चारलाई मान्यता दिने भनेको छ । अवस्था सामान्य भएपछि प्रिन्टेट डकुमेन्ट बन्छन् । बीमा पोलिसी नविकरण गर्ने, नो क्लेम दावी गर्ने लगायतको सेवा अवधि थपिदिएको छ ।
व्यक्तिगत रुपमा मलाई के लाग्छ भने यतिबेला सबैलाई राहात चाहिएको छ । ठूलालाई ठूलै राहात चाहिएको होला, सानालाई सानै राहात चाहिएको होला । बीमा कम्पनीहरुले पनि यतिबेला बीमितलाई सहयोग गर्नुपर्छ । सहयोग भनेको पैसामा मात्र हुने होइन, अन्य सेवा दिएर पनि सहयोग गर्न सकिन्छ । यतिबेला मोटरहरु गुडेका छैनन् । यसमा जोखिम कम छ । दावी काम आउला । उनीहरुलाई केही राहात दिन सकिन्छ ।
जसरी घरमा श्रीमान् ले भान्छामा गएर आलु तास्ने काम गर्दा श्रीमतीले सहयोग पाएको महसुस गर्छिन, त्यसरी हामीले ग्राहकलाई सिम्बोलिक रुपमा भए पनि सहयोग गर्नुपर्छ । आलु तास्ने वा केराउ छोडाउने काम के ठूलो हो र ? तर त्यसले परिवारमा खुशी ल्याउँछ ।
कोरोना महामारीसँगै बीमा प्रति सर्वसाधारणको मानसिकतामा कस्तो प्रभाव देखिन्छ ?
नेपालमा बीमा भनेको जहिले पनि फोर्स मार्केट नै हो । नेपाल इन्स्योरेन्सको स्थापना भएको नेपाल बैंकको मोर्गेज लोन इन्स्योर गर्न हो । सशस्त्र द्वन्द्वको बेलामा उद्योग, कारखाना, घरको बीमा अलि बढ्यो, हुलदंगा बीमा हुन थाल्यो । सवारी दुर्घटना बढेपछि तेस्रो पक्षको बीमा शुरु भयो । कृषि बीमामा अनुदान दिनु पनि फोर्सफूली मार्केटिङ नै हो ।
बीमा जहिले पनि आर्थिक अवस्थासँग जोडिएर आउँछ । आफ्नो आयले खान, बस्न, लाउन, छोराछोरीको पढाईमा पुगेर बचत भयो भने बल्न मान्छेले बीमाको बारेमा सोच्न सक्छ । बचत नै नभएको अवस्थामा मान्छेलाई बीमा गराउन गाह्रो छ । अहिलेको अवस्थामा जो बीमित छन्, उनीहरुलाई सुरक्षित राख्नन सकिन्छ उनीहरुलाई केही राहात दिने कार्य गर्नु नै अहिलेको सबैभन्दा ठूलो काम हो । अहिले कोभिड–१९ बीमा शुरु भएको छ । कोभिड लागेकाको उपचार खर्च त सरकारले गरिदेला । तर उनीहरुको आफन्तहरुलाई धेरै सकस परेको हुन्छ । उपचारको लागि घर छोडेर हिड्नुपर्ने होला । उनीहरुलाई बस्न खान खर्च चाहिन्छ । विरामीलाई ठिक भएपछि पनि पौष्टिक खाना खानुपर्यो । कोभिड बीमाले बीलभर्पाई मागिन्न ।
कोभिड–१९ बीमालाई सर्वसाधारणले कसरी लिएका छन् ?
धेरैले खुशीका साथ कोभिड–१९ बीमा गरेका छन् । सहरमा पनि, गाउँमा पनि यसप्रति मानिसहरुको रुचि छ । मिडियाले पनि सकारात्मक रुपमा प्रचार प्रसार गरेर सहयोग गरेका छन् । बीमा समितिको भूमिका पनि राम्रो छ । कोभिड–१९ बाट आएको बीमा शुल्क अपरेशनमा अलिअलि खर्च होला । यसबाट बचेको सबै रकम महाविपत्ती कोषमा जम्मा गर्ने सोच रहेको छ ।
कोभिड–१९ बीमा पोलिसी जारी गरेपछि संकलित रकम महाविपत्ती कोषमा जम्मा गर्ने विषयमा सबै बीमा कम्पनीहरुबीच तथा बीमा समितिबीच सहमति भएको हो ?
यो मेरो व्यक्तिगत धारणा हो । मलाई लाग्छ, बीमा समितिले पनि यहि चाहेको छ । अरु बीमा कम्पनीहरु पनि यसमा सहमति हुनुहुन्छ होला । किनभने हामीलाई विपद् पर्दा एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अहिले विदेशी आएर हामीलाई ठूलो मात्रामा सहयोग गर्ने सम्भावना छैन । कोरोना महामारीबाट विश्वका सबै देश पीडित छन् । सम्पन्न देशहरु पनि अरुको सहयोग मागिरहेका छन् । यस्तो अवस्थामा हाम्रो देश आफै सक्षम हुनुपर्छ । बैकिङ क्षेत्र, बीमा क्षेत्र, कर्पोरेट क्षेत्र, कृषि क्षेत्र सबै सक्षम हुनुपर्यो ।
महामारी र बीमाको सम्बन्ध कस्तो हुन्छ ? महामारीको बेलामा कस्तो कस्तो जोखिम बीमाले धारण गरेका हुन्छ ?
सिद्धान्ततः महामारीमा बीमाले जोखिम कभर गर्दैन । युद्ध वा महामारीको बेलामा कति क्षति हुन्छ भनेर हिसावकिताव गर्न पनि सकिदैन । हुन त भूकम्प पनि महामारी हो । तर भूकम्पको जोखिम लिदा कम्पनीहरुले ५ देखि २० प्रतिशतसम्म जोखिम आफूले लिएका हुन्छन् । कोरोना महामारी भनेको जन स्वस्थ्यसँग सम्बन्धित महामारी हो । यस्तो महामारीको बीमा हुँदैन । भारतमा स्वास्थ्य बीमामा महामारीको बीमा छैन भने पनि कभर गर्नु भनेर त्यहाँको सरकारले निर्देशन दिएको छ । शिखर इन्स्योरेन्सको कुरा गर्नुहुन्छ भने हामीले बिक्री गरेको स्वास्थ्य बीमा पोलिसीले कोभिड–१९ लाई कभर गर्छ । हामी बीमितको उपचारमा बीमा दावी भुक्तानी गर्छौ । जुन कम्पनीको स्वास्थ्य पोलिसीले कोरोना कभर गर्न सक्दैन, उनीहरुको लागि हामीले अहिले कोभिड–१९ बीमा पोलिसी ल्याएका छौं । अहिलेसम्म ६५ हजार भन्दा बढीले कोभिड–१९ बीमा पोलिसी लिइसक्नु भएको छ । २ करोड ८७ लाख भन्दा बढी बीमा शुल्क उठेको छ । हामी ३०० जनामा कोभिड देखियो भने पनि बीमा भुक्तानी दिन सक्छौं ।
महामारी धेरै फैलियो, १० हजार बीमितले कोरोना बीमा दावी गरेभने करिब ७५ करोड रुपैयाँ दावी आउँछ । एउटा कम्पनीको भागमा करिव साढे ३ करोड पर्ला । सबै बीमा कम्पनीको महाविपत्ती कोषमा केही न केही रकम छ । शिखर इन्स्योरेन्सकै कुरा गर्ने हो भने महाविपत्ती कोषमा १६ करोड रुपैयाँ छ । त्यसैले हामीले व्यवस्थापन गर्न सक्छौं । कोरोना बीमा पोलिसीको माग धेरै भयो, दावी पनि धेरै आउन थाल्यो भने हामीले बीमा शुल्क बढाउन सक्छौं । बीमा लेख धेरै गयो, दावी कम आयो भने बीमा शुल्क घटाउँला । केही नगर्नु भन्दा अहिले हामीले जे गरेको छौं, त्यो धेरै राम्रो काम भएको छ । यो सफल भयो भने हामीले भोलिका दिनमा अरु नयाँ काम पनि गर्नसक्छौं ।
२० हजारसम्म कोरोना दावी भयो भने पनि हामीले व्यवस्थापन गर्न सक्छौं । त्यो भन्दा पनि ठूलो महामारी आयो भने त्यसले नयाँ चुनौति सिर्जना गर्छ । त्यसैले हामीले अहिले पनि यस्तो प्रडक्टको पुर्नबीमाका लागि खोज गरिरहेका छौं ।
कोरोना बीमा स्वस्थ्य जोखिम न्यूनिकरण गर्नको लागि आयो । व्यवसायिक जोखिम न्यूनिकरण गर्ने बीमा पोलिसी किन आएनन् ?
बीमा समिति, बीमक संघबीच कसरी राहात दिने भनेर छलफल भइरहेको छ । तर अहिले नै यहि भन्ने अवस्था छैन । सहयोग भनेको पैसा फिर्ता गर्नुपर्छ भन्ने होइन । बीमा अवधि बढाउन सकिन्छ । १२ महिनाको पोलिसीलाई १३ वा १४ महिना बनाउन सकिएला । दावी भुक्तानी प्रक्रियालाई अझ सरल बनाईदिन सकिन्छ । नविकरण गर्दा बीमा शुल्कमा छुट दिन सकिन्छ ।
तर व्यवसायिक घाटा वा महामारीको कारण आयमा कमी हुने जोखिमको बीमा नेपालमा नगन्य मात्रामा छ । पछिल्लो समय जलविद्युत कम्पनीहरुले कन्सेक्विन्सल लसको पोलिसी लिन थालेका छन् । किनकी त्यहाँ धेरै जोखिम देखियो । वहुराष्ट्रिय कम्पनीहरुले, विदेशमा पढेर आएको विजनेशन म्यानहरुले पनि यस्तो बीमा पोलिसी लिन चाहान्छन् । मलाई लाग्छ, अब यस्तो जोखिमको बीमा पोलिसीको माग बजारमा बढ्न सक्छ । बिडम्मना भूकम्प पछि केही समय घर बीमा गर्न धेरैले इच्छाए । अहिले त्यो हट्दै गएको छ ।
हवाई सेवा, होटल लगायत पर्यटन क्षेत्रले बीमा शुल्कमा छुट दिनुपर्छ भन्ने माग आएको छ । यी माग कति जायज र व्यवहारिक छ ?
सरकारले पैसा हालिदिन्छ भने त त्यो राम्रो हो । तर बीमा कम्पनीले नै हवाई बीमामा शुल्क छुट दिन सक्दैन । हवाई बीमा शुल्क विश्वमा नै बढ्दै गएकोले पनि शुल्क छुट दिन सम्भव छैन । होटल क्षेत्रको बीमा शुल्कमा पुर्नविचार गर्न सकिन्छ, जसको जोखिम धेरै हदसम्म नेपाली बीमा कम्पनीहरुले धारण गरेका हुन्छन् । खासगरी पुर्नबीमा वापत विदेशमा जाने प्रिमियम कसरी कम गर्ने र कसरी नेपाली कम्पनीहरुको हिस्सा बढाउने भनेर गृहकार्य गरिरहेका छौं ।
यतिबेला बीमा कम्पनीहरुले सरकारसँग के अपेक्षा गरेको छ ?
म फेरी परिवारको कुरा गर्छु । बुबाआमाको आम्दानीको स्रोत र क्षमताको आधारमा छोराछोरीले माग राख्नुपर्छ । बुबाआमाले धान्न नसक्ने माग छोराछोरीले पनि राख्नुहुन्न । अहिलेको महामारी कसैले परिकल्पना गरेको थिएन । सरकारका पनि आफ्नै लिमिटेशन छन् । सरकारले अध्ययन गरिरहेको होला । पक्कै सरकारले केही न केही राहातका कार्यक्रम ल्याउला ।
सरकारले नयाँ बजेट ल्याउँदैछ । यसमा बीमक संघको सुझाव के छ ?
आयकर घटाउनु पर्छ भनेर म भन्दिन तर निर्जीवनमा भ्याट छुट गराउनुपर्छ । भ्यानले बीमा महँगो भयो । दोस्रो, नीतिगत रुपमा बीमालाई प्रोत्साहित गर्नुपर्छ । कृषि सहुलियत दिदाँ किसानहरुलाई धेरै राहात भएको छ । पशु तथा बालीमा रोग आयो, नोक्सान भयो भनेर किसानहरु सरकारसँग राहात माग्न जान छोडेका छन् । अब सरकारले लघु बीमालाई प्रोत्साहित गर्नुपर्छ । स्थानीय सरकारले बीमा गर्ने घरधनीलाई थोरै बेनिफिट दिने हो भने पनि मानिसहरुमा बीमाको बानी बस्छ । सबै घरको बीमा गर्न सकियो, बीमा गर्ने बानी सबैमा विकास गर्न सकियो भने सरकारलाई पनि, बीमितलाई पनि र बीमा कम्पनीहरुलाई पनि लाभ हुनेछ ।
बीमा कम्पनीहरुले यस वर्ष साधारणसभा पनि गरेका छैनन् । गत वर्षको नाफाबाट पनि सेयरधनीलाई लाभांश दिएको छैन । बीमा क्षेत्रले आगामी वर्ष लगानीकर्तालाई कति लाभांश देला ?
पहिला २५ करोड पुँजी भएका कम्पनीहरुले अहिले १०० करोड पुँजी बनाएका छन् । मैले पहिला पनि भनेको थिए, २÷३ वर्ष लगानीकर्तालाई लाभांश दिन गाह्रो छ । शिखरको कुरा गर्ने हो भने गत वर्षको पनि लाभांश दिन बाँकी छ । तर कम्पनी बलियो भएको छ । कम्पनीको नेटवर्थ ३०० करोड हुन लागेको छ । कम्पनी बलियो भएपनि लगानीकर्तालाई पे गर्न सक्छ ।
लकडाउनको कारण उद्योग चलेका छैनन, सवारी गुडेका छैनन्, हवाई सेवा पनि बन्द छ । बीमा गरिएको सम्पत्ति सुरक्षित बसेको छ । जोखिम कम छ । बीमा दावी कम आउला । त्यसले कम्पनीहरुको नाफा वृद्धि गर्न सहयोग गर्ला नि ?
पक्कै पनि । म त जहिले पनि पोजेटिभ । म त राम्रो देख्छु । लकडाउनमा पहिला जस्तो विजनेश हुँदैन । खर्च पुरानै हुन्छ । मुद्दति व्याज कम हुन सक्छ । तर लगानीको नयाँ क्षेत्र खोज्नुपर्छ । बीमा समितिले पनि हामीलाई सहयोग गर्ला । अर्को, हस्पिटल क्षेत्रबाट हुने फ्रड रोक्न सक्यो भने कम्पनीको नाफामा वृद्धि गर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.