२०७७ जेठ ४ गते ११:३७ शंकर अर्याल
‘ह्वाट डज नट किल यु मेक्स यु स्ट्रङ्गर ।’
अर्थात्, जसले तपाइँलाई मार्दैन, त्यसले तपाइँलाई बलियो बनाउँछ । अमेरिकी गायिका केली क्लार्कसनको चर्चित गीतले भनेजस्तै हो, हाम्रो अवस्था । हाम्रा प्रत्येक पाइलाले मृत्यु र सिकाइलाई सँगसँगै लिएर हिँडिरहेको हुन्छ । जबसम्म मर्दैनौं, तबसम्म हामी सिकिरहन्छौं । त्यही सिकाइले नै हामीलाई बलियो बनाउँदै जान्छ ।
हामी अहिले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा छौं । हाम्रो सिकाइको शिलशिलामा अहिले एउटा कठिन मोड आएको छ । त्यस्तो मोड, जहाँ हाम्रा गति सुस्त छन्, गतिविधि शुन्य छन् । मृत्युसँग त हामी सँधैं खेलिरहेकै हुन्छौं, तर त्यसलाई अक्सर सम्झिँदैनौं । अहिलेको अवस्थामा हामीले मृत्युलाई सम्झिरहेका छौं र त्योदेखि भाग्न खोजिरहेका छौं, फरक यतिमात्रै हो । तर, यो चाहिँ अवश्य नै हो, यसबाट तपाइँ हार्न सक्नुहुन्छ, म हार्न सक्छु । इतिहास साक्षी छ, मानव जातिले हार्ने छैन ।
कोभिड–१९ को महामारी विश्व महामारीमा पहिलो घटना होइन । इतिहासमा कयौं त्यस्ता कहालिलाग्दा दिन पनि आएका थिए, जसले मानव सभ्यतालाई विघटनकै मुखमा पुर्याएको थियो । स्पेनी फ्लु नामको भाइरसले १०० वर्षअघि ५० करोडमा संक्रमण र ५ करोडको मृत्यु गराएको थियो । चौधौं शताब्दीमा ५ वर्षसम्म फैलिएको ‘ब्ल्याक डेथ’ नामक महामारीले आधा जनसंख्यालाई सखाप पारेर मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने चेष्टा गरेकै हो । विश्वमा महामारीका यस्ता दर्जनौं घटना छन् जुन मानब जातिका लागि निकै कठिन बन्दै गए । तर अन्त्यमा मान्छेले नै जित्दै गयो ।
यी परिदृष्य हेर्दा कोभिड–१९ ‘सफ्ट’ महामारी हो । यसको संक्रमणको गति उच्च छ, तर यसको सर्भाइभल दर पनि उच्च नै छ । अहिलेसम्म संक्रमित मध्ये औसत ५ प्रतिशतको मात्रै मृत्यु भएको तथ्यांक छ । बाँकी ९५ प्रतिशत जनसंख्या निको भएर घर जाने गरेका छन् । अर्कोतर्फ, एकपटक निको भएर फर्किएको व्यक्तिलाई यो संक्रमण फेरि भएको अवस्था निकै कम छ । त्यसमाथि पनि फेरि संक्रमण भएर मृत्यु हुनेको संख्या शुन्यप्रायः नै छ । त्यसैले यो भाइरस मानव सभ्यतालाई चुनौती दिनेगरी आएको होइन ।
यो महामारीको अन्त्य कहिले हुन्छ र जनजीवन सामान्य अवस्थामा कहिले फर्किन्छ भन्ने एकीन गर्न कसैले सकेका छैनन् । तर, हार्डवर्ड विश्वविद्यालयको अध्ययनले यो महामारी अन्त्य भएर अवस्था सामान्य हुन कम्तीमा पनि २ वर्ष लाग्ने जनाएको छ । चीनले वुहान शहरले लकडाउन खुला गरे पनि ‘सामाजिक दूरी’ कायमै राख्नुले पनि हामीले भोगिरहेको बन्दाबन्दीको अन्त्यलाई नै कोरोना महामारीको अन्त्यको रुपमा बुझ्न नहुनेचाहिँ प्रष्ट भएको छ ।
कोरोनाले हामीमा निम्त्याएको पीडालाई शब्दमा उतार्न थाल्ने हो भने शब्द नै कमजोर बन्छ । किनकी शब्दले मात्रै सञ्चारको काम गर्न सक्दैन । भनिन्छ, हजार शब्दले गर्न नसकेको वर्णन एउटा चित्रले गर्छ । र, हजार चित्रले गर्न नसकेको वर्णन एउटा अनुभवले गर्छ । तपाइँ हाम्रो यो अनुभवलाई कम्युटरको स्क्रिनमा देखिएका काला अक्षरले वर्णन गरेर सक्दैन । त्यसमाथि सञ्चारको प्रक्रियामा शब्दको भूमिका ७ प्रतिशत मात्रै हुन्छ । बाँकी ९३ प्रतिशतमध्ये स्वरको ३८ प्रतिशत र बडिल्याङ्वेजको ५५ प्रतिशत भूमिका हुन्छ । ७ प्रतिशतको सीमितताभित्र बसेर हजारौं गुणा शक्तिशाली अनुभवलाई जित्ने चेष्टा नगर्दा नै राम्रो हुन्छ । त्यसैले आजको अवस्थाबारे वर्णन गर्ने साहस गरिएन ।
तर, पीडाको बीचमा पनि यो महामारीले हामीलाई धेरै कुरा सिकाएको भने छ । हिजोसम्म हाम्रो राष्ट्रियता भावनामा मात्रै सीमित थियो । अहिले यसलाई व्यवहारमा उतार्नुपर्ने दिन आएको छ । हिजो कानूनको डरले मान्दै आएका नियमहरु अहिले स्वतः लागू गर्ने अवस्थामा हामी पुगेका छौं । परदेशमा रहनुको पीडा र एक्लोपनबाट सिर्जित हुने ‘डायस्पोरिक चेतना’ अहिले फेरि फुल्न थालेको छ ।
यो महामारीको बीचमा मानवको प्रकृति माथिको दोहन रोकिएको छ । पहिले हामी वर्षको एक दिन ‘फ्युल होलिडे’को उत्सव मनाएर हिँडेर कार्यालय जाने गर्थ्याै । आज महिनौं भयो विश्वमा तेलको माग घट्न थाल्यो । हजारौं शहर लकडाउन भए । तेलको माग ज्यादै कम भयो । यसकै परिणाम हो, अहिले आकाश खुला भएको छ । पृथ्वीले आफ्नो रुप देखाउन सुरु गरेको छ । शहरको कोलाहल र प्रदुषण एकाएक हराएको छ । प्रकृतिले मान्छे र जनावरलाई बाँच्ने बराबर अधिकार दिएको रहेछ भन्ने चेतना पनि योबेला जागृत भएको छ ।
अहिले यसलाई व्यवहारमा उतार्नुपर्ने दिन आएको छ । हिजो कानूनको डरले मान्दै आएका नियमहरु अहिले स्वतः लागू गर्ने अवस्थामा हामी पुगेका छौं । परदेशमा रहनुको पीडा र एक्लोपनबाट सिर्जित हुने ‘डायस्पोरिक चेतना’ अहिले फेरि फुल्न थालेको छ ।
हामी ‘ब्याक टू दि नेचर’ भन्थ्यौं । तर, विकासको जति रफ्तार बढ्दै गएपनि मान्छेहरु शहरबाट फर्किएर गाउँ जाने अवस्था कहिलै बनेन । नेपालमात्रै होइन विश्वका विकसित देशहरुमा पनि शहरतिरै हुँइकिने प्रवृत्ति कायमै रह्यो । जापानका गाउँहरुमा मान्छे भन्दा घर धेरै छन् । अमेरिकाको डिभीको नाममा खाली गाउँमा राख्न वार्षिक लाखौंलाई नागरिकता दिएर आफ्नो देशमा लगिरहेको छ । तर, कोरोनोको महामारीले यो अवस्थालाई बदलिदिएको छ । हजारौं माइल हिँडेर आफ्नो गाउँ पुग्नुले गाउँप्रतिको माया र आत्मीयता झल्काएको छ । सभ्यताले गर्न नसकेको यो परिवर्तन महामारीले गर्ने सम्भावना देखिएको छ । महामारीको जोखिमभित्रको सकारात्मक पक्ष त्यही होला सायद ।
यस्तो महामारीपछि परिस्थिति ‘बाउन्स ब्याक’ भएर पूर्ववत सम्भावना कम हुन्छ । हार्डवर्ड विश्वविद्यालय अनुमानजस्तै २ वर्षसम्म महामारीको अन्त्य नहुने हो भने लकडाउन खुलेपछि पनि अब तत्कालै गाउँको मान्छे शहर फर्किनसक्ने सम्भावना हुँदैन । बरु शहर र विदेशमा अड्किएकाहरु गाउँ फर्किने सम्भावना नै बढी हुन्छ । त्यसैले उनीहरुले केही समय गाउँमै अवसर खोज्न लाग्नुपर्ने अवस्था आउन सक्छ । त्यो अवस्थासम्म हाम्रा आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाहरु निकै परिवर्तन भइसकेका हुनेछन् ।
हुन त, सबै महामारीले विद्यमान सन्तुलनलाई एक प्रकारले ध्वस्त नै बनाइदिन्छ । यसले मान्छेको काम गर्ने ठाउँ, समय र कार्यशैलीलाई परिवर्तन गराइदिन्छ । त्यसले प्रारम्भिक अवस्थामा निकै ठूलो असहजता निम्त्याउँछ । यो असहजताले भविष्यमा दुईवटा रुप धारण गर्न सक्छ । पहिलो, यो विस्तारै सहजता परिणत हुन्छ । दोस्रो, यो झनै भयावह भएर जान्छ । तर भयावहको त्यो अवस्थामा पुग्ने चाहना भने कसैको पनि हुँदैन ।
नेपाल र नेपालीको लागि त यो अवस्था झनै विशेष खालको छ । हाम्रो अर्थतन्त्र, रोजगारी, उपभोग, सरकारको राजश्व र पुँजी निर्माणको संरचनाका कारण यो परिस्थितिको सामना झनै चुनौतीपूर्ण बन्ने देखिएको हो । वर्षौंदेखि नेपाली अर्थतन्त्र बाह्य अर्थतन्त्रसँग ‘टाइअप’ भएर अडिएको छ । हामी काम गर्न विदेश जान्छौं । कमाएर नेपालमा रेमिट्यान्स पठाउँछौं । त्यही रेमिट्यान्सले हाम्रो परिवारको उपभोग चल्छ । त्यो उपभोग पनि विदेशबाट आयातीत सामानकै हुन्छ । त्यही सामानबाट सरकारको राजश्व प्रणाली चल्छ । देशभित्रको व्यापार व्यवसाय पनि त्यहीबाट सञ्चालित हुन्छ । यसप्रकार, विप्रेषणले अर्थतन्त्रको मुहानको काम गरिरहेको छ । चैतको खडेरीसँगै यो मुहान सुक्ने अवस्था सुरु भएको छ, यसबाट तिर्खाउने भविष्यका दिन हामीले देखिरहेका छौं ।
महामारी लम्बिँदै जाँदा विदेशमा श्रम गर्न गएका करिब ३० लाख मान्छे स्वदेश फर्किने सम्भावना विज्ञहरु औंल्याउँछन् । यो संक्रमणपछि विश्वका प्रमुख श्रम गन्तब्यहरुमा काम ठप्प भएका छन् । अहिले विभिन्न खाडी मुलुकहरुले कामदार कटौती गर्ने कानून ल्याइसकेका छन् । कतिपय देशले आप्रवासी श्रमिकलाई स्वदेश पठाउने प्रक्रिया समेत सुरु गरिसकेका छन् । रोजगारी कटौतीको पहिलो मारमा अदक्ष कामदार नै पर्ने हुन्, नेपालीको निर्भरता त्यसैमा बढी छ । त्यसैले नेपालको बैदेशिक रोजगारी संकटको घडीमा छ ।
त्यस्तै, वार्षिक रुपमा श्रम बजारमा प्रवेश गर्ने करिब ५ लाख जनसंख्या र देशभित्रै रोजगारीको अवसर गुमाएर बेरोजगार हुनुपर्ने अर्को ५ लाखको संख्या अनुमान गरिएको छ । त्यो जनसंख्या समेत जोड्ने हो भने करिब ४० लाखको श्रमशक्ति अबका दिनमा स्वदेशमै रोजगारीका लागि भौतारिरहेका हुनेछन् । यी सबै जनसंख्या अन्ततः निर्वाहमुखी कृषि क्षेत्रमै गएर ठोक्किने हुन् । तर पूर्वाधार, हाम्रो प्रणाली र हाम्रो साधन स्रोतका कारण सबैलाई यो क्षेत्रले एकैपटक धान्न सक्ने अवस्था छैन । यसलाई सम्बोधन गर्नु सरकारको मुख्य चुनौती हुनेछ । र, यो समस्यालाई उपयुक्त रुपमा ‘ट्याकल’ गर्न नसक्दा आउने सामाजिक विचलनको अबस्था नै माथि उल्लेख गरिएको भयावह अवस्था हो । जसको परिणाम हामीले अहिलै अन्दाज गर्न सकेत सक्दैनौं ।
त्यसो त, यो महामारीपछि सरकारको क्षमतामा कमी आउने प्रष्ट नै देखिन्छ । राजश्वको स्रोत गुम्दा सरकारी खर्चका लागि वैदेशिक सहयोगमा समेत कमी आउने देखिन्छ । द्विपक्षीय रुपमा पाइँदै आएको सहयोग अर्को वर्षदेखि नपाइन सक्छ, किनकी सबै देशहरुले महामारीपछिको पुनर्स्थापना गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नै गाँस कटाएर अरुको पेट भर्ने चाहना उनीहरुको हुँदैन । बहुुपक्षीय सहयोग निरन्तर हुनसक्छ तर त्यो पनि अपेक्षाकृत परिणममा नआउन सक्छ । किनकी त्यस्तो सहयोगको अपेक्षा गर्ने मुलुकको संख्या धेरै हुनेछ । यसले गर्दा सहयोगको हिस्सा कम हुन सक्छ । यसले गर्दा सरकारी खर्च नियन्त्रण गर्नैपर्ने वाध्यता हुन्छ । तर सरकारी खर्च घटाउँदा पहिलो मार विकास निर्माणमा पर्छ । यसले उपभोगको अवस्थालाई पनि घटाउँछ । उपभोगमा कमी आउँदा उत्पादन घट्छ । यसले अर्थतन्त्रमा थप बेरोजगारी सिर्जना हुन्छ । अर्थतन्त्रको डाउनटर्नको यही चक्रलाई हामी ‘गरिबीको दुष्चक्र’ भन्छौं । रोगसँगको लडाइँपछि सुरु हुने भोकविरुद्धको त्यो दुष्चक्रको अवस्थालाई पनि हामी नकार्न सक्दैनौं ।
तर, निराशाको कालो बादलभित्र अवसरको चाँदीको घेरा हुन्छ । त्यो घेरा बादलपारि रहेको उज्यालोको संकेत हो । यसको अर्थ, हाम्रो उज्यालो गुमेको होइन, छेकिएको मात्रै हो । कोरोनाले ल्याउनसक्ने तात्कालीक विषमताको कालो बादलभित्र वर्षौंदेखिको हाम्रो सांस्कृतिक र आर्थिक प्रणालीको पुनर्संरचना गर्ने र दीगो समाज र बलियो अर्थतन्त्र निर्माण गर्ने अवसरको उज्यालो किरण यसभित्र लुकेको छ ।
करिब ३५ खर्बको आन्तरिक उत्पादन (कुल ग्राहस्थ्य उत्पादन) र करिब १५ खर्बको आयात समेत गरी हाम्रो वार्षिक कुल आन्तरिक माग करिब ५० खर्बको छ । त्यसमध्ये हामी मुस्किलले १ खर्बको निर्यात गर्छौं । बाँकी ४९ खर्ब हाम्रो वार्षिक उपभोग रहन्छ । यो हाम्रो माग पक्ष हो । यहाँनिर हामीले १४ खर्ब रुपैंयाको खुद आयात गरिरहेका छौं । यसले हाम्रो वैदेशिक ब्यापारमा माग पक्षको ‘डोमिनेसन’ भन्ने देखाउँछ । यो हाम्रो आन्तरिक आपूर्तिको लागि ज्यादै सकारात्मक पक्ष हो । अहिलेको अवस्थामा हाम्रो ब्यापार सन्तुलित थियो भने वा निर्यात बढी थियो भने यहाँ झनै ठूलो समस्या हुन्थ्यो । विदेशी बजारको माग हाम्रो नियन्त्रणमा हुने थिएन । त्यसैले उत्पादन भएका सामान नबिकेर जानसक्ने अवस्था पनि हुनसक्थ्यो । त्यो झनै भयावह हुन्थ्यो । तर हामीले आन्तरिक मागलाई आन्तरिक उत्पादनले परिपूर्ति गर्दै जाने अवस्था छ ।
हाम्रो अहिलेको मुख्य समस्या भनेको भण्डारण र बजारको हो । त्यही समस्याका कारण माग र आपूर्तिबीच ‘मिसम्याच’ भइरहेको छ । वास्तवमा यही असन्तुलन हाम्रो पहिलो र मुख्य समस्या हो । यहाँ जसले उत्पादन गर्छ उसैले बिक्री गर्नुपर्ने अवस्था परिरहेको छ । कामको विशिष्टकरण नहुँदा मुस्ताङमा स्याउ फलाउनेले पोखराको बजारमा आफैं बिक्री गर्नु परिरहेको छ । बजारको ग्यारेन्टी हुन्थ्यो भने उत्पादन कुनै समस्या थिएन । तर त्यही ग्यारेन्टी नहुँदा हामी विदेशबाट आयात गरेर जीविका चलाइरहेका छौं, तर हामी आफैं उद्यमी बन्न सकिरहेका छैनौं । कर्णालीमा झुलिरहेका मार्सीधानले काठमाडौंको भान्सामा पाक्ने ग्यारेन्टी पाउँछ भने धान फलाउनु समस्या होइन । चितवनमा उत्पादन गरिएको दुध बाटोमा पोखिनुपर्दैन भने गाईभैंसी पाल्नु समस्या पनि होइन ।
हाम्रो अहिलेको मुख्य समस्या भनेको भण्डारण र बजारको हो । त्यही समस्याका कारण माग र आपूर्तिबीच ‘मिसम्याच’ भइरहेको छ । बजारको ग्यारेन्टी हुन्थ्यो भने उत्पादन कुनै समस्या थिएन । कर्णालीमा झुलिरहेका मार्सीधानले काठमाडौंको भान्सामा पाक्ने ग्यारेन्टी पाउँछ भने धान फलाउनु समस्या होइन । चितवनमा उत्पादन गरिएको दुध बाटोमा पोखिनुपर्दैन भने गाईभैंसी पाल्नु समस्या पनि होइन ।
हामीकहाँ विकासका पूर्वाधारको उपलब्धता अहिले फैलिँदै गएको छ । प्रत्येक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने कुरा भइरहेको छ । धेरैजसो गाउँहरुमा बाटोघाटो खोलिएका छन् । विजुली र खानेपानीको पहुँच ९० प्रतिशत भन्दा माथि पुगेको छ । सञ्चारमाध्यमबाट अहिले कोही पनि विमुख हुनु परेको छैन । यो सक्षमताले उत्पादन र बजारीकरण गर्ने क्षमता विस्तार हुँदै गएको छ । त्यसलाई कार्यान्वयन गर्ने सोच र इच्छाशक्ति मात्रै अब चाहिएको हो ।
अबको अवस्थामा प्रत्येक गाउँका उद्यमीको उत्पादनले बजार पाउने व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो । धेरैजसोले अहिले पुँजी नभएर उद्यमी नबनेका होइनन्, बजार नभएर मात्रै हो । यसका लागि स्थानीय सरकारहरुले स्थानीय उत्पादनको संकलन, भण्डारण र बजारीकरणको अगुवाई गर्नुपर्छ । त्यसका लागि माथिल्लो तह र एउटै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने वातावरण मिलाउनुपर्छ ।
संघ, प्रदेश र स्थानीय तहमै पुग्न सक्नेगरी कमोडिटिज बजारलाई व्यवस्थित गरेर निजी क्षेत्रमा विस्तारै त्यसको हस्तान्तरण गर्दै जाने हो भने तत्कालका लागि बजारको समस्या समाधान हुन्छ । त्यसले प्रशस्त रोजगारीको अवसर समेत सिर्जना गर्छ । दीर्घकालमा यसले सरकारी भूमिकालाई कम गर्दै जाने र निजी क्षेत्रलाई नै मूलधारमा ल्याउने अवस्था पनि यसले सिर्जना गर्नसक्छ । त्यसैले यो अवस्थामा हाम्रो क्षमता र सरकारको भूमिकालाई रिडिफाइन गर्नुपर्ने अवस्था आएको छ ।
कोरोना भाइरसको महामारीसँगै चीनले एउटा मोबाइल एप्लिकेसनको विकास गरेको छ । यसले प्रत्येक दिन नागरिकको स्वास्थ्य अवस्था र गतिविधिलाई ट्र्याकिङ गरिरहेको हुन्छ । यदि कुनै व्यक्तिमाथि संक्रमणको आशंका गरियो भने उसले त्यो अवधिमा भेटेका सबैको जानकारी यो एप्लिकेसनले राख्छ र तत्कालै सबैलाई उपचारको दायरामा ल्याउन सकिन्छ । यो एप्लिकेसन मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताका हिसावले उपयोगी एप्लिकेसन पक्कै होइन तर हामीले त्यस्तै एप्लिकेसनको विकास गरेर माग र आपूर्तिको असन्तुलनलाई हटाउने औजारको रुपमा प्रयोग गर्न सक्छौं ।
अर्थतन्त्रले हाम्रा गतिविधिलाई विभिन्न ३ वटा क्षेत्रमा वर्गीकरण गरेको हुन्छ । प्रारम्भिक क्षेत्र, द्वितीयक क्षेत्र र तृतीयक क्षेत्र । प्रारम्भिक क्षेत्रमा कृषि, बन र खनिज पर्छ । द्वितीयक क्षेत्रमा उद्योग पर्छ भने तृतीयक क्षेत्रमा ब्यापार र सेवा क्षेत्रहरु पर्छन् । यहाँ पहिलो क्षेत्रको उत्पादनको मूल्य ज्यादै न्यून हुन्छ । दोस्रो क्षेत्रले यसमा प्रशस्त ‘भ्यालु एड’ गर्न सक्छ । अहिलेको अवस्थामा त्यस्तो मूल्य अभिवृद्धि गर्ने उद्योगहरुको खाँचो नेपाललाई छ । यसले हाम्रो ठूलो जनसंख्यालाई रोजगारीको दायरामा समेट्न सक्ने अवस्था सिर्जना गर्छ ।
तर, यतिले मात्रै चाहिँ पुग्दैन । हामीले हाम्रा राष्ट्रिय व्यवहारलाई देखाउनुपर्ने दिन आएको छ । त्यसका लागि उपलब्ध भएसम्म नेपालकै उत्पादनलाई उपभोग गर्ने बानीको विकास हामीले गर्नुपर्छ । त्यति मात्रै होइन नेपालमा जुन उत्पादनले सबैभन्दा बढी मूल्य अभिवृद्धि गरेको छ, त्यसलाई उपभोगको पहिलो प्राथमिकतामा राख्ने बानीको विकास हामीले गर्नुपर्छ । त्यसो त, सरकारले पनि नेपालमै उत्पादन हुनसक्ने सामानको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सक्छ । त्यसले वास्तविक रुपमा राष्ट्रियतालाई झल्काउँछ । यसले आत्मनिर्भर अर्थतन्त्रलाई विकास गर्न सहयोग पनि गर्छ ।
अर्को कुरा, हामीले हाम्रो उपभोग प्रवृत्तिलाई केही समयको लागि ‘निलम्बन’ गर्नुपर्ने अवस्था पनि आएको छ । कोरोनाको लागि हामीले एक महिनासम्म घरमा थुनिएर योगदान गर्न सक्छौं भने देशको लागि हामीले एक वर्ष न्यूनतम उपभोग गरेर बाँच्न पनि त सक्छौं नि ? मकै बेचेर हर्लिक्स आयात गर्नुभन्दा त्यही मकैको सातु बनाएर खान सक्छौं नि ?
उद्योग प्रतिष्ठानहरुले पनि एक वर्ष न्यूनतम नाफा लिएर धेरै भन्दा धेरैलाई रोजगारी दिन पनि सक्छन् । यदि त्यसो गर्न सकियो भने भोकविरुद्धको यो लडाइँमा हामीले फेरि पनि जित्छौं । क्लार्कसनले आफ्नो गीतमा भनेझैं यदि हामी मर्दैनौं भने हामी बलियो भएरै छोेड्छौं । हाम्रो अर्थतन्त्र मर्दैन भने यो बलियो भएरै छोड्छ । कोरोनाको महामारीलाई दीगो विकास र बलियो अर्थतन्त्रको आधारशिला बनाउने सुनौलो अवसरको रुपमा हामी यसलाई प्रयोग गर्छ सक्छौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.