पाकिस्तानको विमान दुर्घटनामा परेका सबैको मृत्यु

  २०७७ जेठ ९ गते १८:५१     विकासन्युज


पाकिस्तान । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो ।

मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए ।

विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए । घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो । रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.