कोरोना भाइरस: चीनद्वारा अमेरिकामाथि ‘षड्यन्त्रहरू’ फैलाएको आरोप

  २०७७ जेठ १२ गते ८:२०     विकासन्युज

काठमाडौं । चिनियाँ विदेशमन्त्रीले अमेरिकाले कोरोना भाइरसबारे ‘षड्यन्त्र र झुटहरू’ फैलाइरहेको आरोप लगाएका छन् ।

आइतवार पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका ‘राजनीतिक भाइरसुले सङ्क्रमित भएका कारण त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताए ।

विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोभिड-१९ को महामारीमा काम गर्दै समय खेर नफाल्न र मूल्यवान जीवनहरू बचाउनु आग्रह गरे ।

आरोपरप्रत्यारोप
भाइरस फैलन थालेसँगै वासिङ्टन र बेइजिङ्बीच तनाव चुलिएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई भाइरसको प्रकोप लुकाउन खोजेको आरोप लगाएका छन् ।

यो वर्ष हुने निर्वाचनमार्फत् राष्ट्रपतिमा पुनर्निर्वाचित हुन खोजिरहेका ट्रम्पको भाइरस नियन्त्रण प्रयासलाई लिएर आलोचना भइरहेको छ ।
तर आइतवार विदेशन्त्री वाङ्ले चीनले विश्वको जनस्वास्थ्य सुरक्षित पार्नका लागि सुरुदेखि नै जिम्मेवार भएर काम गरेको बताए ।

कोरोना भाइरस सबैभन्दा पहिले चिनियाँ शहर वुहानमा सन् २०१९ को डिसेम्बर महिनामा देखा परेको थियो ।

सम्बन्ध बन्धक बनाउने प्रयास
चीनको संसदीय सत्र चलिरहँदा आयोजित पत्रकार सम्मेलनमा वाङ्ले अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन/अमेरिका सम्बन्धलाई बन्धक बनाएको बताए ।

उनले ती शक्तिहरू को हुन् भन्ने चाहीँ स्पष्ट पारेनन्।  तर उनले भने, ‘तिनले दुई देशलाई एउटा नयाँ शीतयुद्धको संघारमा धकेल्न चाहन्छन् ।’ राजनीतिक भाइरसुको प्रयोग चीनमाथि हमला र उसलाई बदनाम गर्ने अवसरको रूपमा लिइएको उनले बताए ।

‘केही राजनीतिज्ञले पूर्ण रूपमा आधारभूत तथ्यलाई नजरअन्दाज गर्दै चीनलक्षित थुप्रै झुटहरू बनाउँछन् र त्यति नै धेरै षड्यन्त्र खडा गर्छन् ।’

डब्ल्यूएचओको बचाउ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप/प्रत्यारोप भएको छ।

चीनमाथि मुद्दा चलाउने विषयलाई वाङ यीले दिवास्वप्नु को संज्ञा दिए । गतसाता ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनको ‘कठपुतली’ भएको भन्दै उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिएका थिए ।

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससलाई ट्रम्पले एउटा पत्र लेख्दै सो निकायले तीस दिनभित्र उनकै शब्दमा ‘उल्लेख्य सुधारहरू’ गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने भनेका थिए ।

अनुसन्धान
टेड्रोसले डब्ल्यूएचओको कामको समिक्षा गर्न सहमति जनाएका थिए । वाङले भने चीनले उक्त निकायलाई पूर्ण रूपमा समर्थन गर्ने बताएका छन् ।

‘डब्ल्यूएचओलाई सघाउनु भनेको जीवन बचाउन सघाउनु हो ।  कस्तो नतिजा बेहोर्ने भन्ने हरेक देशको रोजाइ हो’, उनले भने । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूलाई प्रकोपको अनुसन्धान गर्न चीनले दिने र नदिनेबारे केही बोलेनन् ।  (बीबीसी नेपाली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.