२०७७ जेठ १४ गते १३:०९ विकासन्युज
विश्वमा कोरोना भाइरस महामारीका कारण उत्पादनमूलकदेखि सेवा मुलक क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । सोही अवस्थामा अत्यावश्यक सेवाभित्र पर्ने बीमा क्षेत्रले आगामी दिनको योजना के कस्तो छ भन्नेमा सबैको चासो छ । बीमा समितिले ल्याएको कोरोना बीमा कार्यक्रमले बीमा कम्पनीको वित्तीय स्थायित्वमै असर पर्ने त होइन भन्ने चिन्ता पनि गर्न थालिएको छ । यस्तै अवस्थामा बीमा क्षेत्रले कस्तो रणनीति अपनाउँला, भोलिको बीमा बजार कस्तो होला भन्नेलगायतका विषयमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः
कोरोना महामारीपछि बीमा बजारमा के कस्ता परिवर्तन आउन सक्छन ?
कुनै पनि घटना घटिसकेपछि यसले केही न केही रूपमा असर त गर्छ नै । तर, त्यसले चुनौति सँगसँगै यसले अवसर पनि ल्याएको हुन्छ । हाल बीमा क्षेत्रमा कोरोनाले ल्याएको चुनौतिलाई अवसरको रूपमा परिणत गर्ने समय आएको छ । बीमा क्षेत्रमा रहेको परम्परागत कार्यशैलीलाई प्रविधिमैत्री र समयसापेक्ष सेवा प्रवाहको नयाँ कार्यशैलीमा रूपान्तरण गर्नुपर्दछ । अबका दिनमा बीमा कम्पनीहरूले जारी गर्ने बीमालेखलाई अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था गर्नुपर्ने तथा बीमाका उपकरण र क्षेत्रलाई पनि विविधिकरण गर्नुपर्ने हुन्छ ।
हालको महामारीको अवस्थालाई समेत समेट्ने गतिशील बीमालेख बनाउनु पर्छ भन्ने बिषय यस अवस्थाले सिकाएको छ । जीवन बीमा बिक्री गर्ने पहिलो पक्ष अभिकर्ता हुन् । यो समयमा अभिकर्ताहरूलाई प्रविधिमैत्री बनाई बीमा बजारको विकास गर्नु पर्दछ । जनताको परिवर्तित चाहाना बमोजिमका बीमालेख ल्याउन सकेमा कम्पनी अगाडी बढ्न सक्नेछन् । र, जनताले स्वतः बीमा पोलिसी खरीद गर्ने अवस्था आँउछ । बीमा कम्पनीहरूले स्वास्थ र कृषि क्षेत्रमा उत्पन्न हुने आर्थिक जोखिमको सुरक्षण प्रदान गरी राज्यको नीति अनुरूपको सर्वसुलभ स्वास्थ्य तथा व्यवसायिक कृषि प्रणालीमा टेवा पुर्याउन ध्यान दिई बीमालेखहरू तयार गर्नु पर्छ ।
नियमकको हिसबले यस कठिन अवस्थामा सरोकारवाला निकायसँग कसरी समन्वय गरिरहनु भएको छ ?
वास्तवमा नियमक निकाय भनेको सहजकर्ता पनि हो । यसले आफ्ना सरोकारवालाहरूसँग समन्वय गरेर यस्तो बिषम परिस्थितिमा पनि कोरोना भाइरस बीमालेख ल्याई बीमामा नविनतम अभ्यासको शुरूवात गरेको छ । बीमा समितिले नेपाल बीमक संघ, जीवन बीमक संघ, लगानीकर्ता, बीमा अभिकर्ता र बीमा सर्भेयर र अन्य सबै सरोकारवालाहरूसँग छलफल गरी बीमा बजारमा के कस्ता सुविधा तथा राहत प्रदान गर्न सकिन्छ भन्ने विषयमा निरन्तर छलफल तथा अन्तरकृया गरिरहेको छ । त्यसतर्फ उन्मुख भई निर्जीवन बीमातर्फ यातायात व्यवसायमा केही राहात होस् भन्ने ठानेर मोटर बीमा निर्देशिकामा छुटको व्यवस्था गरिसकिएको छ ।
जीवन बीमातर्फ बीमालेख धितो राखी ऋण लिएका बिमितलाई बन्दाबन्दी (लकडाउन) को अवस्थामा व्याज रकमको १५ प्रतिशत छुटको व्यवस्था गरिसकिएको छ । नेपाल सरकारसँग छलफल गरी यस्तो सेवा सुविधामा सहुलियत दिइरहेको अवस्था छ ।
बीमा कम्पनीहरूले धमाधम जोखिम धारण गरिरहेका छन्, यस अवस्थामा भोलि जोखिम एकसाथ आई कम्पनीलाई धान्न समस्या पर्ने स्थिति त आँउदैन ?
वास्तवमा बीमा भनेको आर्थिक जोखिम हस्तान्त्रण गर्ने माध्ययम हो । बीमा कम्पनीहरूले जोखिमको केही अंश आफैले राख्दछन् र बाँकी ठूला ठूला जोखिमलाई पुनर्बीमाको माध्ययमबाट जोखिमको हस्तान्त्रण गर्ने गर्दछन् । कम्पनीले यस्तो गर्दै आएका हुन्छन् । तर, तपाईले यहाँ हालै जारी गरेको कोरोना भाईरस बीमाको बारेमा कुरा गर्न खोज्नुभएको होला । कोरोना भाईरस बीमालाई पुलको माध्ययमबाट व्यवस्थापन गर्ने व्यवस्था मिलाएका छौं । यसमा पनि नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र अन्य निर्जीवन बीमा कम्पनीहरूले ८० प्रतिशतको जोखिम लिने व्यवस्था गर्नेगरी व्यवस्था मिलाइएको हो ।
कोरोना भाईरस बीमाबाट नाफा बाँड्न नमिल्ने हुँदा यसको जोखिमको भार उक्त पुल र पुनर्बीमा कम्पनीबाट हुन सक्दछ । यो बीमालेख बजारमा ल्याएको १ महिना पुगेको छ । यस सम्बन्धमा नेपाल बीमक संघका पदाधिकारीसँग छलफल गरी अन्डरराईटिङ्गको व्यवस्था मिलाउन निर्देशन दिईसकेको अवस्था छ । हामीले यसलाई नजिकैबाट सुक्ष्म रूपमा प्रत्येक दिनको डाटा लिई अध्ययन गरिरहेका छौँ । हामी त्यसको जोखिमतर्फ सजक छौं ।
कोरोना बीमालाई निर्जीवन बीमा कम्पनीहरूले गर्न मिल्ने व्यवस्था अहिले छ, भोलिका दिनमा यसमा जीवन बीमा कम्पनीहरू पनि जोडिने कत्तिको सम्भावना देख्नुहुन्छ ?
वास्तवमा अहिलेको वजारमा हाम्रा निर्जीवन बीमा कम्पनीहरूले धातक रोग सम्बन्धि बीमालेख बिक्री गरेका छन् । त्यसमा जीवन बीमा कम्पनीहरूले आफ्ना मुल बीमालेखमा राईडर थपेर बीक्री वितरण गरेको पाइन्छ । तर यो कोरोना बीमालेख बिल्कुलै फरक किसिमको बीमालेख हो । यो बीमा बीमालेख सामाजिक उत्तरदायित्वसँग जोडेर ल्याइएको हो । आजको बीमा बजारले यसलाई राम्रोसँग ग्रहण गरेको छ । यसबाट धेरै मानिसहरू बीमाको दायरामा आइरहेका छन् । जीवन बीमा गर्ने बीमा कम्पनीहरूसँग छलफल गरी हालको अवस्थामा त्यस्तो बीमालेख विक्री नगर्न जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकिएको छ । यो लघुबीमा निर्देशिकाबाट निर्देशित गरी ल्याएको हुँदा जीवन बीमा कम्पनीहरूलाई भन्दा निर्जीवन बीम कम्पनीहरूबाट उपलब्ध गराइएको हो ।
समितिका आफ्ना समस्याहरू पनि छन् कि ?
समस्या त अवस्य नै छन् । त्यस्ता समस्याहरू पनि समाधान गर्न आफ्ना निकायहरूसँग छलफल गरी समस्याहरू समाधान गर्नेतर्फ नियामक निकाय उन्मुख छ । हाम्रा आफ्नै क्षमता विकास गर्नुपर्ने विषय हाल बजारमा उठेको छ ।
नियमक निकायका हिसाबले लगडाउनमा के कस्ता काम गर्दे हुनुहुन्छ र के गर्ने योजना बनाउँदै हुनुहुन्छ ?
यो लागडाउन भएको आज २ महिनाभन्दा बढी भएको छ । बीमा अत्यआवश्यक सेवा अन्तर्गत पर्ने भएकाले हामीले लगडाउनको समयमा कार्यालय खोलेर आफ्नो सेवालाई निरन्तरता दिएका छौं । यो समयमा बिमितहरूलाई राहात दिने विषयमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरलाई निर्देशन दिएका छौं । यही लगडाउनको समयमा सरोकारवालाहरूसँग परामर्श तथा छलफल गरेर नै कोरोना भाईरस बीमालेख बजारमा ल्यायौं । यस समयमा हाम्रो वार्षिक उत्सव कार्यक्रम जेठ १ गते थियो । त्यो कार्यक्रम पनि हामिले वेबिनारबाट माननीय अर्थ सञ्चार तथा प्रविधि मन्त्रीज्यूलाई प्रमुख आतिथ्य ग्रहण गरी कार्य सम्पन्न गरेका छौं । अहिलेको समय बजेट अधिवेशनको समय भएको हुँदा नेपाल सरकारलाई बजेटमा बीमाका विषयवस्तुलाई प्रवेश गराउन पहलकदमीमै रहेको अवस्था छ । बीमा समितिले आफ्नो प्रशासनिक कार्यका साथै समय सापेक्ष आफ्नो बीमा बजारलाई नियमित, नियन्त्रित, व्यवस्थित र विकसित गर्ने दायित्व निर्वाह अपेक्षित रूपमा गरिरहेको अवस्था छ ।
सरकारबाट समितिलाई केही सशक्तिकरण गर्नुपर्ने अनुभूति गर्नुभएको छ कि ?
वास्तवमा बैंकिङ, धितोपत्र र बीमा क्षेत्रलाई तुलना गरेर हेर्दा बीमा क्षेत्र अलि ओझेलमा परेको हो कि भन्ने केही महसुस त हुन्छ नै । तर, पनि वित्तीय क्षेत्रमा यसको भूमिका अहम छ । सरकारले पनि यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । समितिको सस्थागत क्षमता विकास गर्न सहयोग गर्नुपर्दछ । बीमामा सरकार स्वयम उपस्थित भएपछि हरेक आर्थिक क्रियाकलाप बलियो हुन्छ ।
त्यस्तै, सरकारी सम्पत्तिहरूको बीमा गरेको खण्डमा भोलिका दिनमा विपद्बाट क्षति भएको खण्डमा क्षतिपूर्ति दिने कार्य गर्दछ । यो राष्ट्रिय सुरक्षाको विषय पनि हो । बीमाको बिषयहरूलाई हाल तयार हुन गईरहेको बजेटमा प्राथमिकताकासाथ अगाडी बढाउनेछ भन्ने महसुश गरेको विषय यहाँ अनुरोध गर्दछु । यसले वित्तीय क्षेत्रमा ‘विनविन’को अवस्था ल्याउँछ ।
बीमा कम्पनीको शाखा कार्यालय खोल्न नसक्ने अवस्थामा बीमा बजारमा अत्याआवश्यक सेवा कसरी संचालन गर्ने केही योजना बनाउनु भएको छ ?
अहिलेको अवस्थामा बीमा कम्पनीहरूले शाखा कार्यालय खोल्न नसक्ने भए तापनि उनीहरूलाई नियमकले अनलाईन सिस्टमबाट आफ्ना कारोवार गर्न भनिसकेका छौँ । लगडाउनको अवस्थामा बीमा समितिले प्रत्येक बीमा कम्पनीहरूलाई ५/५ वटा पास उपलब्ध गराई सेवा सुचारू राख्न निर्देश गरेका छौं ।
जीवन बीमा कम्पनीमा अभिकर्ताहरूलाई भर्चुअल तालिमको व्यवस्था गर्न निर्देशन दिईसकेका छौं । समितिले बिमकहरूलाई जारी गरेको ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाईन बिक्री गर्ने कार्यविधि तयार गर्ने गरी समितिमा पेश गर्ने निर्देशन दिईसकेका छौं । अबको बीमा बजार प्रविधिमैत्री बनाउनेतर्फ बीमा कम्पनीहरू लागिपर्नु पर्दछ । यो महामारीले सिकाएको महत्वपूर्ण पाठ यही हो जस्तो मलाई लाग्दछ ।
कोरोना र बीमा बजारलाई जोडेर के भन्न चाहनुहुन्छ ?
अहिलेको समय भनेको बाच्ने र बचाउने समय हो । यसमा बीमा कम्पनीका कर्मचारी अधिकृतहरूले कम्पनीको अनावश्यक खर्चलाई कम गर्न के के गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनु पर्दछ । लगानीकर्ताले नाफा खोज्ने समय अहिले नहुन सक्छ । जीवन बीमा तर्फ विशेष गरेर मेरो अनुरोध नयाँ व्यवसायको साटो पोलिसी ल्याप्स हुनबाट न्यून गराउन पर्छ । अस्वस्थ प्रतिस्प्रधालाई छोडी सर्वसुलभ बीमा सेवाको उपलब्ध गराउने आजका बीमा कम्पनीहरूको कर्तव्य पनि हो । क्षतिको क्षतिपूर्ति तत्काल दिने विषयमा विशेष ध्यान दिदै बजारको विश्वसनियता कायम राख्ने कुरामा बीमाका सबै सरोकारवालाहरू सचेत हुनु जरूरी छ । बीमाको डिजिटाइजेसनको लागि जनता र बीमा सम्बन्धि सरोकारवालाहरूलाई प्रविधि साक्षरता प्राप्त गर्ने अवसरको रूपमा यसलाई लिनु पर्दछ । दुःखसुखको साथी बीमा हो भन्नेतर्फ सबैको ध्यान आकृष्ट गराउँदै बीमामा आवद्ध हुन अनुरोध पनि गर्दछु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.