जोर्ज फ्लोइड: अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग

  २०७७ जेठ २८ गते ७:०९     विकासन्युज

काठमाडाैं । प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी/अमेरिकी पुरुष जोर्ड फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ ।

टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू लामबद्ध भएका थिए । गत महिना मिनिअपलिसमा एक श्वेत प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको गर्दनमाथि करिब नौ मिनेटसम्म घुँडाले टेकिरहेका थिए जुन क्षण मोबाइलमा कैद गरिएको थियो ।

घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्यासम्बन्धी आरोप लगाइएको छ । ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिनेछ । फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानुनहरूमा परिवर्तनका लागि आह्वान गरिन् ।

उनले प्रश्न गरिन्, ‘किन यो प्रणाली भ्रष्ट र अक्षम हुनुपर्छ ?’

‘अफ्रिकी/अमेरिकीलाई विफल पार्नका निम्ति कानुनहरू व्यवहारमा छन् र त्यस्ता कानुनहरू परिवर्तन हुनैपर्छ । कृपया घृणामा आधारित थप अपराध नहोस् ।’ उनले थपिन्, ‘कोही कोहीले, ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भनेका छन्, तर के अमेरिका कहिल्यै महान् थियो ? ‘ राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत्‌ अन्तिम संस्कारमा सम्बोधन गरेका थिए ।

उनले भने, ‘जोर्ज फ्लोइडका लागि न्याय भएमा हामी अमेरिकामा साँच्चिकै जातीय न्यायको बाटोमा हुनेछौं ।’ फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए ।

कार्यक्रममा उपस्थित चर्चित नागरिक अधिकारकर्मी रेभेरेन्ड अल शार्पटनले भने, ‘दास राख्ने मालिकका नातिनातिनाले अहिले विश्वभरि मालिकहरूका शालिक हटाइरहेको म देखिरहेको छु ।’ डेमोक्र्याटिक पार्टीका स्थानीय सांसद अल ग्रीनले भने, ‘जोर्ज फ्लोइड मिल्काउन हुने कुनै वस्तु थिएनन् । यसकारण हामी यहाँ आएका छौं । उनी अश्वेत हुनु उनको अपराध थियो ।’

फ्लोइडप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमवार छ घण्टा उनको शव गिर्जाघरमा राखिएको थियो । मिनिअपलिस र उनी जन्मिएको नर्थ क्यारोलाइनामा पनि स्मृति कार्यक्रमको आयोजना गरिएको थियो । फ्लोइडको मृत्युपछि जातीय विभेदविरुद्ध अमेरिकामा जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ ।

वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्‍यालीहरूको आयोजना गरिएको छ ।यसअघि फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी सोमवार पहिलो पटक अदालतमा उपस्थित भएका थिए ।अदालतले आरोपित डेरेक शोभिनसँग साढे १२ लाख डलर धरौटी माग गरेको थियो । (बीबीसी नेपालीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.